बाह्र नेपाली किशोरीको उद्धार
दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ नेपाली किशोरीको उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरू मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।
आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ । तर, किशोरीहरूलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् ।
उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । तर, दुईजनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।
उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।