खोप कार्यक्रम प्रभावकारी नहुँदा रेबिज उन्मूलनमा चुनौती, बच्ने कसरी ?
नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिए पनि जनचेतनाको कमी, कुकुर र मानिसलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा लक्ष्य पूरा गर्न चुनौती छ।
आज २८ सेप्टेम्बर, अर्थात् विश्व रेबिज दिवस। यस वर्षको नारा ‘रेबिज अन्त्यका लागि सहकार्य र खोज’ राखिएको छ। प्रत्येक वर्ष रेबिज विरुद्धको दिवस मनाइँदै आए पनि मुलुकमा रेबिजको जोखिम भने घट्न सकेको छैन। कुकुर र मानिसलाई उचित समयमा रेबिज विरुद्धको गुणस्तरीय खोप सेवा पुर्याउन नसक्दा यसको जोखिम बढिरहेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, कुकुरको टोकाइबाट आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार जना र त्यसको अघिल्लो वर्ष २०७४/७५ मा २२ हजार २ सय जना प्रभावित बनेका थिए। तर, तर ईडीसीडी लगायत कुनै पनि सरकारी निकायसँग नेपालमा कति कुकुरमा रेबिज संक्रमण छ भन्ने तथ्यांक छैन।
एक अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एनिमल हेल्थ का अनुसार, नेपालमा ३० हजार जनावरमा रेबिजको संक्रमण छ। तीमध्ये अधिकांश कुकुर छन्।
डब्लूएचओका अनुसार, शरीरमा रेबिजको लक्षण देखिन थालेपछि यसको भाइरसले मानिसको मस्तिष्कमा आक्रमण गर्छ, र समयमा उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ।
अहिलेसम्म मुलुकमा रेबिज संक्रमणका कारण ज्यान जानेको यकिन तथ्यांक पनि छैन। तर, ईडीसीडीमा भएको रिपोर्टिङ अनुसार, आव २०७५/७६ मा १८ र २०७४/७५ मा ३२ जनाको रेबिजका कारण मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने नेपालमा रेबिजका कारण वार्षिक १०० जनाको मृत्यु हुने अनुमान गरेको छ।
डब्लूएचओका अनुसार, शरीरमा रेबिजको लक्षण देखिन थालेपछि यसको भाइरसले मानिसको मस्तिष्कमा आक्रमण गर्छ, र समयमा उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ। करीब ९९ प्रतिशत मानिसमा संक्रमित कुकुरको टोकाइबाटै रेबिज लाग्ने गरेको डब्लूएचओले जनाएको छ।
रेबिजका कारण विश्वमा प्रत्येक वर्ष करीब ६० हजार मानिसको मृत्यु र ३७ लाख अशक्त हुने गरेको पनि डब्लूएचओको तथ्यांक छ। मृत्यु र अशक्त हुनेमा पनि करीब ४५ प्रतिशत दक्षिण एशियाली मुलुकका छन्।
रेबिजबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका छन्। डब्लूएचओको तथ्यांक अनुसार, रेबिज लागेका व्यक्तिहरुमध्ये करीब ४० प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका हुने गरेका छन्। रेबिजबाट सबैभन्दा बढी एशिया र अफ्रिकी मुलुकका ग्रामीण समुदाय प्रभावित छन्।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा रेबिज विरुद्धको भ्याक्सिनको खपत वार्षिक करीब तीन लाख भायलको हाराहारीमा भइरहेको छ। ईडीसीडीका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा २ लाख ३६ हजार २२ र २०७४/७५ मा २ लाख ८१ हजार ७१८ भायल भ्याक्सिनको खपत भएको थियो।
दिगो विकास लक्ष्य पूरा गर्न चुनौती
दिगो विकासको लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर, पछिल्ला वर्षहरूमा रेबिज संक्रमणका कारण हुने मृृत्यु बढिरहेका बेला उक्त लक्ष्य पूरा गर्न चुनौती देखिएको छ।
अहिलेसम्म रेबिज रोगको उपचार पत्ता लागेको छैन। तर, समयमा रेबिज विरुद्धको खोप लगाए यो रोगबाट बच्न सकिन्छ।
सरकारले रेबिज उन्मुलन गर्ने रणनीति लिएको छ। तर, त्यस अनुसार काम अगाडि बढ्न नसकेको चिकित्सकहरु बताउँछन्।
अहिलेसम्म रेबिज रोगको उपचार पत्ता लागेको छैन। तर, समयमा रेबिज विरुद्धको खोप लगाए यो रोगबाट बच्न सकिन्छ। सरकारले रेबिज उन्मुलन गर्ने रणनीति लिएको छ। तर, त्यस अनुसार काम अगाडि बढ्न नसकेको चिकित्सकहरु बताउँछन्।
काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला संक्रमित बिरामीलाई खोप लगाउने, ठूलो संख्यामा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने र कुकुरको संख्या नियन्त्रण गरे मात्र रेबिज उन्मूलन हुनसक्ने बताउँछन्। संक्रमितलाई खोप लगाउने गरिए पनि अन्य दुई काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उनको भनाइ छ।
डा. बास्तोला भन्छन्, “अशिक्षा, रेबिजबारे जनचेतनामा कमी र स्वास्थ्य सेवामा पहुँच नहुँदा पछिल्ला वर्षहरुमा रेबिजका संक्रमित बढिरहेका छन्,” उनी भन्छन्। उनी रेबिज उन्मूलन गर्न 'वान हेल्थ' को अवधारणा अनुसार जनावर र मानिसका लागि एउटै एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन्।
कसरी सर्छ, जोगिने कसरी ?
रेबिज तातो रगत भएका कुकुर, स्याल, हुँडार, मोङ्गोज नामक जङ्गली बिरालो आदिको टोकाइबाट लाग्ने संक्रामक र प्राणघातक रोग हो। रेबिज भाइरस लागेको जनावरले टोकेमा वा घाउ वा चोटपटक लागेको ठाउँमा चाटेमा र्यालको माध्यमबाट मानिसमा यो रोग सर्छ। चिकित्सकहरू बहुला वा शंकास्पद कुकुर र जङ्गली जनावरले टोकेमा सावधानी अपनाउनुपर्ने बताउँछन्।
रेबिज भाइरस सार्ने कुकुर र अन्य जनावरले टोकेर छालामा घाउ भएमा वा रगत बगेमा तुरुन्त घाउ सफा गर्ने र चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउनुपर्छ। ईडीसीडीका अनुसार, टोकेको घाउलाई तत्काल ३ देखि ४ पटकसम्म साबुन–पानी वा साबुन उपलब्ध नभए पानीले मात्र भए पनि सफा गर्नुपर्छ।
घाउ सफा गरेपछि पनि संक्रमण हुनसक्ने भएकाले अस्पताल गएर रेबिज विरुद्धको खोप लगाइहाल्नुपर्छ। घाउ हुने बित्तिकै ७० प्रतिशत इथानोल अल्कोहल वा पोभिडोन आयोडिन लगाएर जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन्।
ईडीसीडीको जुनोटिक रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझा कुकुरले टोकिहाल्यो भने तत्काल टोकेको ठाउँमा सफा गर्नुपर्ने र खोप लगाउन नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने बताउँछन्। “कुकुरले टोकेको एक साताभित्र नियमित डोजको खोप लगाए रेबिजबाट बच्न सकिन्छ”, उनी भन्छन्।
रेबिज भाइरस सार्ने कुकुर र अन्य जनावरले टोकेर छालामा घाउ भएमा वा रगत बगेमा तुरुन्त घाउ सफा गर्ने र चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउनुपर्छ। टोकेको घाउलाई तत्काल ३ देखि ४ पटकसम्म साबुन–पानी वा साबुन उपलब्ध नभए पानीले मात्र भए पनि सफा गर्नुपर्छ। घाउ सफा गरेपछि पनि संक्रमण हुनसक्ने भएकाले अस्पताल गएर रेबिज विरुद्धको खोप लगाइहाल्नुपर्छ।
सरकारले रेबिज विरुद्धको खोप प्राथमिक स्वास्थ्य केन्द्र मार्फत निःशुल्क वितरण गर्दै आएको छ। तर, खोप सेवामा पहुँच नहुुँदा र रेबिजबारे अज्ञानताका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका छन्। कतिपयलाई खोप लगाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै बेवास्ता वा लापरवाही गर्ने प्रवृत्ति पनि देखिन्छ।
डब्लूएचओका अनुसार, रेबिजबाट बच्न रेबिजग्रस्त वा शंकास्पद कुकुरको शारीरिक हाउभाउ विचार गरी सतर्कता अपनाएर टोकाइबाट जोगिनु नै उत्तम उपाय हो। रेबिज लागेको कुकुरले र्याल झारिरहन्छ र मुखबाट फिंज पनि काढ्छ। अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल(सीडीसी)का अनुसार केही कुकुरले रेबिज लाग्यो भने बौलाहाको जस्तो व्यवहार देखाउँछन् । रेबिज लागेको कुकुरले मानिस र अन्य जनावरलाई टोक्ने प्रयास गर्छन् । कुकुरले टोकेको १० दिनभित्रमा कुकुर मरेमा रेबिजग्रस्त रहेको बुझ्नुपर्ने हुन्छ।
ईडीसीडीले घरपालुवा कुकुरलाई वर्षमा एकपटक रेबिज विरुद्धको खोप अनिवार्य लगाउन सुझाएको छ। “घरपालुवा कुकुरलाई नियमित कोल्डचेन मेन्टेन्टन गरिएको भ्याक्सिन लगाउनुपर्छ”, डा. ओझा भन्छन्, “सडकमा भएका कुकुरलाई स्थानीय सरकार र समुदाय मिलेर भ्याक्सिन लगाउने अभियान थाल्नुपर्छ। अन्यथा रेबिजको जोखिम बढ्छ।”
डा. ओझा ‘वान हेल्थ’को रणनीति अनुसार कार्यक्रम सञ्चालन गरे रेबिज उन्मूलन गर्न सकिने र स्वास्थ्य मन्त्रालयले त्यसै अनुुसार काम गरिरहेको बताउँछन्।
डब्लूएचओले त रेबिज रोकथामका लागि सबै कुकुरलाई बृहत् रूपमा रेबिज विरुद्धको सुई लगाउने ‘मास भ्याक्सिनेसन’ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। तर, नेपालमा खोप कार्यक्रम प्रभावकारी रूपमा गरिएको छैन।