मन्त्रिपरिषद् पुनर्गठनमा सकस : ओली-दाहालबीच आज पनि छलफल हुने
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल हुँदैछ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ।
प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षले मंगलबार पनि छलफल गर्ने भनिएपनि समय निश्चित नभएको बताए। यता, दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने केहीबेरमा छलफल हुने बताए। उनका अनुसार दाहाल भर्खरै आफ्नो निवास खुमलटारबाट बालुवाटारका लागि निस्किएका छन्।
ओली–दाहालबीच सोमबार पनि छलफल भएको थियो। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहे पनि अझै सहमति जुट्न सकेको छैन। उनीहरूबीच आइतबार, बिहीबार र शुक्रबार पनि छलफल भएको थियो।
६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुँदै आएको छ।
केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली–दाहालबीच सहमति बन्न नसकेको बताइन्छ। प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रीमण्डमा समेट्नुपर्ने पक्षमा छन्।
यद्यपि, वामदेमका विषयमा सर्वोच्चमा रिट परेर अन्तरिम आदेश जारी भएको र १४ असोजमा सुनुवाइ तोकिएकाले अहिले नै नेकपाका तर्फबाट केही निर्णय भने हुने छैन।