कोरोना अपडेट: दुई सातायता काठमाडौं उपत्यकामा लगातार दैनिक ६०० बढी संक्रमित थपिंदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। कुल संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थपिएका १ हजार ३५१ मा ८१७ जना काठमाडौं उपत्यकाका छन्।
सोमबारसम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ। पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ।
सोमबार सार्वजनिक भएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ६४९ जना कोरोना संक्रमित फेला परेका छन्। यस्तै, ललितपुरमा १३२ र भक्तपुरमा ४० जना कारोना संक्रमित भेटिएका छन्। वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९१० जना संक्रमित भेटिएका हुन्।
१२ असोजसम्म वागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा उच्च अर्थात १२ हजार ५१ पुगेको छ। त्यसमध्ये कोरोनाका सक्रिय संक्रमितको संख्या काठमाडौंमा ८ हजार ४५९, ललितपुरमा १ हजार ५० र भक्तपुरमा ९१९ छ।
यो आँकडा हेर्दा काठमाडौं उपत्यकामा पछिल्लो दुई सातायता लगातार दैनिक ६ सयभन्दा बढी कोरोना संक्रमित थपिदैँ आएको देखिएको छ।
उपत्यकामा ३० भदौमा ६७६ जना संक्रमित भेटिएका थिए। यसअघि २९ भदौमा उपत्यकामा ५१२ संक्रमित थपिएका थिए। ३० भदौयता १२ असोजसम्ममा काठमाडौं उपत्यकामा लगातार दैनिक ६ सय बढी कोरोना संक्रमित भेटिन थालेका छन्। १२ असोजमा उपत्यकामा ८१७ कोरोना संक्रमित भेटिएका छन्। ११ असोजमा यो संख्या ८०९ थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको बढ्दो तथ्यांकका आधारमा उपचारको बन्दोबस्त गर्न थप पूर्वाधार आवश्यक नभएको बताएका छन्।
डा. गौतमले बढ्दो संक्रमणकाबीच मन्त्रालयले थप नयाँ कुनै कार्यक्रम नल्याएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुरानै कार्यक्रमलाई निरन्तरता दिइने बताए।
“आइसोलेसन पनि हामीलाई पुग्ने नै छ”, उनी भन्छन्, “यति हो कि मानिसहरूले दूरी कायम गरिदिनुपर्यो। यसो भए संक्रमणदर कम हुन्छ।”