यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा, अहिलेसम्म कहाँ कति वर्षा भयो ?
यस वर्षको मनसुन सकिन एक हप्ता बाँकी रहँदा मनसुन अवधि (१९ जेठदेखि ११ असोजसम्म) मा सरदरभन्दा केही बढी वर्षा भएको छ। देशका ५१ वटा वर्षा मापन केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष २२९.४ मिलिमिटर बढी वर्षा भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जम्मा एक हजार ६४२.१ मिलिमिटर वर्षा भएको छ। नेपालमा सरदर एक हजार ४१२.७ मिलिमिटर वर्षा हुन्छ। विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कंडेलका अनुसार अझै केही वर्षा मापन केन्द्रहरुको विवरण आउन बाँकी छ।
“सरदर वर्षा हुने पूर्वानुमान थियो। अहिलेसम्मको अवस्थामा सरदरभन्दा केही बढी जस्तो देखिन्छ,” उनी भन्छिन् “सेप्टेम्बरको अन्तिम हप्ता विकास भएको मौसम प्रणालीले प्रदेश नम्वर ५ का तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भएको वर्षाले सुख्खा हुन पाएन। ती जिल्लामा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान थियो।”
बाँकी, बर्दिया, कैलालीमा भने सरदरभन्दा कम वर्षा भएको छ। त्यहाँ ८० देखि ९० प्रतिशत मात्र वर्षा भएको छ। त्यसैगरी सरदरभन्दा कम वर्षा हुनेमा जाजरकोट, जुम्ला र सल्यान छन्।
सल्यान र जाजरकोटमामा ७० प्रतिशतभन्दा कम वर्षा भएको छ। जाजरकोटको सरदर वर्षा एक हजार ६०३.८ मिलिमिटर रहेकोमा यसपालि ९९५.३३ प्रतिशत वर्षा भएको छ। यो ६२.१ प्रातिशत वर्षा हो। जुम्लाको सरदर वर्षा ५३१ मिलिमिटर रहेकोमा यसपालि ३८५.२८ मिलिमिटर वर्षा भएको छ। जुम्लामा ७२.६ प्रतिशत मात्र वर्षा भएको छ।
कम वर्षा हुने जिल्लामा ताप्लेजुंग, ओखलढुँगा र सिन्धुलीसमेत छन्। ताप्लेजुङ्गको सरदर वर्षा एक हजार ३९२.३ मिलिमिट रहेकोमा यसवर्ष एक हजार ४८.७ मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङ्गमा वर्षाको स्थिती ७५.३ प्रतिशत छ।
त्यसैगरी ओखलढुङ्गाको सरदर एक हजार ४१९.७ मिलिमिटर वर्षा हुनेमा यो वर्ष १०००.८ मिलिमिटर बर्षा भएको छ। सिन्धुलीको सरदर वर्षा दुई हजार १७४.३ मिलिमिटर रहेकोमा यसपालि एक हजार ७४८ मिलिमिटर वर्षा भयो। सिन्धुलीमा ८०.४ प्रतिशत वर्षा भएको छ।
दार्चुला र बझाङमा भने औषतभन्दा बढी वर्षा भएको छ। दार्चुला बझाङमा १३० प्रतिशत वर्षा भएको छ। दार्चुलामा दुई हजार २८.१ मिलिमिटर सरदर वर्षा हुनेमा दुई हजार ६७०.६७ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी चितवनको रामपुर स्टेशनमा सरदर वर्षा एक हजार ७०४.५ मिलिमिटर वर्षा हुनेमा यो वर्ष दुई हजार ६८३.३ मिलिमिटर वर्षा भएको छ। रामपुरमा १५७.६ प्रतिशत वर्षा भएको छ।
नवलपरासी सेमरीमा रहेको वर्षा मापन केन्द्रको सरदर वर्षा एक हजार ५९८.६ मिलिमिटर रहेकोमा दुई हजार १०७.१ मिलिमिटर वर्षा भएको छ। यहाँ १३१.८ प्रतिशत वर्षा भएको छ। कास्कीको पोखरामा तीन हजार ११९.५ सरदर वर्षा भएकोमा यो वर्ष ४ हजार ५१९.४ मिलिमिटिर वर्षा भएको छ।
लमजुङको खुदीबजारको सरदर वर्षा दुई हजार ७४४ं.४ मिलिमिटर रहेकोमा त्यहाँ तीन हजार ९८६.३ मिलिमिटर पानी परेको छ। खुदीबजारमा १४५.३ प्रतिशत वर्षा भएको छ।
संखुवासभामाको खाँदवारीमा पनि धेरै वर्षा भएको छ। खाँदबारीको सरदर वर्षाको स्थिती एक हजार ३८०.८ मिलिमिटर रहेकोमा यो वर्ष दुई हजार २२७.८ वर्षा भएको छ। धनकुटाको सदरमुकामको सरदर वर्षाको स्थिती ७१७.२ मिलिमिटर रहेकोमा यो वर्ष एक हजार १३३.८ मिलिमिटर पानी परेको छ। धनकुटामा १५१.१ प्रतिशत बढी वर्ष भएको छ।
सामान्यतया मनसुन बाहिरिने समय २३ सेप्टेम्बरमा धेरै वर्षा हुने भए पनि पछिल्ला १० वर्षयता मनसुन ढिलो सुरु भएर अक्टोबरसम्म लम्बिने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले अझै एक हप्ता मसनसुन रहने अुनमान गरेको छ।