तराईमा वर्षा र बाढीले तरकारी बालीमा ठूलो क्षति
लगातारको वर्षाले बारा, रौतहट र सर्लाहीका किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुगेको छ। किसानहरूले लगाएको नगदे तरकारी बालीमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको हो।
प्रदेश–२ मा नै तरकारी बालीको लागि प्रसिद्ध बारा जिल्लाको सिम्रौनगढ नगरपालिका र आसपासको क्षेत्रमा ५०० देखि ६०० बिगाहा खेतमा लगाइएको काउली खेती सुकेको छ। लगातार पानी परेको र पानीको निकास नभएर जमेका कारण काउली सुकेर खसाप भएको किसानहरूको भनाइ छ।
सिम्रौनगढ क्षेत्रमा किसानलाई कम्तीमा दश करोड रूपैयाको क्षति भएको स्थानीयवासिन्दा रामेश्वर मेहताको दाबी छ। सबैभन्दा बढी क्षति काउली खेतीमा भएको मेहताले बताए। अत्यधिक वर्षाले आलु, मुला, काउली, खुर्सानी तथा भन्टा लगायतको तरकारी खेतीमा ठूलो क्षति पुगेको छ।
सिम्रौनगढ क्षेत्रमा मत्स्यपालनको लागि पोखरी बनाइएको र पोखरीको डिलले वर्षाको पानीको स्वाभाविक निकासलाई थुनिँदा तरकारी तथा धानखेती डुबानमा परेको स्थानीयको भनाइ छ। पानीको परम्परागत निकास थुनिँदा समस्या भएको कृषक बताउँछन्।
सिम्रौनगढ क्षेत्रमा मत्स्यपालन व्यवसायका दृष्टिले व्यापक पोखरी खनिन थालिएपछि त्यस क्षेत्रको पुरातात्विक सम्पदालाई पनि क्षति गरेको छ। अत्यधिक वर्षाले खोलानाला भरिएर डुबान समेत परेको थियो।
बाढीको पानी तरकारी बालीमा पसेपछि खेती सखाप भएको किसानको भनाइ छ। रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका किसान जेमिलाल साहले आफ्नो खेतमा लगाएको काउली चानी नदीको बाढी पसेपछि सुकेर गएको बताए।
रौतहटका करीब दुई दर्जन गाउँमा व्यावसायिक तथा निजी प्रयोजनका लागि लगाइएको तरकारी बालीमा क्षति पुगेको छ। जिल्लाको दक्षिणी भेगमा बकैया नदीको बाढीले तरकारी बालीमा ठूलो क्षति पुर्याएको कृषकहरू बताउँछन्।
यस्तै, दक्षिणी सर्लाहीमा पनि तरकारी खेतीमा ठूलो क्षति पुगेको छ। अत्यधिक वर्षाले सर्लाहीको तरकारी बालीमा पनि करोडौंको क्षति पुर्याएको सर्लाहीको बलरा नगरपालिका सुदामाका सञ्जय साहले बताए।
कात्तिकको पहिलो हप्तादेखि छठसम्म बजारमा आउनुपर्ने तरकारी बाली नष्ट हुँदा किसानहरूलाई ठूलो क्षति भएको छ। किसानको तरकारी बालीमा क्षति पुगेपछि चाडपर्वको समयमा ताजा तरकारीको अभाव हुने र महंगी बढ्ने उपभोक्ताको चिन्ता छ।