दलित महिलाको हत्या आरोपमा चारजना पक्राउ
गत १४ भदौमा रौतहटको गढीमाई नगरपालिका ३ गम्हरियापर्सा मुसहरीटोलस्थित उखु खेतमा हत्या गरी फालिएको अवस्थामा फेला परेकी दलित महिलाको हत्यामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्तहरूलाई अदालतमा पेस गरी सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घरबाट घाँस काट्न गएकी स्थानीय ३५ वर्षीया मिन्त्रादेवी बैठाको गाउँनजिकै उखुबारीमा शव फेला परेको थियो। स्थानीय समिउल्ला कवारीको उखुबारीमा दलित महिलाको शव फेला परेपछि खैलाबैला मच्चिएको थियो।
प्रहरीले एक महीनामा दलित महिलाको हत्याको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले अपराध स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूले जग्गासम्बन्धी विवादमा महिलाको हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ।
सोही गाउँका जमशैद आलमका बुबा अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालतमार्फत सकार गरी सकल बैठाले जमिन किनेका थिए। तर, जमसैद आलमले भोगचलन गर्न नदिई विवाद गरी कुटपिटसमेत गरेको तथा आलमले बैठालाई प्रतिवादी बनाइ लिखत बदर मुद्दा दिएकोमा बैठाकै पक्षमा निर्णय भएको थियो। भोगचलन गर्न नदिई बलजफ्ती बैठालाई जग्गा छाडिदिन पटक पटक धाकधम्की दिने गरेको खुल्न आएको प्रहरीको भनाइ छ।
जग्गा फिर्ता नगरेको भन्दै जमसैदकै योजनामा महिलाको हत्या भएको देखिएको प्रहरीको भनाइ छ। प्रहरीले अनवर हुसैनका छोरा जमसैद मियाँ, सफी महम्मद मियाँका छोरा दाउद मियाँ, रफिक मियाँका छोरा जहरुदीन मियाँ र सफी महम्मद मियाँका छोरा महम्मद इसराफुल मियाँलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्।
दलित महिलाको हत्या रहस्यको विषय बनेको अवस्थामा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।