ओली–दाहालको छलफल सकियो, आज पनि जुटेन मन्त्रीमा सहमति
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार दुई घण्टा भन्दा बढी समय कुराकानी भयो।
तर, सोमबारको छलफल पनि बिनानिश्कर्ष टुंगिएको छ। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन। उनीहरूबीच बिहीबार, शुक्रबार र आइतबार पनि यही विषयमा छलफल भएको थियो।
६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुँदै आएको छ।
“आजका लागि छलफल सकिएको छ। छलफललाई निन्तरता दिने भन्ने भएको छ। ठोस कुनै सहमति भएन”, नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने।
केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली–दाहालबीच सहमति बन्न नसकेको बताइन्छ। प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा छन्।
यद्यपि, वामदेमका विषयमा सर्वोच्च अदालतमा रिट परेर अन्तरिम आदेश जारी भएको र १४ असोजमा सुनुवाइ तोकिएकाले अहिले नै नेकपाले केही निर्णय गर्ने छैन।
भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भइरहेको निकट नेताहरू बताउँछन्। विभिन्न विकल्पमा छलफल भएपनि उनीहरूबीच ठोस हुनै बाँकी छ।