सात महीनादेखि बन्द प्याराग्लाइडिङ सञ्चालनमा ल्याइँदै
कोरोनाभाइरस महामारीका कारण सात महीनादेखी बन्द प्याराग्लाइडिङ १५ असोजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले आन्तरिक उडान शुरू गरेसँगै प्याराग्लाइडिङ पनि १५ असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको हो।
अहिले परीक्षणकालका रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजदेखि व्यावसायिक रूपमा प्याराग्लाइडिङ शुरू हुने हवाई खेलकुद संस्था (नाका)का अध्यक्ष कृष्ण भण्डारीले बताए।
पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए।
कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरूलाई पुनः बुकिङ शुरू गर्न दिइसकिएको छ। पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरूले बन्दाबन्दीको अवधिमा करीब रू. ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए।
अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन्। प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो।
यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन्। पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडान गर्दछन्।
शुरूआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले ३०० भन्दा बढी नेपाली पाइलट छन्। प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।