राँगामाटीकी तरूनी
साँच्चै रुप कथाकी परी थिइन् तिनी। सोह्र वर्षीया जोवन, सलसलाउँदो उज्ज्वल चेहरा, ठुल्ठूला आकर्षक आँखा, अन्तर मुस्कान लुक्न नसक्ने कलिला चञ्चल दुई ओठ, लहराउँदै फैलिएको गाढा कालो कपाल, पातलो चादरभित्र निसास्सिरहेका योवन मिटर।
हामीभन्दा करिब १० हात जति पर उनी मेचमा बसेकी थिइन्, हाम्रो मोडल बनेर। हामी उनको चित्र उतार्ने प्रयास गर्दै थियौं। बताएको अवस्थामा निश्चल भएर उनी बसिरहेकी थिइन्। उनका चञ्चल आँखा भने अस्थिर थिए, बहुधा मेरा वरिपरि नै ती घुमिरहन्थे।
उन्मत्त तुल्याउने यो प्रभाववादी परिवेशले हाम्रो काममा एकाग्रता ल्याउन सकेन। मेरा भाव एवम् यौवन तृष्णाको मन्थन हुँदै थियो। केही घण्टाको त्यो क्षणमा पिँजडा झैं जड मेरो भौतिक शरीरभित्र भावपक्षी फट्फटाउँदै थियो, अभिव्यक्तिको ढोका खोज्दै। त्यति बेला म भर्खर तृतीय वर्षमा प्रवेश गरेको एउटा चित्रकला छात्र, उत्तेजित भावना व्यक्त गर्न नसक्दा बहुलाउने बेला। आफू परिपक्वतामा पुगेको एउटा कुशल कलाकार भइदिएको भए, सायद आधुनिक मोनालिसाले पुनः जन्म दिएर युरोपलाई बिर्साइदिने थिइन्। भावना त एउटा पशुको पनि हुन्छ, जो वस्तु जगत्को प्रत्येक क्रियाकलापमा आफ्नो प्रतिक्रिया देखाइरहन्छ।
राम्रो वस्तुलाई रूचाउनु प्राकृतिक स्वभाव हो। तर जुनसुकै परिवेशबाट प्रभावित भएको भावनालाई क्रमबद्ध रुपमा व्यक्त गर्न प्रयास गर्ने त मानिसै मात्र हो। मेरो अगाडि मभित्रको कलाकारलाई मुग्ध पार्ने विषयवस्तु थियो। भित्रको त्यो मुग्धलाई बाहिर ल्याउन मेरो हात भने बडो होसियारीका साथ रेखाचित्र कोर्दै थियो। अनेकौं पटक रबरले सुध्याउँदै। चित्र दुरूस्त बनाएर ख्याति प्राप्त गर्ने परम्पराले प्रेरित मेरो हात भने भावनाको दबाबलाई थिचेर बिस्तारै रेखा खिच्दै थिए।
आँखाले हेरेर वा मुखले बोलेर चित्र बनाउन सकिँदैन। आँखा त कुनै पनि प्राणीको बाह्य विश्वलाई ऊभित्रको अन्तर ब्रह्माण्डसँग जोडिदिने पुल मात्र हो। तर त्यसलाई कल्पनाले रङ्ग्याई विभिन्न आकारप्रकारमा पुनः प्रकाशमा ल्याइदिने साधन त कवि, कलाकारको हात नै हो। यो उसको हात नै उसका भावनामा सृष्टि भएका चित्रलाई मूर्तरुप दिने गर्छ। परम्परा र प्रशंसाको प्रलोभनले प्रेरित मेरो हात द्विविधामा थियो। फेरि मभित्रको उनको चित्र पनि प्रस्ट थिएन। जब कुनै चित्रलाई नै कलाकारको भावचक्षुले स्पष्ट देख्न सक्दैन भने उसको चर्मचक्षुको इसारामा हातले बनाएको चित्र कस्तो होला ?
यदाकदा उनको त्यो कलिलो मुहार र आँखामा मेरा आँखा जुध्न पुग्दा मेरो भावना तीव्र भएर फुट्न खोज्थ्यो। कलम झस्किन्थ्यो अनि त्यो उन्मत्तता र उन्मादलाई व्यक्त गर्न कहिलेकाहीँ भएभरको रस निचोरेर लतारपतार पारिदिऊँ कि अथवा उनको मुखसँग मिले पनि नमिले पनि कागतको त्यो सफेद सतहमा कालो कलम निर्भीक भएर धसिदिऊँ कि जस्तो लाग्थ्यो।
यसो त एउटा बौलाहाले मात्र गर्छ। भावना स्वयम् कलाकार होइन, ऊ स्वयम् त चित्र बनाउँदैन। भावचित्रलाई प्रकाशमा ल्याइदिने त उसको हातै हो। तर उसको हाडमासुको हात भावशून्य छ, कलाकारको भावनालाई ऊ बुझ्न सक्दैन। अनि हातले अर्कै चित्र बनाइदिन्छ। भावना र हातका बीचमा एउटा ठूलो समझदारी र अनुशासनको आवश्यकता हुन्छ। घोडा चढ्ने र घोडाको बीचमा लगाम भए झैं अन्यथा अभिव्यक्तिमा सन्तुलन आउन सक्दैन। भावग्रस्त एउटा अमूर्त कलाकार चित्र सतहमा रङ खन्याएर त्यसैमाथि लडीबुडी गर्छ, छाती हलुका पार्न। किनकि भावनाको भार बोकेको उसको शरीर एउटा हात मात्र चलाएर हलुका हुन सक्दैन।
जब एउटा कलाकारमा सहनशीलता, विवेकशीलता, धैर्य र आत्मबलको अभाव रहन्छ अनि उसको अभिव्यक्तिमा प्राकृतिक प्रवृत्ति बढी देखिन थाल्छ। चित्र बनाउने सिलसिलामा एकथोक बनिदिनु र पूर्वपरिकल्पनाअनुसार कुनै विषयको चित्र बनाउनुमा ठूलो भिन्नता छ। दुवै तरिकाबट चित्र तयार हुन्छ। तर पहिलोलाई प्राकृतिक प्रवृत्तिले पुरेको हुन्छ। यस्तो प्रवृत्ति पशुमा बढी र मानिसमा कम हुन्छ। ईश्वरीय वरदान पाएको स्रष्टा एउटा कवि, कलाकारमा त त्यो नगन्य रुपमा लुकेको हुन्छ। किनकि ऊ सधैं आफ्नो सृष्टिमा संलग्न भइरहन्छ।
ऊभित्रको सृष्टिकर्ता ईश्वर नै वस्तुभित्रको ईश्वरलाई प्रकाशमा ल्याउने निरन्तर प्रयास गरिरहन्छ। कलाकारको यस्तो उच्च आदर्शलाई छाडेर के म आफूभित्र लुकेको पशु प्रवृत्तिलाई फुट्न दिऊँ। आफूभित्र उर्लिएको भावना व्यक्त गर्न के म चिच्याऊँ, रोऊँ अथवा चित्रपटमै लडीबुडी गरुँ ?
ईश्वरले मेरो अगाडि मोडल बनाएर राखिदिएको त्यो अद्वितीय सुन्दरी युवतीको चित्र आजै बनाउन सकिनँ भने भोलि तिनको रुप बदलिनेछ। त्यो सुन्दरता कताकता बिलाउनेछ, फेरि कसैले त्यसलाई देख्न पाउनेछैन। अफसोस ! ईश्वरले बनाएको चित्र साह्रै क्षणिक हुन्छ। यही हो, ईश्वरको कमजोरी। त्यो क्षणिक सौन्दर्यलाई अमर बनाउने कलाकार त मानिस नै हो।
“चित्र बनाउने कलाकार आफ्नो विषयवस्तुमै लीन हुनुपर्छ। अन्यथा उसले बनाएको चित्रले सास फेर्न सक्दैन” भनी एक पटक दाँतेले भनेका थिए। म पनि त विषयवस्तुमै तल्लीन थिएँ। मेरा आँखामा उनी सिबाय कोही थिएन, उनैको यथार्थ वास्तविक चित्र थियो मभरि। क्यामेराको आँखाले देखे जस्तो वास्तविक चित्र बनाउन त त्यति गाह्रो थिएन। तर म त्यसबाट सन्तुष्ट थिइनँ। म आफूलाई मुग्ध पार्ने उनको मुग्धताको चित्रण गर्न चाहन्थें। अध्ययन एवम् अभ्यासको कमजोरीले म त्यस्तो चित्रण गर्न असमर्थ भइरहेको थिएँ। त के मैले सक्कलबमोजिम नक्कल मात्र उतारेर पुग्ने भयो त ? अहँ, उनको अनुहार मात्र सारेर के फाइदा ?
कुनै पनि पारदर्शक सतहमा वरिपरिका वस्तु प्रतिबिम्बित हुन्छन्। मेरा भौतिक आँखा पनि त्यस्तै पारदर्शक ऐनाका डल्ला थिए। तर यिनले बाह्य वस्तुको चित्र कल्पनाको अन्तर्लाेकसम्म पु¥याइदिन्छन्, जहाँ त्यो वस्तुको रुप अन्तर प्रकृतिमा विलीन भई केही बदलिन्छ। यस्तो परिवर्तित रुप पुनः प्रकाशमा आउँदा सर्वसाधारणले चिन्न नसक्ने हुन पुग्छ। अञ्जुको यथार्थ चित्र मभित्र यथार्थ थिएन। मैले भन्दा अगाडि नै उनले मेरो हृदयपटमा बनाएको चित्र उनीभन्दा धेरै गुना राम्रो र अलौकिक थियो। तर त्यो अन्तर्चित्रको अनुकरण गर्न उनका आँखा, नाक, मुख, कुनै पनि अङ्ग स्पष्ट थिएनन्। मेरो हात आँखाको निर्देशनमा उनको बाह्य शरीरको चित्र बनाउँदै थियो।
एउटा कवि वा कलाकार गर्भवती स्त्री जस्तै हो। कुनै एउटा विषय उसको अनुभूतिको कोमल सतहमा रोपिन्छ, जसको वृद्धि एवम् विकास कलाकारभित्र त्यही क्रमले हुँदै जान्छ, जुन क्रममा एउटी युवतीको गर्भमा रहेको वीर्य आफूभित्र यसरी हुर्किरहेको एउटा आत्मभित्र प्रतिकलाकार सचेत वा अर्धचेत रहन सक्छ। जति ऊभित्रको चित्र विकसित हुँदै जान्छ, उति कलाकार अस्थिर एवम् अस्वाभाविक बन्दै जान्छ। आखिर भित्रको चित्र पूर्ण रुपले विकसित भएपछि ऊ क्यानभासका धरातलमा त्यो चित्रको जन्म दिन्छ। यो ठीक युवतीको प्रस्तुति हुने क्रियासँग मिल्छ। कलाकारभित्र केही रोपिएको हुनुपर्छ अनि मात्र त्यसको विकास र जन्म हुन सक्छ। मेरो भावना त केवल रङ्गीन पानी भरिएको बेलुन जस्तो गह्रौं मात्र थियो, जुन हरसमय छचल्किएर फुट्नै मात्र खोज्थ्यो।
हुन सक्छ, उनको शारीरिक सौन्दर्य मात्र मेरा आँखामा टाँसिएका थिए र उनको जवानी र सौन्दर्यले मलाई बढी भावुक बनाइरहेको थियो। मभित्र भावनाको बेलुन अझ बढी फुल्दै थियो। के त उनको सौन्दर्यले मभित्रको कलाकारलाई जागृत गर्न सकेन ? के मभित्र उर्लिएको भावना प्रवृत्तिको तृष्णा मात्र हो ! होइन भने मैले बनाउन लागेको चित्र कस्तो हुने त ? फोटोग्राफरले खिचेको तस्बिर जस्तो ? उनको अद्वितीय सौन्दर्य के मेरा आँखाबाट भित्र पस्नै सकेको छैन त ? नसकेको भए किन मेरो मुटुभरि भावनाको भक्कानो छ ? यौवन तृष्णा ? यो पनि हुन सक्छ। म एउटा जवान केटो, उनी एउटा जवान केटी, राँगामाटीकी सुन्दरी, पर्वतपुत्री पार्वती, लुसी, डेस्डोमोना, रुपकथाकी परी।
बङ्गलादेश (त्यति बेला पूर्वी पाकिस्तान) राँगामाटीलाई कलाकारको स्वर्ग भनिन्छ। हुन त म स्वयम् इन्द्रपुरीको बगैंचाबाट उडेर त्यहाँ पुगेको थिएँ। तैपनि स्वर्ग भनेको उहाँको पनि राम्रो हुन्छ। यही विचारले म लामो छुट्टीमा पाकिस्तानी कलाकार साथी खालेदलाई लिएर चिटगङका लागि प्रस्थान गरें। हाम्रो लक्ष्य त राँगामाटी थियो। तर छुट्टी लामो भएकाले अन्य रमणीय स्थलतिर चित्रहरु बनाउँदै त्यहाँ पुग्ने विचार ग¥यौं। चिटगङ बङ्गालको जाडोको उत्तरपूर्वी किनारमा पर्छ। ईश्वरले यो प्रान्तको भूचित्र अभिव्यञ्जनावादी शैलीमा बनाएका रहेछन् र मलाई आफू भ्यान गगको दृश्यचित्रबाट हिँडिरहेको झैं लाग्यो। भ्यान गग मन पर्ने कलाकारलाई यहाँको दृश्यचित्रले उन्मत्त तुल्याइहाल्छ।
यहाँको सीतापोखरी, ओटाली पहाड शृङ्खला, कर्णफुली सग्लो छातीमा बग्ने अनेकौं साम्पन आदि चित्रहरु हामीले रङ एवम् रेखामा उतार्यौं। चिटगङमा केही दिन बसेर त्यहाँबाट झन्डै सय माइल दक्षिणपूर्वमा अवस्थित कक्सेस बजारतर्फ लाग्याैं। समुद्रतटमा रहेको यो भूभाग एउटा रोमाञ्चकारी नाटकको दृश्य जस्तो थियो। त्यहाँको आकर्षक स्थान हिनछरी, रामु झिलङ्गा तथा महिष खाल, सोना दिया, कतुबदिया आदि टापुहरुमा समेत गएर हामीले थुप्रै जलरङ तथा रेखाचित्रहरु बनायौं। त्यहाँ केही दिन बसेर हामी फेरि चिटगङ हुँदै राँगामाटी आइपुगेका थियौं।
राँगामाटी चिटगङबाट करिब ५० माइल पूर्वमा पर्छ। कप्ताई बाँध उठ्दै गएपछि क्रमशः कर्णफुली नदीको पानीले राँगामाटीका होचा बस्तीहरुलाई पुर्दै लग्यो र सन् १९६२ सम्ममा त्यहाँका सयौं गाउँ पानीमा पुरिए। हजारौं परिवार, लाखौं मानिस घरबारविहीन भए। अझैसम्म पनि पानीमा यत्रतत्र पहाडका चोटा र रुखका माथिल्ला भागहरु देखिँदैन। हामी कप्ताईबाट लन्च चढेर पनि यहाँ आउन सक्थ्यौं। तर पुरिएका रुखका टुप्पामा धेरै पटक नौकाहरु ठक्कर खाएको समाचार हामीले सुनिसकेका थियौं। अतः हामीले बसमा नै जानु बेस देख्यौं।
मेरै कक्षा तृतीय वर्षमा अध्ययन गर्ने गौतम मुनि चक्मा नामक सहपाठीले राँगामाटीमा बस्ने, खाने र घुम्ने प्रबन्ध मिलाइदिन्छु भनेको थियो। तर हामी आउने दिन र समयको सूचना उसलाई दिन नसकेकाले बसबाट ओर्लिएपछि हामीलाई स्वागत गर्ने त्यहाँ कोही भएन। म खालेदसँग टुटेफुटेका बङ्गालीमा अङ्ग्रेजी र हिन्दी मिसाएर कुरा गर्ने गर्थें। आफू अरुले हेर्दा पूरा बङ्गाली जस्तै देखिन्थें, खालेद त बङ्गाली नै भयो। अङ्ग्रेजीमा कुरा गर्दा अरुको मनमा धाक देखाए जस्तो पथ्र्याे, टुटेफुटेको बङ्गाली बोल्दा पनि धेरैको ध्यान हामीतिरै आकर्षित हुन्थ्यो। कतिले हामीलाई भारतको गुप्तचर भन्ने शङ्कासमेत गरे। सबैलाई म नेपाली भनेर हिँड्न पनि भएन।
फेरि भर्खर भारत र पाकिस्तानको युद्ध सकिएको बेला थियो। किंकर्तव्यविमूढ भएर हामी बसस्टपमै उभिइरहेका बेला हठात् एक जनाले त नजिक आएर तपाईं नेपाली भनी प्रश्न गरे। उनी राँगामाटी नै घरजम गरेर बसेका नेपाली रहेछन्। वर्र्षाैंदेखि गडबडे भाषा बोल्दा लटपटिएको जिब्रो फट्कारेर मैले नेपालीमा कुरा गर्न लागें। खालेद दङ्ग परेर पालैसँग हाम्रो मुखतिर हेर्न लाग्यो। उनले “मेरो एउटा सिङ्गै घर खाली छ, उहीँ जाऊँ, होटलमा राम्रो हुन्न” भन्ने अनुरोध गर्दै हाम्रो सुटकेस, झोला उठाएर नेपाली पाराले काँधमा बोकी हिँडिहाले। उनी राँगामाटी हुलाकमा हल्कारा रहेछन्। द्वितीय महायुद्धपछि यहाँ निकै नेपालीहरुले आएर बसोवास गरेका रहेछन्।
यसरी अचानक हामी हाम्रा मायाडोना मोडल अञ्जुकहाँ आइपुगेका थियौं। तर हामीले आफूलाई त्यहाँ राफायल बनाउन सकेनौं। मायाडोनाको सौन्दर्यले मुग्ध बनायो। तर मुग्धताको चित्र बनाउन बिफल भयौं। उनको सौन्दर्यमा ईश्वरले सङ्गीत पनि जडिदिएका रहेछन्। त्यसै दिन बेलुका उनले हार्माेनियम बजाएर गाएको
– राँगामाटी पहाड साजे रुपकथार देश
दिघिल चोखे शिशिर काजल कालो मेघ तार केश...
गीत म कहिल्यै बिर्सन्न सक्तिनँ। मलाई उनको गीतभन्दा मीठो सौन्दर्य र गलाभन्दा मीठो योवन लागेको थियो। आफू पनि गीतको सौखिन, केही गाउन र केही बजाउन पनि आउने भएकाले नेपाली र बङ्गाली गीतको आदानप्रदान हुन लाग्यो। मलाई जस्तै अञ्जुलाई पनि रवीन्द्रनाथ ठाकुर साह्रै मन पर्ने रहेछ। उनले—
जेदि तोर डाक सुने केउ नाआसे तवे आइक्ला चलो रे...
आएक्ला चलो आएक्ला चलो... ... तवे आएक्ला चलो रे...
भन्ने रवीन्द्रको गीत बडो मीठोसँग गाएर सुनाइन्। जब मैले नजरूलको कुनै गीत सुनाउन अनुरोध गरें, उनले “नजरूलको गीत त लोग्ने मानिसले र खासगरी तरबार बोकेका मानिसले मात्र गाउन सुहाउँछ” भनिन्। जब अञ्जु गीत गाउँथिन्, म मनमनमा उनको रेखाचित्र खिचेर रङ भर्न थाल्थें, मेरा आँखा उनका मुखभरि दौडिन्थे। ओहो ! कति आकर्षक आँखा, उनका निर्भीकतापूर्वक बनेका आँखीभौं, कस्ता कलकलाउँदा ओठ। कस्तो रातो रङ भए त्यो ओठ बन्ला— गालाको लाली कसरी आउला चित्रमा ? पातलो बादलले ढाकेको माछापुच्छेद जस्तो चादरभित्रको उन्मत्त छातीलाई कसरी जलरङमा सार्न सकिएला ? गीत गाउँदागाउँदै यदाकदा आउने दीर्घ निःश्वासले उनको चेहरा झन् चम्किन्थ्यो। अनि गीतको ताल भङ्ग हुन्थ्यो। उनको चित्र बनाउन पाए कस्तो हुन्थ्यो ! कसरी भन्ने उनलाई हाम्रो मोडल बन भनेर ? हामीले नभने हाम्रो इच्छा उनले कसरी बुझ्ने नि ? आखिर ठूलो साहस गरेर स्वर कमाउँदै अञ्जुलाई सोधें। उनले सहर्ष स्वीकृति दिइन्।
ओछ्यानमा पल्टें। तर निद्रादेवीको रुप लिएर अञ्जु मात्र अगाडि आइन्। भोलि दिनभर मैले उनको मुहारचित्र बनाउने भएँ। तर जलरङमा मानिसको चित्र बनाउने अभ्यास भने उति थिएन। यहाँ आफ्नो कमजोरी पनि त देखाउन भएन। फेरि अर्काे समस्या त मुख मिलाउने थियो। मुख मिलाउनपट्टि लागूँ, जलरङमा हुनुपर्ने मिठास र गुण रहँदैन। पूर्ण रुपले यो माध्यममा चित्र बनाइँदा जति सक्यो छिटो रङलाई पारदर्शक र नरम ढङ्गले प्रयोग गर्नुपर्छ। कुनै कडा रेखाबिना नै रङको मात्रा एवम् स्वरले चित्रलाई सतहबाट माथि उठाउनुपर्छ। कुनै पनि प्रकृतिका वस्तुमा हामीले चित्र बनाउँदा तान्ने जस्तो देखेर हुँदैन। वस्तुविशेषको भिन्नता त्यसका वरिपरि खिचिने रेखाले होइन, त्यसमा परेको प्रकाश एवम् रङको मात्रा तथा स्वरले देखाउँछ। रेखाबाट वस्तुको चित्रण गर्न त अर्कै रेखाचित्र विधिमा काम गर्नुपर्छ। मैले जलरङमा मानिसको चित्र बनाउने धेरै कलाकारहरुको चित्र सम्झें।
केही दिनअघि मात्र मैले जोन मायरिनका केही जलरङ चित्रहरु हेरेको थिएँ। उनी अमेरिकाका सर्वाेच्च दर्जाका जलरङ कलाकारमध्येका थिए। उनका चित्रहरुमा केही मानिसको मुहारका रुप चित्रहरु पनि थिए। मैले उनका कलाविधिहरु सम्झिन खोजें। भोलि अञ्जुको चित्र बनाउनु छ, कसरी बनाउने ? यसरी बनाउने भनेर सम्पूर्ण रेखा एवम् रङको प्रयोग विधि अहिल्यै अँध्यारामा साँचेर ठीक पार्न सकिनँ भने भोलि उज्यालामा मेरो सम्पूर्ण विचार शक्ति क्षीण हुनेछ र म चित्र बनाउने बेलामा अलमल्लमा पर्नेछु। जलरङ त पहाड, चट्टान, मैदान, समुद्र आदि दृश्यचित्रहरु बनाउनमा नै अत्यधिक प्रयोग हुन्छ। मुहारचित्रमा रङ कसरी प्रयोग गर्ने ?
म भर्खरै कला संसारमा प्रवेश गरेको विद्यार्थी, कला अध्ययनको असीमित क्षेत्रमा थिएँ। मभित्र चलेको हुरीले मेरो निद्रा उडायो, चुरोट सल्काएँ। मनमा जेदि तो डाक सुने केउ नाआले... गीतको क्यासेट बजिरहेको थियो। सायद खालेद पनि अर्धनिद्रामा उनकै चित्र बनाउने प्रयास गरिरहेको थियो। पोस्टर रङ मात्र केही ल्याउन पाएको भए, तेल शैलीमा काम गर्न पाइन्थ्यो। हामीसँग सेतो रङको नाम पनि थिएन। उनको मुख मिलाउनुपर्ने सबभन्दा ठूलो समस्या थियो। उनको उज्ज्वल चेहरा सम्झें। कमलो पारदर्शक छालाभित्र उनको सौन्दर्य सलबलाइरहेको, मुखभरि लुप्त मुस्कानको आभास छरिएको थियो। सोच्दासोच्दै निदाएछु। तैपनि निद्राको सतहमा उत्रेर उनकै चित्रमा पौडिरहेको अनुभव भने गर्दै थिएँ।
भोलिपल्ट सूर्य दुई गजमाथि नचढ्दै हामीले अञ्जुको चित्र बनाउन थालिसकेका थियौं। मेरो त केवल मुहारचित्र मात्र बनाउने इच्छा थियो। तर अञ्जुले पूरा शरीरको चित्र बनाउने आग्रह गरिन्। खालेद पनि यही चाहन्थ्यो। हामीले चित्र बनाउन सुरू ग¥यौं। हाम्रा वरिपरि थुप्रै दर्शक जम्मा भइरहेका थिए र हामीले खिचेको रेखा अञ्जुको कुन भागको हो भन्ने पहिल्याउँदै थिए। मेरो एकाग्रतामा केही बाधा परिरहेको थियो। मेरा आँखा उनीभित्रै पसेर उत्खनन गर्न चाहन्थे। मेरो प्रधान गुरू बङ्गालका उच्चकोटिका कलाकार जयनुल आवेदिनले “भावनासँगै हातलाई छिटो चलाउने अभ्यास गर्नुपर्छ” भनेका थिए। तर त्यसको विपरीत म बडो धैर्यपूर्वक रेखा खिचेर उनको मुख मिलाउने प्रयास गरिरहेको थिएँ।
झन्डै एक घण्टामा मैले रेखाचित्र पूरा गरें र अर्काे दुई घण्टामा चित्रमा रङ भर्ने काम पनि पूरा भयो। उनको हाडमासुको शरीर जस्ताको तस्तै सारेछु। मभित्रको कलाकारलाई आकृष्ट गर्ने उनीभित्रको सौन्दर्य चित्रमा आउन सकेन। मेरो हातले उनको शरीरको चित्र चाहिँ कुशलतापूर्वक बनाएछ। सबैले वाहवाह गरे। तर म साह्रै खिन्न भएँ। मभित्रको व्यथा उस्तै रह्यो। कार्ल गुस्तावले एक पटक संसारको चित्रको दुई साम्राज्य छ, एउटा भौतिक र अर्काे आदिभौतिक। यी दुईको बीचमा बसेको मानिस कहिले यता जान्छ, कहिले उता भनेका थिए। ठीक त्यस्तै भित्री अञ्जुलाई प्रकाशमा ल्याउने प्रयास गर्दागर्दै मैले भौतिक अञ्जु बनाइदिएछु।
म निराश भएँ, हतोत्साहित भएँ। के गरुँ ? जे मलाई राम्रो लाग्यो, त्यही बनाउन सक्दिनँ अथवा प्रयत्नसम्म गर्दिनँ भने म केको कलाकार ? मेरो प्रतीयमान विश्वमा मैले यस्ता अनेकौं आकर्षक वस्तुहरु देखिसकें। तर कहिल्यै पनि मैले तिनको आकर्षण शक्तिको अध्ययन गर्न सकिनँ। सौन्दर्य वस्तुको अमूर्त रुप हो, वस्तुको जीवन हो, वस्तुको भावना हो, वस्तुको आत्मअभिव्यक्ति हो। वस्तुको बाह्य चित्र बनाएर वा वर्णन गरेर कलाकार, कवि सन्तुष्ट रहन सक्दैनन्।
अञ्जु र उनको सौन्दर्य अविभाज्य थियो। बाहिरी अञ्जुमा सौन्दर्य आकर्षण थिएन, भित्री अञ्जुमा रुप थिएन। अञ्जुलाई हटाएर उनको सौन्दर्यको मात्र चित्रण गरेको भए भावपीडा केही हलुका हुने थियो कि ? वास्तविक संसारमा वास्तविकतासँग बाँचेका कलाकारले आफ्नो अर्धचेतनालाई मात्र प्राधान्य दिनु झन्डै आत्महत्या गर्नु हो। आफ्नो सचेतनालाई पन्छाएर अर्धचेतनालाई चित्र बनाउन दियो भने मेरो ज्ञानको के महङ्खव ?
उही कलाकार, कवि त्यही हो, जो कल्पनामा नउडेर, कल्पनालाई आफ्नो इच्छानुकूल प्रयोग गर्छ। शरीरबिना रगत मात्र पोतेर अञ्जुको सौन्दर्य त प्रकाशमा आउँदैन, आउँछ भने सबैको दृष्टिमा अञ्जुको सौन्दर्य अञ्जुकै जस्तो हुनुप¥यो। मञ्जु, मुनाल र हिमाल जस्तो भएर भएन। फेरि कुनै पनि वस्तुको बाह्य रुपको चित्रण नगरी त्यसको आन्तरिक रुपको मात्र चित्रण गर्ने हो भने पनि त्यो खास रुपको चित्रण गर्न रङ वा रेखा, कुनै आकृतिको सिर्जना त गर्नैप¥यो, जुन देख्नासाथ कलाप्रेमी दर्शक, कलाकारले देखेको सौन्दर्य देख्न सकून्।
सचेतना वा अर्धचेतना, कुनैलाई पनि अभिव्यक्ति दिन एउटा आकृतिको सहारा नलिई हुँदैन। त्यस्तो भावप्रधान आकृतिको संरचना वस्तु जगत्को प्राकृतिक संरचना जस्तै स्पष्ट र जीवन तङ्खवले भरिएको हुनुपर्छ। जसरी मूर्त कलामा संरचना, रुपरेखाको संयोजन, अनुपात, घनत्व, सन्तुलन, उचाइ, गहिराइ आदि गुणको आवश्यकता पर्छ, उसैगरी अमूर्त वा भावप्रधान कलामा यिनै गुण हुनु नितान्त आवश्यक छ। तर यहाँ अञ्जुको बाहिरी चित्र जति सफा, स्पष्ट थियो, उति नै मभित्र प्रतिबिम्बित उनको चित्र आकारहीन रङको अस्पष्ट झझल्को मात्र थियो।
भोलिपल्ट चिटगङ फर्किंदा पनि बाटाभरि आफ्नो खिन्न चित्तमा अञ्जुकै चित्र बनाउँदै थिएँ। कहिलेकाहीँ बिपनाका लालसा सपनामा पूरा हुने गर्छन्। मैले बसमै आँखा चिम्लेर अँध्यारो पर्दामा उनको त्यो कलापूर्ण सौन्दर्य अगाडि ल्याउन खोजें। स्मरणको अन्धकार चित्रपटमा उनको सही रुप झल्याकझुलुक आउँथ्यो। तर उनका आँखा कहिले निधारतिर सर्थे त कहिले उनको खाने मुख कन्चटतिर सर्थ्याे, कहिले उनका यौवनका विविध रङ एकसाथ झमझमाउन लाग्थे। फेरि कहिले भने उनकै विकृत र बीभत्स रुप अगाडि आउँथ्यो।
“गोलो ऐनामा आकाश र फूलको चित्र विरुप भए झैं हामीभित्र पनि वस्तु संसारको प्रतिबिम्ब विकृत र विरुप भएको हुन्छ” भन्ने जेम्स ह्वाइट अलको भनाइ चरितार्थ भइरहेको थियो। त्यति सुन्दरी युवतीको चित्र पनि मभित्र विकृत रुपमा प्रतिबिम्बित भएछ। म जति उनको चित्र स्पष्ट देखिने प्रयास गर्थें, उति त्यो धमिलो र खजमज हुँदै जान्थ्यो। बसभित्रको गर्मी र सोचाइले टाउको फुट्ला जस्तो भयो। आखिर सोच्न छाडिदिएँ। हाम्रो बस नागबेली उकालो उक्लिँदै निकै माथि आइपुगिसकेछ। मुनि जगमग्न राँगामाटीको एक छेउमा अञ्जुको गाउँ अझ देखिँदै थियो। एकचोटि लामो सास फेरेर मेरो मुखले आफैं सुसेल्न लाग्यो उही गीत, राँगामाटी पहाड साजे रुप कथाकार देश...।
(झन्डै ३० वर्ष काठमाडौं, बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका मनुजबाबु मिश्रको २०७५ सालमा निधन भयो । फाइनप्रिन्ट बुक्सबाट प्रकाशित उनका निबन्धहरुको संकलित रचना 'एकलानुभूति' सोमबार, १२ असोजमा सार्वजनिक भएको छ।)