महामारीको बहानामा चीनको अर्घेल्याईं, संकटमा काम आएनन् बहुप्रचारित उत्तरी नाका
कोरोनाभाइरस संक्रमण विस्तारको जोखिम देखाउँदै चीनले उत्तर जोड्ने दुई प्रमुख व्यापारिक रसुवागढी र तातोपानी नाकामा अवरोध गर्दै आएको छ।
२०७२ असोज पहिलो सातादेखि भारतले नेपालमाथि पाँच महीना लामो नाकाबन्दी गरेपछि उत्तरी छिमेक, चीनतर्फका नाका अत्यावश्यक वस्तु आयातदेखि सम्पूर्ण वैदेशिक व्यापारको विकल्प बन्न सक्नेबारे विमर्श शुरु भएको थियो। विमर्श मात्र शुरु भएन, रसुवागढी हुँदै केही ट्यांकर पेट्रोलियम पदार्थ पनि चीनबाट भित्रियो। पहिलो पटक नेपालले उत्तरी नाकाबाट यसरी पेट्रोलियम पदार्थ भित्र्याएको थियो।
यो क्रम यतिमै रोकिएन, बरु उत्तरतर्फबाट पेट्रोलियम पदार्थ ल्याउन पेट्रोलियम पाइपलाइन निर्माणकै विषयमा छलफल शुरु गरियो। नेपालले भारत हुँदै मात्र प्रयोग गरिरहेको भूपरिवेष्टित राष्ट्रको समुद्री बन्दरगाहसम्म पुग्ने अधिकार अब चीन हुँदैसमेत अघि बढ्ने चर्चा चलेको थियो, त्यसबेला। त्यसका लागि चीन स्वयम्ले नेपाललाई प्रोत्साहित गरेका खबर सार्वजनिक भएका थिए।
तर, कोराेनाभाइरस संक्रमणको विश्वव्यापी महामारीले निम्त्याएको संकटका माझ चीनले करीब आठ महीनादेखि यो नाकामा अवरोध गरेको छ। संक्रमणको जोखिम रहेको भन्दै आक्कलझुक्कल खोलिए पनि रसुवागढी नाका प्रायः बन्द नै छ। नेपाल र चीनबीचका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी दुवैमा रहेको यस्तो अवरोधले करीब रु.२० अर्बका मालसामान ल्याएका झण्डै दुई हजार कन्टेनर अड्किएका छन्।
दैनिक ५ कन्टेनरका दरले सामान आयात गर्न दिंदा अहिले चीनतर्फ रोकिएका मालसामान ल्याउन मात्र कम्तीमा ६ महीना लाग्छ। नेपाल ल्याउनका लागि चीनबाट आयात गरिएका लत्ताकपडा, विद्युतीय सामग्री, जलविद्युत परियोजनाका उपकरण लगायत सामान अहिले चिनियाँ गोदाममै थन्किएका छन्।
व्यवसायीहरुको लगातारको दबाबपछि ७ असोजबाट रसुवागढी नाका आंशिक रुपले सञ्चालनमा ल्याउन सरकारले चीनलाई मनाएको थियो। दैनिक पाँच कन्टेनर मात्र ल्याउन दिने शर्तमा चीन नाकाको अवरोध खुकुलो बनाउन तयार भए पनि व्यवसायीहरु भने त्यसप्रति असन्तुष्ट छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल भन्छन्, “बरु नाका पूर्ण रुपमा बन्दै गरे हुन्छ, दैनिक पाँच कन्टेनर मात्र सामान ल्याउन दिनुको केही अर्थ छैन।”
पौडेलका अनुसार, दैनिक ५ कन्टेनरका दरले सामान आयात गर्न दिंदा अहिले चीनतर्फ रोकिएका मालसामान ल्याउन मात्र कम्तीमा ६ महीना लाग्छ। नेपाल ल्याउनका लागि चीनबाट आयात गरिएका लत्ताकपडा, विद्युतीय सामग्री, जलविद्युत परियोजनाका उपकरणलगायत सामान अहिले चिनियाँ गोदाममै थन्किएका छन्। लत्ताकपडाको प्रमुख कारोबार हुने चाडबाड, दशैं र तिहार मुखैमा आइपुग्दा पनि चीनतर्फ थन्किएका ती सामान आउने/नआउने टुंगो छैन।
कहिले कोरोना, कहिले ताल फुट्ने बहाना
यस वर्ष, सन् २०२० को जनवरीमा चीनमा कोरोनाभाइरस संक्रमणको महामारी फैलिएपछि १५ माघदेखि रसुवागढी नाका औपचारिक रुपमा बन्द गरिएको थियो। त्यतिबेला नेपालमा कोरोना संक्रमण विस्तार भइसकेको थिएन। झण्डै पाँच महीनापछि, असार तेस्रो साता रसुवागढी नाका एकतर्फी र आंशिक रुपमा खुला गरियो, दैनिक पाँच कन्टेनरसम्म सामान भित्र्याउने कोटा तोकेर। चिनियाँ कन्टेनरले रसुवागढीस्थित मितेरी पुलमा सामान खसाल्ने र तोकिएका नेपाली कामदारले मात्र सामान नेपाली ट्रकमा ओसार्ने व्यवस्था मिलाएर आयात खोल्न खोजिएको थियो। तर, यसबीचमा साउन अन्तिम साता एकजना नेपाली कामदारमा कोरोना संक्रमण देखिएपछि चीनले यो नाका बन्द गरिदियो।
नेपाली अधिकारीहरुको तारन्तारको प्रयत्नपछि ७ असोजबाट नाकालाई पुनः आंशिक र एकतर्फी रुपमा खुलाउन चीन तयार भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले परराष्ट्र र वाणिज्य मन्त्रालयको पटक–पटकको पहलपछि मात्रै नाकालाई आंशिक रुपमा खुलाउन चीनलाई मनाउन सकिएको बताए। उनले भने, “हामीले रसुवागढी र तातोपानी दुवै नाका पूर्ण रुपमा खोल्न अनुरोध गरिरहेका छौं, तर चिनियाँ पक्ष कोरोना संक्रमणको डरले पूर्ण रुपमा नाका खोल्न अनुदार देखिएको छ।”
रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्का चिनियाँ अधिकारीहरु नेपालमा संक्रमित बढिरहेकाले चीनतर्फ ठूलो संख्यामा आवतजावत गर्न दिने पक्षमा देखिदैनन्। उनी भन्छन्, “महामारीका विषयमा उनीहरु असाध्यै गम्भीर देखिए। नाकाका विषयमा कुरा गर्दा सधैं उनीहरु व्यापार भन्दा मानिसको ज्यान ठूलो भएकाले ध्यान महामारी नियन्त्रणमा लगाउन सुझाव दिन्छन्।”
तातोपानी नाका खुलाउन पनि चीन इच्छुक देखिएको छैन। तिब्बतको कुती क्षेत्रमा रहेको ताल फुट्ने जोखिम देखाउँदै चीनले झण्डै तीन महीनादेखि यो नाका बन्द गरेको छ। चीनमा कोरोनाभाइरसको संक्रमण विस्तार भएपछि १३ माघ २०७६ देखि बन्द गरिएको यो नाका २६ चैतमा एकतर्फी रुपमा खुलाइएको थियो। तर, ताल फुट्ने जोखिम देखाएर चीनले फेरि नाका बन्द गरेको हो।
वाणिज्य मन्त्रालयका एक अधिकारी चीन, तातोपानी नाकालाई चलायमान बनाउने पक्षमा नरहेको बताउँछन्। त्यहीकारण पनि चीनले ताल फुट्ने जोखिमलाई बहाना बनाएको छ। ती अधिकारी भन्छन्, “आन्तरिक सुरक्षा र सीमा घुसपैठको जोखिम देखेकाले हुनसक्छ, चीनले तातोपानी नाकाको व्यापारलाई रसुवागढीमार्फत नै गर्न चाहेको बुझिन्छ।”
२०७२ सालको भूकम्पपछि सडकसहितका पूर्वाधार बिग्रिएको भनेर चीनले यो नाका झण्डै चार वर्ष बन्द गरेको थियो। त्यसपछि २०७६ जेठमा बल्ल यो नाका सञ्चालनमा आएको हो। यो नाका हुँदै स्वतन्त्र तिब्बतका गतिविधि हुने भय चिनियाँ अधिकारीहरुमा छ।
“वुहानबाट फैलिएको कोरोनाभाइरसका विषयमा चिनियाँ पक्ष असाध्यै धेरै सतर्क देखिन्छ, नेपालबाट संक्रमण विस्तार हुँदैन भन्नेमा आश्वस्त नहुन्जेल उनीहरु नाकामा कडाइ जारी नै राख्ने पक्षमा देखिन्छन्।”
वाणिज्य मन्त्रालयका ती अधिकारीका अनुसार १३ असोजमा नेपाल र चीनको वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरुबीच हुने वार्तामा नेपाली पक्षले उत्तरका व्यापारिक नाका पूर्णरुपमा खुलाउने विषयलाई नै प्रमुख अजेण्डाका रुपमा अघि सार्ने तयारी छ। दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीहरुबीचको संयन्त्रको बैठकमा नेपालबाट मन्त्रालयको द्विपक्षीय र क्षेत्रीय व्यापार महाशाखा प्रमुख प्रकाश दाहालले नेतृत्व गर्दैछन्। “वुहानबाट फैलिएको कोरोनाभाइरसका विषयमा चिनियाँ पक्ष असाध्यै धेरै सतर्क देखिन्छ, नेपालबाट संक्रमण विस्तार हुँदैन भन्नेमा आश्वस्त नहुन्जेल उनीहरु नाकामा कडाई जारी नै राख्ने पक्षमा देखिन्छन्,” ती अधिकारीले भने।
तर, आफूहरुले चीनलाई मनाउन तारन्तार पहल गरिरहेको पनि उनले बताए। भने, “नाका नखोले नेपालमा चिनियाँ बजार अन्य देशका सामग्रीले लिन सक्छन् भनेर समेत नाका खुलाउने प्रयत्न गरिरहेका छौं, दैनिक ५० वटा कन्टेनर खुलाउनका लागि मनाउन प्रयत्नरत छौं।”
नाका पुनरोदयको सम्भावना
रसुवागढी र तातोपानी दुवै नाकाले सदियाैंदेखि नेपाल–भोट–चीन व्यापार धानेका हुन्। काठमाडौं उपत्यकाको व्यापार दक्षिण छिमेकमा आश्रित नहुन्जेलसम्म यिनै नाका हुँदै तिब्बत र चीनसम्म आयात निर्यातको व्यापार फैलिएको थियो। कम्तीमा १५ सय वर्ष अघिदेखि नै तातोपानी (कुती) र रसुवागढी (केरुङ) हुँदै द्विपक्षीय व्यापारिक सम्बन्ध गाँसिएको इतिहास छ। तर, काठमाडौं र सिंगो देशकै व्यापार दक्षिणतर्फ निर्भर हुँदै गएपछि भने यी नाकाहरुले चमक गुमाउँदै गए र विस्मृतिको गर्तमा हराए।
तातोपानी नाका २०२३ सालमा चिनियाँ सहयोगमा कोदारी राजमार्ग निर्माण भएपछि मात्र द्विपक्षीय व्यापारिक सेतुका रुपमा पुनर्जागृत भएको थियो। यो मार्ग बनाउँदाको विवाद चाखलाग्दो छ । चीनतिर राजमार्ग बनाएकोमा असन्तुष्ट भारततिर लक्षित गरी तत्कालीन राजा महेन्द्रले भनेका थिए, “साम्यवाद ट्याक्सी चढेर आउँदैन।” राजमार्ग खुले पनि तीन दशकअघि २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएर अर्थतन्त्रमा खुलापन शुरु भएपछि मात्रै यो नाका व्यापारिक लयमा चलायमान बनेको हो।
२०७२ सालको महाभूकम्पपछि तातोपानी नाका बन्द भएसँगै चीनसँगको व्यापार रसुवागढी नाकामा सर्यो। २०७१ मंसीरदेखि औपचारिक रुपमा सञ्चालनमा आएको यो नाकालाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा २०७४ भदौदेखि मान्यता दिएको थियो। चीन अहिले नेपालसँगको द्विपक्षीय व्यापार यही नाकामार्फत अघि बढाउन चाहन्छ। त्यहीकारण सिगात्से हुँदै काठमाडौं जोड्न प्रस्तावित रेलमार्ग पनि केरुङ हुँदै अघि बढाउन अध्ययन शुरु गरिएको छ।
चीनसँग जोडिएका १६ जिल्लाका विभिन्न नाकामार्फत पनि नेपाल र चीनबीच आवतजावत र व्यापारिक कारोबार हुन्छ। टिङ्की (दोलखा), सामागाउँ, छेकम्पार (गोरखा), किमाथांका (संखुवासभा), कोराला (मुस्ताङ), ओलाङचुङगोला (ताप्लेजुङ), हिल्सा यारी (हुम्ला) सहितका नाकाहरुबाट स्थानीय आवतजावत र सानोतिनो व्यापार भए पनि यी नाकाले अन्तर्राष्ट्रिय व्यापारिक कारोबार गर्ने नाकाको हैसियत पाएका छैनन्।
चीनसँगको व्यापारका लागि रसुवागढी र तातोपानी नाका महत्वपूर्ण भए पनि नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा यी नाकामार्फत हुने व्यापारको हिस्सा सानो छ। गत आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै नेपालले रु. २६ अर्ब ४६ करोडको मालसामान आयात गरेको थियो। यो नेपालको कुल आयातको २.२१ प्रतिशत मात्र हो। त्यस्तै, तातोपानी नाका हुँदै रु. ९ अर्ब ५४ करोडको आयात भएको थियो, जुन नेपालको कुल आयातको ०.८० प्रतिशत मात्र हो।
नेपालको अधिकांश वैदेशिक व्यापार भारतसँग जोडिएका नाकामार्फत हुन्छ। त्यसमध्ये गत आर्थिक वर्षमा नेपालको कुल आयातको ५१ प्रतिशत वीरगन्ज र भैरहवा नाकाबाट भएको थियो।