कांग्रेस सभापति देउवा विरुद्ध पौडेल समूहको विरोधपत्र: 'अराजक नेतृत्वले पार्टी कब्जा गर्न खोज्यो'
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध पत्र दर्ता गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउसो दर्ता गराएको विरोध पत्रमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी २७ जनाले हस्ताक्षर गरेका छन्।
विरोध पत्रमा पार्टी नेतृत्व विशेष गरी शेरबहादुर देउवाले स्वेच्छाचारीतालाई प्राथमिक्ता दिएर लोकतान्त्रिक विधि र प्रणालिको धज्जी उडाएको आरोप लगाइएको छ।
विरोध पत्रमा पार्टीको १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र केही समय अघिदेखि शुरु भएको विभिन्न विभाग विस्तार र गठनलगायत विषयलाई लिएर चर्को असन्तुष्टी पोखिएको छ।
"महाधिवेशनको औपचारिक प्रकृया शुरु भएपछि नेतृत्वबाट झन बढी विधिविहिन, अराजकता, आपसी अविश्वास, द्वन्द्व,पक्ष-विपक्षको रुपमा ध्रुवीकृत भएको छ। यस्तो पक्षपातपूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ", विरोध पत्रमा भनिएको छ, "महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरू गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो। तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनु पर्दछ, साथै पार्टीको विधान विपरित भइरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गरिनु पर्दछ भन्ने कुरा जिल्ला सभापतिहरू एवं हामीले बारम्बार सभापतिज्यूलाई ज्ञापनपत्रद्वारा विभिन्न पटक आग्रह गरेका हौं।"
प्रतिकुल समयमा हुन लागेको पार्टीको महाधिवेशन सम्पपन्न गर्न सभापति देउवाले निभाउनुपर्ने भूमिकालाई लत्याएर झन कटुता र द्वन्द्वको स्थिति सिर्जना गरिएको भन्दै पार्टीभित्र उत्पन्न विवाद र तिक्ततालाई वैधानिक प्रकृया र सामूहिक छलफलद्वारा समाप्त गरी भावनात्मक एकता र विश्वास कायम गर्नु आजको अनिवार्य आवश्यक्ता भएको औंल्याइएको छ।
उनीहरूले आफ्ना माग सम्बोधन गर्न पार्टी सभापति देउवालाई एक हप्ते अल्टिमेटम दिएका छन्। १९ असोजमा बोलाइएको पार्टी केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम शुरु हुने पौडेल समूहको चेतावनी छ।
विरोधपत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन्।
पूर्णपाठ