आईपीएलमा राजस्थानले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दै पञ्जाबलाई हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति सकिएको खेलमा अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दै राजस्थान रोयल्स विजयी भएको छ। उक्त खेलमा किङ्स इलेभन पञ्जाब र राजस्थान दुवै टोलीले जम्मा ४४९ रन बनाए।
पञ्जाबले दिएको २२४ रनको लक्ष्य राजस्थानले ६ विकेट गुमाएर पार गरेको छ। राजस्थानका लागि म्यान अफ द म्याच सन्जु सामसनले ४२ बलमा ८५ रन बनाए। त्यस्तै राहुल टेवाटियाले ३१ बलमा ५३ रन र ओपनर स्टेभेन स्मिथले २७ बलमा ५० रन बनाए। पहिलो विकेट १९ रनमै गुमाएको राजस्थानलाई स्मिथ र सामसनले सम्हालेका थिए।
पञ्जाबको हारसँगै मायांक अग्रवालको शतक छायामा परेको छ। अग्रवालले कप्तान कैएल राहुलसँग मिलेर पहिलो विकेटका लागि पञ्जाबका तर्फबाट अहिलेसम्मकै उच्च साझेदारी गरेका थिए।
उनीहरुले १६.३ ओभरमा १८३ रन जोडेका थिए। त्यसपछि पहिलो विकेटका रुपमा ५० बलमा १०६ रन जोडेका अग्रवाल बाहिरिएका थिए। उनको आईपीएलमा यो पहिलो शतक हो।
त्यसबाहेक राहुलले ५४ बलमा ६९ रन बनाए। उनले पनि अघिल्लो खेलमा शतक प्रहार गरेका थिए। पञ्जाबले जम्मा दुई विकेट मात्र गुमाएको थियो।
आईपीएलमा दुई खेल खेलेको सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स दुवै खेलमा विजयी हुँदै चार अंकसहित शीर्ष स्थानमा छ। तर, सन्दीपले यो सिजन खेल्न पाएका छैनन्। राजस्थान रोयल्सले पनि दुई खेलमध्ये दुवैमा जित हासिल गर्दै चार अंक नै बटुले पनि रनरेटमा पछि परेको छ।