बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोनाभाइरस संक्रमणका कारण मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका-१० निवासी ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ भादैमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।
कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको श्रेष्ठले बताए।
यसैगरी, शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर-१० निवासी ५३ वर्षीय पुरुषको पनि मंगलबार बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको हो।
उनी पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि ४ असोजमा अस्पताल भर्ना गरिएको थियो। उनको स्वाब परीक्षण गर्दा ६ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए। यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ।