नयाँ क्रिकेट संघ बनेको एक वर्ष बित्यो, अझै पूर्ण रूपमा हटेन आईसीसीको प्रतिबन्ध
नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनपछि नयाँ कार्यसमितिले काम शुरु गरेको एक वर्ष पूरा भएको छ। तर, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाएको छैन।
करीब साढे तीन वर्ष आईसीसीको निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)को नयाँ निर्वाचन ११ असोज २०७६ मा भएको थियो। १२ असोजदेखि नै काम थालेको क्यानमाथिको प्रतिबन्ध आईसीसीले त्यसपछिको बोर्ड बैठकबाट हटाउने अपेक्षा गरिएको थियो।
त्यसपछि आईसीसीको बोर्ड बैठक १४ अक्टोबर (२७ असोज) मा बस्दा नेपालको प्रतिबन्ध ससर्त मात्र फुकुवा गर्ने निर्णय गर्यो। आफ्नै रोहबरमा निर्वाचन गराएपछि आईसीसीले नेपाललाई सदस्यको रूपमा स्वीकार गर्ने निर्णय गरे पनि प्रतिबन्ध पूर्ण रूपमा हटाएन।
यसअघि आईसीसीले १३ वैशाख २०७३ मा क्यानमाथि प्रतिबन्ध लगाउँदा क्यानले समयमै अडिट रिपोर्ट नबुझाएको, सरकारी हस्तक्षेप भएको, आन्तरिक विवाद बढेको लगायत कारण देखाएको थियो। प्रतिबन्ध लगाउँदा आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “क्यान नेतृत्वबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको तदर्थ समिति र त्यसलाई चुनौती दिने गरी अलालतमा परेको मुद्दाले नेपालको क्रिकेट नेतृत्वमा शून्यता सिर्जना गरेको छ। त्यसले आईसीसी प्रावधानको उल्लंघन गरेकाले प्रतिबन्ध लगाइएको छ।”
क्यानको नयाँ कार्यसमितिले प्रतिबन्ध पूर्ण फुकुवाका लागि आईसीसीले तोकेका सर्त पूरा गरिसकेको अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। तर, आईसीसीको बोर्ड बैठक र साधारणसभा बस्न नसकेको कारण प्रतिबन्ध फुकुवामा ढिलाइ भएको उनको भनाइ छ।
अध्यक्ष चन्द भन्छन्, “अहिलेको परिस्थितिमा आईसीसीको बोर्ड बस्न सकेको छैन। बोर्ड नबसी साधारणसभा हुँदैन। हाम्रो तर्फबाट गर्ने काम भइसकेको छ। तर, आईसीसीको बोर्ड र साधारणसभा नबसी कर्मचारीले मात्र प्रतिबन्ध फुकुवाको निर्णय गर्न सक्दैनन्।”
वास्तविकता नबुझी क्यानले समन्वय गर्न नसक्दा प्रतिबन्ध फुकुवा हुन नसकेको झूटो समाचार दिएको उनले गुनासो गरे। आफूहरूले आईसीसीको सर्तअनुसार बोर्ड बैठक गरिसकेको र पाँच वर्षदेखि नभएको अडिट पनि सम्पन्न गरेको उनी बताउँछन्। “साधारणसभाको मिति तय गरेका छौँ। मुख्य प्रशिक्षक र अन्य कर्मचारी भर्नाका लागि विज्ञापन भइसकेको छ। अब हाम्रो तर्फबाट गर्ने काम सकिएको छ”, उनी भन्छन्।
यसरी भएको थियो निर्वाचन
पाँच वर्ष अघि, २९ मंसिर २०७२ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनुमतिबेगर सम्पन्न भएको क्यानको निर्वाचनबाट चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल सचिव निर्वाचित भएका थिए। उक्त साधारणसभामा तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूह सहभागी थिएन।
सरकारले क्यानको उक्त समिति भङ्ग गर्दै २४ पुसमा रमेशकुमार सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। त्यसको करीब चार महीनापछि आईसीसीले क्यानलाई प्रतिबन्ध लगायो।
आईसीसीले नै २०७३ कात्तिकमा समस्या समाधान गरी नयाँ विधान बनाउन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन गरेको थियो। त्यसमा निर्वाचित क्यानका प्रतिनिधि नराखिएपछि उनीहरूले असन्तुष्टि जनाएका थिए। त्यसपछि निर्वाचित क्यानका अध्यक्ष चन्द र सचिव प्याकुरेललाई पनि सदस्य राखिएको थियो।
त्यसपछिको लामो प्रयासपछि आईसीसीका प्रतिनिधि सम्मिलित स्वतन्त्र समितिले गएको ११ असोजमा नयाँ विधानअनुसार केन्द्रीय समितिको निर्वाचन गराएको थियो। त्यसअघि जिल्ला र प्रदेशका निर्वाचन भएका थिए।
केन्द्रको निर्वाचनमा चतुरबहादुर चन्द र विनयराज पाण्डे समूह प्यानलसहित प्रतिस्पर्धामा थिए। तर, चन्द समूहको पूरै प्यानल भारी मतले विजयी भएको थियो।
एक वर्षमा के–के काम भए ?
पहिलो वर्षको शुरूआती समय अत्यावश्यक काम र योजनामा नै बितेको तथा त्यसपछि बन्दाबन्दीमा क्रिकेट गतिविधि गर्न नसकिएको अध्यक्ष चन्द बताउँछन्। यद्यपि पहिलो पाँच महीनामा क्यानको व्यवस्थापनमा केही अन्तर्राष्ट्रिय प्रतियोगिता भने भएका थिए।
क्यानको निर्वाचनको केही समयमा नै १३औँ साग आयोजना भएको थियो। उक्त प्रतियोगिताको क्रिकेट खेल आयोजनाको जिम्मा सरकारले क्यानलाई नै दिएको थियो।
ठूलो प्रतियोगिताको रूपमा क्यानले नेपालमा पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को आयोजना र व्यवस्थापन गरेको थियो। यद्यपि उक्त प्रतियोगिताको खर्च आईसीसीले नै नियन्त्रण गरेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई श्रृङ्खलाअन्तर्गत नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए। काठमाडौंको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको प्रतियोगितामा नेपालले ओमानसँगका दुवै खेल हारेको थियो भने अमेरिकाविरुद्ध दुवैमा जित हासिल गरेको थियो।
अब आगामी डिसेम्बरमा त्रिकोणात्मक श्रृङ्खला आयोजना गर्ने क्यानको योजना छ। उक्त श्रृङ्खला विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकै हुने क्यानले जनाएको छ। त्यसका लागि सरकारसँग अनुमति मागेर आईसीसीमा प्रस्ताव पठाउने तयारी छ। अध्यक्ष चन्दले भने, “पहिला सरकारले अनुमति दिनुपर्यो। अनि खेल्न आउने राष्ट्रको पनि सहमति चाहियो। बल्ल आईसीसीले अनुमति दिने हो।”
क्यानले त्रिवि क्रिकेट मैदानलाई १२ महीना खेल्न उपयुक्त अवस्थामा राखेको छ। पोखरा, भैरहवा र वीरगन्जका क्रिकेट मैदानमा क्युरेटर नियुक्त गरेको छ। त्यस्तै मुख्य प्रशिक्षक र सातै प्रदेशका प्रशिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरेको छ।
अब आईसीसीसँगको समन्वयमा छिटै मुख्य प्रशिक्षक नियुक्त गर्ने अध्यक्ष चन्दले जानकारी दिए। त्यसैगरी, अबको दुई साताभित्र नेपाल प्रिमियर लिग (एनपीएल) को खाका पनि तयार गरिसक्ने उनले बताए।
क्यानले यसअघि २०७६ सालको अन्त्य वा २०७७ सालको शुरुमा नै एनपीएल गर्ने योजना सार्वजनिक गरेको थियो। तर, कोरोना महामारीका कारण सबै खेल गतिविधि रोकिएका थिए।
क्यानले गरेको अर्को महत्वपूर्ण काम, खेलाडीको ग्रेडिङ हो। उक्त ग्रेडिङपछि पुरुष खेलाडीको तलब बढाइएको छ भने पहिलोपटक महिला खेलाडीलाई तलबको व्यवस्था गरिएको छ। तर, क्यानको ग्रेडिङ विवादमा परेको छ।
गत वर्ष आईसीसीले २२ खेलाडीलाई ग्रेडिङमा समावेश गरेर तलब पठाएको थियो। तर, यो वर्ष क्यानले १८ पुरुष खेलाडीलाई मात्र ग्रेडिङमा समावेश गरेका कारण समग्रमा खेलाडीको तलब खर्च कम भएको छ। त्यति मात्र नभइ गत वर्षभरि नै राष्ट्रिय क्रिकेट टोलीमा रहेका ललितनारायण राजवंशी ग्रेडिङमा समावेश नगरिएपछि पूर्व खेलाडीहरूले आपत्ति जनाइरहेका छन्।
मञ्जित श्रेष्ठ, सन्जम रेग्मी लगायत खेलाडीले ग्रेडिङप्रति सामाजिक सञ्जालमा नै प्रश्न उठाए। अझ महिला खेलाडीको ग्रेडिङमा मनपरी गरेको खेलाडीको गुनासो छ। उक्त ग्रेडिङमा राष्ट्रिय टीमबाट खेलिरहेका खेलाडीलाई छुटाएर लामो समयदेखि टिममा नपरेकालाई समावेश गरिएको छ।
राष्ट्रिय टीमकै खेलाडीले पनि असन्तुष्टि जनाउँदै क्यानमा ज्ञापनपत्र पठाएका छन्। क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) ले पनि क्यानमा ध्यानाकर्षण पत्र पठाएको छ। सिप्यानका सचिव राष्ट्रिय टीमका निवर्तमान सचिव पारस खड्का हुन्।
अध्यक्ष चन्दले आवश्यकताअनुसार अहिलेको ग्रेडिङलाई संशाेधन गर्न सकिने बताएका छन्। त्यसका लागि अध्ययन तथा छलफल भइरहेको उनले बताए।