सुपरओभरमा मुम्बईविरुद्ध बैङ्लोरको जित, आज दिल्लीले हैदराबादसँग खेल्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति सकिएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सुपरओभरमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। दुवै टीमले २०१ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो।
सुपरओभरमा मुम्बईले आठ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य बैङ्लोरले अन्तिम बलमा भेट्टाएको थियो। २०० भन्दामाथिको लक्ष्य भेटाउने क्रममा रन बराबरी भएको आईपीएल इतिहासमै यो पहिलोपटक हो।
त्यति मात्र नभइ मुम्बईले पछिल्लो पाँच ओभरमा ८९ रन बनाएर कीर्तिमान पनि राखेको छ। मुम्बईका लागि इशान किशानले ५८ बलमा ९९ रन र किरन पोलार्डले २४ बलमा ६० रन बनाए। बैङ्लोरका लागि इशुरु उडानाले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरका लागि तीन ब्याट्स्म्यानले अर्धशतक पूरा गरे। उसका लागि ओपनर देभदत्त पाडिकालले ५४, एरोन फिन्चले ५२ र एबीडी भिलियर्सले ५५ रन बनाए। मुम्बईका ट्रेन्ड बोल्टले दुई विकेट लिए।
आज आफ्नो तस्रो खेलमा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिश्पर्धा गर्दैछ। यसअघिका दुवै खेलमा सन्दीप अन्तिम ११ मा परेका थिएनन्।
दिल्लीमा दुई जना मात्र लेग स्पिनर छन्। पहिलो खेलमा सन्दीप र अमित मिश्रा दुवै लेग स्पिनरलाई बेञ्चमा राखिएको थियो। दोस्रो खेलमा भने अमित मिश्राले मौका पाएका थिए। उनले विकेट नलिए पनि कसिलो बलिङ गरेका थिए।
जिम गर्ने क्रममा बायाँ कुइनोमा चोट बोकेपछि रविचन्द्र आश्विनको ठाउँमा मिश्रालाई खेलाईएको हो। आश्विनले अरु दुई या तीन खेल गुमाउने छन्।
मिश्राको स्थानमा सन्दीपलाई खेलाउँदा तीव्र गतिका बलर कासिगो राबाडा वा एनरिज नोत्र्जेको ठाउँमा भारतीय बलर राख्नुपर्ने हुन्छ। यी दुवैले राम्रो प्रदर्शन गरिरहेका छन्।
अर्का विदेशी कोटाका ब्याट्स्म्यान सिमरन हेटमेयरले मौका पाए पनि रन हानेका छैनन्। अलराउन्डर मार्कोस स्टोइनिसले भने गतिलो प्रदर्शन गरिरहेका छन्। त्यसकारण अन्तिम ११ मा पर्ने सन्दीपको संभावना आज पनि कमै छ।
यदि सन्दीपले मौका पाए मिश्रा र राबाडा वा नोत्र्जेलाई विश्राम दिएर इशान्त शर्मालाई खेलाउने संभावना हुनसक्छ। अथवा हेटमेयरको स्थानमा अर्का भारतीय ब्याट्स्म्यानलाई खेलाएर सन्दीपलाई मौका दिने संभावना पनि हुन्छ।
तर, हेटमेयर दिल्लीका दोस्रो महङ्गो खेलाडी हुन्। चर्चित स्पोर्टस् पोर्टल इएस्पीएनक्रिकइन्फोले संभावित अन्तिम-११ मा सन्दीपलाई समावेश गरेको छैन।