कोरोना अपडेट: सार्क राष्ट्रमध्ये नेपालमा सक्रिय संक्रमितको दर सबभन्दा उच्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ असोजको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मुलुकभर १५७३ जना कोरोना संक्रमित भेटिएका छन्।
हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ, भने ४७७ जनाको मृत्यु भइसकेको छ। आइतबार थपिएका कोरोना संक्रमितको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमणदर १५ प्रतिशत छ। शनिवार संक्रमणदर १२ प्रतिशत थियो।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ८ सार्क राष्ट्रमध्ये नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर सबैभन्दा धेरै २५.९ प्रतिशत रहेको देखाएको छ।
हाल सक्रिय संक्रमितको दर अफगानिस्थानमा १३.१, बाङ्लादेशमा २३.७, भुटानमा २४.७, भारतमा १६.३, माल्दिभ्समा १३, पाकिस्तानमा २.५ र श्रीलंकामा ५.२ प्रतिशत छ।
यस्तै, सार्क राष्ट्रमध्ये कोरोनाबाट निको हुने दर नेपालमा सबैभन्दा कम अर्थात ७३.४ प्रतिशत छ। कोरोनाबाट निको हुने दर सबैभन्दा बढी पाकिस्तानमा ९५.४ प्रतिशत छ।
स्वास्थ्य मन्त्रालयको ७ असोजसम्मको तथ्यांक अनुसार सार्क राष्ट्रमध्ये कोरोना सक्रिय संक्रमितको दर सबैभन्दा धेरै भुटानमा २६.४ प्रतिशत थियो। भुटानपछि नेपालमा सक्रिय संक्रमितको दर २५.७ प्रतिशत थियो।
पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा ८ असोजदेखि सार्क राष्ट्रमध्ये नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर बढ्न थालेको देखिन्छ।त्यसबेला नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर अन्य सार्क राष्ट्रको तुलनामा सबैभन्दा बढी अर्थात २६.६ प्रतिशत थियो।