दोर्दीखोला जलविद्युतको काम अन्तिम चरणमा, पुसबाट २७ मेगावाट बिजुली थपिने
लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुसमा सकिने भएको छ। त्यसपछि उक्त आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको ९५ प्रतिशत काम सकिएको प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले जानकारी दिए। उनले भने, “बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भइरहेको छ। हाल मेशिनहरु फिट गर्नेलगायत काम भइरहेको छ।”
यो आयोजनाको निर्माण फागुन २०७२ फागुनबाट .शुरु भएको थियो। १५ भदौ २०७५ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य थियो। काम थालेपछि भएको नाकाबन्दी, अघिल्लो वर्षामा विद्युतगृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ।
त्यसपछि समय थपेर गएको चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सम्पन्न भएन। पुनः गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो। तर, कोभिड–१९ का कारण बन्दाबन्दी घोषणा भएपछि आगामी पुसबाट मात्र बिजुली निकाल्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ।
आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड छ। बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युतगृह छ। आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीबीच १ असार २०६९ मा पीपीए सम्झौता भएको थियो। सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ।