ठूला उद्योगको प्राथमिकतामा पर्दैनन् स्वदेशी कामदार, उद्योगी भन्छन्– यूनियन खोल्ने र हडतालको डर हुन्छ
विश्वव्यापी कोभिड–१९ महामारीको असरले विभिन्न देशमा काम गुमाएर फर्किनेहरू बढेका बेला सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने बताइरहेको छ। तर, मुलुकका ठूला उद्योगमा स्थानीय एवम् स्वदेशी कामदारलाई काम पाउनै मुश्किल छ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीका अनुसार, रुपन्देही जिल्लामा सिमेन्ट, छड, मैदा, तेल, प्लाइउडका गरी ठूला उद्योगको संख्या एक सयभन्दा बढी छ। तर, यी उद्योगले कामदारको रुपमा स्थानीयलाई प्राथमिकतामा राख्ने गरेका छैनन्। सबै उद्योगले भारतीय कामदारलाई रोज्दा आफूहरुले कामको अवसर नपाएको स्थानीयहरु बताउँछन्।
रुपन्देहीको रोहिणी गाउँपालिका–४ का सञ्जय रौनियार ठूला उद्योगमा काम गर्ने सय जनामध्ये पाँच जना मात्र स्थानीय भएको बताउँछन्। उनी भन्छन् “यहाँ उद्योग स्थापना भए भनेर के गर्नु, स्थानीयले रोजगारी पाउँदैनन्। सबैले भारतबाट कामदार ल्याएर काम लगाउँछन्।”
रुपन्देहीको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी पनि रुपन्देहीको लुम्बिनी करिडोर तथा भैरहवा–परासी सडकमा स्थापित उद्योगहरुले स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको बताउँछन्। उनका अनुसार, दुई-तीन सय मजदूर काम गर्ने उद्योगमा करीब पाँच जना स्थानीयले मात्र रोजगारी पाएका हुन्छन्।
“कलकारखानाको धुँवा–धूलो हामीले खानुपर्ने अनि रोजगारी चाहिं नपाउने भनेर स्थानीयहरु गुनासो बोकेर आउँछन्। हामीले उद्योगीहरुसँग पटकपटक छलफल गरेर स्थानीयलाई रोजगारी दिन भनेका छौं। तर, भनेजस्तो भएको छैन।” - ध्रुवनारायण चौधरी, अध्यक्ष, मायादेवी गाउँपालिका, रुपन्देही
आफ्नो क्षेत्रमा स्थापित उद्योगहरुले रोजगारी नदिएपछि स्थानीयहरु पनि गुनासो बोकेर गाउँपालिकामा जाने गरेका छन्। “कलकारखानाको धुँवा–धूलो हामीले खानुपर्ने अनि रोजगारी चाहिं नपाउने भनेर स्थानीयहरु गुनासो बोकेर आउँछन्”, चौधरी भन्छन् “हामीले उद्योगीहरुसँग पटकपटक छलफल गरेर स्थानीयलाई रोजगारी दिन भनेका छौं। तर, भनेजस्तो भएको छैन।”
उद्योगीहरु भने स्थानीय कामदारले यहाँका उद्योगहरुमा काम नै नगर्ने बताउँछन्। श्री स्टील, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट लगायत झण्डै आधा दर्जन उद्योगका सञ्चालक राजेश अग्रवाल नेपालका कामदार स्वदेशी उद्योगमा भन्दा धेरै पैसा पाइने भएपछि मलेशियाका साथै कतार, दुबई लगायत खाडी मुलुक जाने गरेको बताउँछन्। “नेपालीहरु ४०/५० हजार कमाउन कतार दुबईतिर लागे। १५/२० हजारमा भारतको उत्तर प्रदेश र विहारका मानिस आएर काम गरे”, उनी भन्छन्।
सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपाने ठूला उद्योगमा स्थानीय कामदारले प्राथमिकता पाउन नसकेको स्वीकार्छन्। “तर स्थानीयले प्राथमिकता पाउन सकेनन् मात्र भनेर हुँदैन”, उनी भन्छन्, “यसका पछाडि धेरै कारण छन्, तिनलाई छुट्टै हेर्नुपर्छ।”
कर्मचारी यूनियनको डर
रुपन्देहीमा स्थापित ठूला उद्योगहरुलाई स्थानीय कामदार राख्दा उनीहरुले यूनियन खडा गर्ने र यूनियनका नाममा विभिन्न माग राखेर हडताल गर्ने डर छ। जसले गर्दा उनीहरु सकेसम्म स्थानीय कामदारहरु राख्न चाहँदैनन्। अहिले भने यस्ता ठूला उद्योगहरुमा एउटा पनि यूनियन छैन।
सिद्धार्थननगर उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपाने लगानीकर्ताको प्राथमिकतामा स्थानीय कामदार पर्न नसक्नुको कारण यूनियन खोल्ने डर नै प्रमुख रहेको बताउँछन्। “स्थानीय कामदार राख्दा उनीहरुले यूनियन खोल्ने र विभिन्न माग राखेर हडतालमा उत्रिने प्रवृत्तिका कारण पनि उद्योगीहरुको रोजाइमा स्थानीय पर्न नसकेको देखिन्छ”, न्यौपाने भन्छन् “भारतबाट श्रमिक ल्याएर काम गराउँदा दक्षता बढी हुने र आठ घण्टा भन्दा बढी काम पनि गर्ने भएकाले उद्योगीहरुलाई सहज हुन्छ।” उनी ब्यांकबाट ऋण गरेर उद्योग सञ्चालन गर्ने उद्योगीले अनेक झमेला उठाउन नचाहने बताउँछन्।
“स्थानीय कामदार राख्दा उनीहरुले यूनियन खोल्ने र विभिन्न माग राखेर हडतालमा उत्रिने प्रवृत्तिका कारण पनि उद्योगीहरुको रोजाइमा स्थानीय पर्न नसकेको देखिन्छ। भारतबाट श्रमिक ल्याएर काम गराउँदा दक्षता बढी हुने र आठ घण्टा भन्दा बढी काम पनि गर्ने भएकाले उद्योगीहरुलाई सहज हुन्छ।” - कुलप्रसाद न्यौपाने, अध्यक्ष, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव पनि स्थानीय कामदार राख्दा यूनियन खडा गरेर काम नगर्ने भएकाले उनीहरूलाई काममा राख्न नसकिने उद्योगीहरुले बताउने गरेको बताउँछन्।
आफ्नो क्षेत्रमा भएका उद्योगहरूसँग पालिकाहरूले स्थानीयलाई रोजगारी दिन आग्रह गर्दा सबै उद्योगपतिले यूनियन र स्थानीयले काम गर्दैनन् भन्ने जवाफ दिने गरेका छन्। मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरी भन्छन्, “स्थानीय सरकारका तर्फबाट हामीले उद्योगले स्थानीयलाई रोजगारी दिनुपर्छ भन्ने माग राख्ने गरेका छौं। तर, उद्योगीले स्थानीयलाई राख्दा यूनियन खोलेर हडताल गर्छन्, काममा एक दिन आए तीन दिन आउँदैनन् भन्ने जवाफ दिने गरेका छन्।”
‘भारतबाट कामदार आएपछि निकालियौं’
रोहिणी गाउँपालिकाका विश्व श्रेष्ठले बन्दाबन्दी शुरू भएपछि करीब दुई महीना सोही गाउँपालिकामा रहेको श्री स्टीलमा काम गरे। महामारी फैलिएसँगै भारतीय कामदार घर फर्केपछि उनीसहित आठ जना स्थानीयले उक्त उद्योगमा काम पाएका थिए। तर, जब अवस्था अलि सहज बन्दै गयो, तब उनीसहित आठ जना कामदार नै उद्योगबाट निकालिए।
“संक्रमण जोखिम र बन्दाबन्दीका बीच पनि बोलाउँदा काममा गएकै थियौं, सबै ठीकै थियो। दुई महीना काम गरेपछि हामीलाई अहिले काममा नआउन भनियो”, श्रेष्ठ भन्छन्, “महामारीका कारण फर्केर गएका भारतीय कामदार काममा आएपछि हामीलाई निकालिएको हो।”
श्रेष्ठ जस्तै सोही उद्योगमा काम गर्ने राजकुमार हरिजन, रुपेश कुर्मीले पनि बन्दाबन्दीमा उद्योगलाई कामदार आवश्यक भएको वेला गएर काम गरे। तर, जब उद्योगमा पहिलेका कामदार फर्किए, उनीहरु निकालिए। हरिजन उद्योगले आफूलाई अप्ठेरो पर्दा उपयोग गरेको र भारतीय कामदार आएपछि लत्याएको बताउँछन्।
उद्योगका सञ्चालक राजेश अग्रवाल भने अहिले उद्योग ४० प्रतिशत क्षमतामा मात्र सञ्चालन भएको बताउँछन्। उनी सबैले उद्योगकै दोष देखाउने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि पोख्छन्।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपाने स्थानीयलाई उद्योगमा रोजगारी दिइएन भनेर उद्योगीलाई मात्र दोष दिनु भन्दा उनीहरूलाई काममा लगाउन सबै पक्षले चासो दिनुपर्ने बताउँछन्। सरकारले रोजगारीका अवसर सिर्जना गर्ने त भने पनि बोलेर मात्र नहुने, उद्योगीका कुरा पनि सुन्नुपर्ने उनको भनाइ छ।
“स्वदेशी कामदारलाई रोजगारी भएन भनेर मात्र हुँदैन, रोजगारी दिने निजी क्षेत्रलाई बोलाएर समन्वय गर्नुप¥यो”, न्यौपाने भन्छन्, “सम्बन्धित निकायले पहल त गर्नुपर्यो नि!”
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराको भनाइ पनि न्यौपानेको जस्तै छ। समस्या के हो भनेर अहिलेसम्म छलफल नै नभएको बोहरा बताउँछन्।
“के कारणले नेपाली कामदारले प्राथमिकता पाएनन्, के भएको भनेर कतैबाट सोधखोज र संवादको प्रयास नै गरेको छैन”, बोहरा भन्छन्, “नेपाली कामदार पाएसम्म नराख्ने भन्ने हुँदैन, तर सिमेन्ट र छड उद्योगमा गाह्रो काम हुने भएकाले नेपालीले गर्न खोज्दैनन्। त्यसका लागि भारतीय कामदार राख्नुपर्दा संयोग मिल्न गएको मात्र हो।”