एअरलाइन्स कम्पनीले सस्तो भ्रमण प्याकेज ल्याउँदा पर्यटन व्यवसायी असन्तुष्ट, भन्छन्- ‘गरिखाने वातावरण नखोस’
आन्तरिक पर्यटन चलायमान बनाउन बुद्ध र यती एअरलाइन्सले आफैं बिक्री गर्ने गरी ल्याएको ‘टूर प्याकेज’ मा असन्तुष्टि जनाउँदै ट्राभल र टूर व्यवसायीहरूले असहज समयमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने माग गरेका छन्।
विश्वव्यापी कोरोनाभाइरस संक्रमणको महामारीका कारण नेपालको पर्यटन क्षेत्र ६ महीनादेखि ठप्प छ। ११ चैतदेखिको बन्दाबन्दी-निषेधाज्ञा र संक्रमण त्रासका कारण आन्तरिक पर्यटन शिथिल छ।
झन्डै ६ महीनादेखि बन्द आन्तरिक वायुसेवा ५ असोजबाट खुलेपछि आन्तरिक पर्यटन चलायमान बनाउन निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले सोही दिन प्याकेज घोषणा गर्यो। यतीले काठमाडौंबाट बाहिर जाने र भित्रने दुवै पर्यटकका लागि दुईतर्फी हवाई टिकट, होटलमा बस्ने, भ्रमण गर्नेसहितको प्याकेज सार्वजनिक गरेको हो।
यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक भ्रमण प्याकेज ल्याएको बताउँछन्। “यस्तो प्याकेज सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्म सस्तो छ”, उनी भन्छन्, “एउटा गन्तव्यबाट अर्कोमा घुमफिर गर्न सहज हुने गरी प्याकेज ल्याएका छौं।”
आन्तरिक पर्यटन तत्काल पुनरुत्थान हुन नसक्ने र विदेशी पर्यटक आउन पनि समय लाग्ने भन्दै यतीले सार्वजनिक गरेको यस्तो प्याकेज काठमाडौंबाट पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमणको लागि छ। यस्तै, पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारबाट काठमाडौं आउने ग्राहकलाई दुईतर्फी हवाई टिकटसहित होटलमा बस्नेसहितको प्याकेज मिलाएको एअरलाइन्सले जनाएको छ।
यतीले पर्यटन बोर्डको समन्वयमा ट्राभल, ट्रेकिङ र होटलसम्मलाई जोड्ने प्रयास गरेको छ। यती ग्रुप अन्तर्गत आफ्नै एअरलाइन्सदेखि, होटल, ट्राभल, ट्रेकिङसहितको कम्पनी भए पनि यसले प्याकेज सार्वजनिक भने एअरलाइन्सबाटै हवाई टिकटसँगै जारी गरेको हो।
यतीभन्दा अगाडि बुद्ध एअरले पनि काठमाडौंबाट पोखरा र चितवनको लागि भ्रमण प्याकेज ल्याइसकेको छ। बुद्ध एअरसँग आफ्नै टूर कम्पनी बुद्ध होलिडे छ। यो वायुसेवाले पनि हवाई टिकटसँगै प्याकेज सार्वजनिक गरेर ग्राहक आकर्षणको प्रयास गरेको हो।
यती र बुद्धले प्याकेज ल्याउँदा ट्राभल, टूर तथा ट्रेकिङ व्यवसायीहरू भने बेखुशी छन्। असहज अवस्थामा मिलेर जानुपर्नेमा एअरलाइन्स कम्पनीले एकलौटी रूपमा व्यवसाय गर्ने गरी प्याकेज ल्याएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
एअरलाइन्सले पर्यटन व्यवसायीको भाग खोस्न खोजेको आरोप पनि व्यवसायीहरूले लगाएका छन्।
सहकार्यमा जोड
ट्राभल, टूर व्यवसायीहरू यो क्षेत्रका सबै बाँच्नुपर्ने कठिन अवस्थामा एअरलाइन्स कम्पनीले आफैं बिक्री गर्ने गरी प्याकेज ल्याउँदा आफूहरू मारमा पर्ने बताउँछन्।
नेपाल एशोसिएसन अफ टूर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेल कोभिड–१९ महामारीको बेला आशाको आधार आन्तरिक पर्यटन मात्र भएकाले व्यावसायिक एकता र मिलेर काम गरिखाने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन्।
उनी भन्छन्, “समग्र पर्यटन क्षेत्र कोभिडले थलिएको यो बेला एअरलाइन्सले सस्तो प्याकेज बनाउँदा व्यवसायीले त्यो भन्दा सस्तो बनाएर प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन। यसैले सहकार्य आवश्यक छ।”
सामान्य अवस्थामा एअरलाइन्सको प्याकेज आएको भए कुनै आपत्ति नहुने व्यवसायीको तर्क छ। अहिले विवाद गरेर व्यावसायिक वातावरण बिगार्ने भन्दा पनि एकले अर्को क्षेत्रको अस्तित्व स्वीकार गरेर मिलेर अगाडि बढ्नुपर्ने पोखरेल बताउँछन्।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईं पर्यटनलाई चलायमान गराउने प्याकेज ल्याउनु सकारात्मक भए पनि एअरलाइन्सले आफैं प्याकेज बिक्री गरेर ट्राभल र टूर व्यवसायीलाई बेवास्ता गरेको बताउँछन्। पर्यटकीय प्याकेजको बिक्री ट्राभल एजेन्सी मार्फत भए पर्यटनका सबै अंग चलायमान हुने र प्याकेजको प्रभावकारिता समेत बढ्ने उनको दाबी छ।
“संसारभर टूर प्याकेज बेच्ने काम ट्राभल एण्ड टूर्सकै हो। अहिले महामारीका बेला चाहिँ एअरलाइन्सको टिकट एजेन्सी बाहिरबाट बेच्ने भन्ने नै हुँदैन”, गुरागाईं भन्छन्, “व्यावसायिक सहकार्य गरेर व्यवसाय टिकाउनुपर्ने समयमा कमिशन पनि नदिई सस्तो प्याकेज ल्याइएकाले आफू बाँच्दा अरुलाई अप्ठेरो नपारौं भनेका मात्र हौं।”
विगतमा एअरलाइन्सले नै स्किम ल्याएर एकलौटी नाफा गर्ने गलत मनसाय राखेकै कारण कस्मिक एअर जस्तो स्थापित वायुसेवा कम्पनी पनि विस्थापित भएको गुरागाईं बताउँछन्।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी भने आन्तरिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताउँछन्। एअरलाइन्सले ट्राभल तथा ट्रेकिङ एजेन्सीप्रति द्वेष सिर्जना गर्ने गरी एकलौटी रूपमा प्याकेज ल्याएको सुवेदीको भनाइ छ।
उद्देश्य विपरीत नजान व्यवसायीको आग्रह
पर्यटन व्यवसायीहरू एअरलाइन्सले टूर प्याकेज बेच्ने काम अधिकार र उद्देश्यभित्र नपर्ने बताउँछन्। हुन पनि प्रबन्धपत्र, नियमावली तथा विवरण पत्र अनुसार, एअरलाइन्सले टिकट मात्र बेच्न पाउँछन्, भ्रमण प्याकेज बनाउन पाउँदैनन्।
नेपाल पर्यटन बोर्डका सदस्य तथा पदयात्रा व्यवसायी दीपक महत कानूनले सबै व्यापार–व्यवसायको आ-आफ्नो दायरा तोकेको भन्दै एअरलाइन्सले टूर प्याकेज बेच्नु अवैधानिक भएको बताउँछन्। उनी भन्छन्, “कुनै पनि पेशा–व्यवसाय कम्पनी रजिष्ट्रारमा दर्ता हुँदा प्रबन्धपत्र नियमावलीमा नै सो कम्पनी सम्बद्ध व्यवसायको प्रकृति खुलाइएको हुन्छ। त्यस विपरीत काम गर्न नमिल्ने भएकाले एअरलाइन्सले टूर प्याकेज बेच्न पाउँदैनन्।”
पर्यटन पुनर्जागृत हुँदा एअरलाइन्स मात्रै नभएर सबै पर्यटन व्यवसाय हुनुपर्ने तर्क ट्राभल तथा टूर व्यवसायीहरूको छ। एउटा व्यवसाय टिक्ने र बाँकीसबै विस्थापित हुन नहुने उनीहरू बताउँछन्।
पदयात्रा व्यवसायी महत एअरलाइन्सले प्याकेज बेच्नु गलत नियत भएकाले त्यसो गर्ने हवाई कम्पनीलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताउँछन्।
सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष मधुसूदन उपाध्याय पनि एअरलाइन्सले ग्राहक आकर्षित गर्न प्याकेज ल्याउनै नपाउने भन्ने नहुने तर ट्राभल र टूरसँग सहकार्य नगरी बेच्न नपाउने बताउँछन्। “एअरलाइन्सले प्याकेज ल्याइसकेका छन्, यो प्याकेज पनि ट्राभल एजेन्सीबाट टिकट जसरी नै निश्चित प्रतिशत कमिसन राखेर आपसी सहकार्य गर्न सकिन्छ”, उनी भन्छन्।
होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह अहिले महामारीका कारण सीमित व्यापार भएकाले यस्तो गुनासो आएको बताउँछन्। “सामान्य अवस्थामा वा छेलोखेलो व्यापार भएको अवस्था हुन्थ्यो भने जसले जे गरे पनि वास्ता हुने थिएन”, शाह भन्छन्, “अहिले केक सानो भएको तर खाने मान्छे धेरै भएकाले गुनासो देखिएको हो।”
एअरलाइन्सले ट्राभल/टूर प्याकेज बेच्दा सोही कामको लागि अनुमति पाएका कम्पनीले के गर्ने भन्ने प्रश्न जायज हुँदाहुँदै खुला बजार अर्थतन्त्रमा कानूनी दायराभित्र बसेर सबैले व्यवसाय गर्न पाउनुपर्ने शाहको तर्क छ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा पर्यटनविद् दीपकराज जोशी व्यावसायिक छाता संस्था बोर्डमै समन्वयको पाटो कमजोर भएर अहिले व्यावसायिक असन्तुष्टि देखिएको हुनसक्ने बताउँछन्। व्यावसायिक संस्थासँग समन्वय गर्ने, आन्तरिक भ्रमण अभियान चलाउने, प्याकेजको प्रवर्द्धन गर्ने, भ्रमणको वातावरण बनाउने र सहजीकरण गर्ने काम पर्यटन बोर्डको भएकाले त्यसै अनुसार काम हुनुपर्ने उनी बताउँछन्।
उनी हरेक व्यवसायको आ-आफ्नो रणनीति हुने भएकाले निजी क्षेत्रका सबै व्यवसायले नयाँ अवधारणा ल्याउन सक्ने तर्क राख्छन्। “खुला अर्थतन्त्रमा प्रतिस्पर्धा जसले गर्न सक्छ, उसैलाई उपभोक्ताले विश्वास गर्ने हो, यसैले एउटाले गरेको काममा अर्कोले किन भनेर प्रश्न गर्न पाइँदैन”, जोशी भन्छन्।
बोर्डको समन्वयमा ६८ वटा प्याकेज
नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका व्यावसायिक संस्थाहरूको समन्वयमा विभिन्न ६८ वटा पर्यटकीय गन्तव्यको प्याकेज तयार पारेको छ। बोर्डका सीईओ डा. धनञ्जय रेग्मीका अनुसार, बोर्डले समन्वय गरेर तयार पारेका यस्ता प्याकेज सबै निजी क्षेत्रका पर्यटन व्यवसायीले बेच्ने गरी बनाइएको छ।
उनी भन्छन्, “काठमाडौं, पोखरा, चितवन र लुम्बिनी मात्रै नभएर नयाँ गन्तव्यमा जानुपर्ने व्यवसायीहरूको माग अनुसार प्याकेज बनाइएको हो।” ती प्याकेजको लागि उपयुक्त दर राख्ने र बिक्री गर्ने काम भने निजी क्षेत्रकै भएकाले प्याकेजलाई अन्तिम रूप दिन उनीहरूलाई जिम्मा दिइएको बोर्डले बताएको छ।
सात वटै प्रदेशलाई समेट्ने गरी प्याकेज बनाउन लागिएको पर्यटन व्यवसायीहरू बताउँछन्। नाट्टाका अध्यक्ष गुरागाईं व्यवसायीले ल्याउने प्याकेज सबै कम्पनीमा जाने र त्यो प्याकेजमा न्यूनतम १० प्रतिशत कमिशन राखेर बिक्री गरिने बताउँछन्।
“भ्रमणमा जाँदा ट्राभल एजेन्सी मार्फत मात्रै जानुपर्ने व्यवस्था गर्न लागिएको छ, जसले गर्दा ट्राभल, ट्रेकिङ, होटल, पर्यटक सवारी, एअरलाइन्स सबैलाई लाभ हुन्छ”, गुरागाईं भन्छन्, “यो प्याकेज सञ्चालनमा आएपछि अहिले एअरलाइन्सले ल्याएको प्याकेज आफैं निस्क्रिय हुनेछ।”
बोर्डका सीईओ रेग्मी पर्यटनका नयाँ गन्तव्यको खोजी गर्ने, प्रवर्द्धन गर्ने तथा कोरोना कहरका कारण थलिएको आन्तरिक पर्यटन चलायमान बनाउने जिम्मा सबै क्षेत्रको भएको बताउँछन्। अहिले एअरलाइन्स कम्पनीले ल्याएका प्याकेजमा पनि बोर्डको सहमति नै छ।
“पर्यटकीय गतिविधि चलायमान बनाउन सबै क्षेत्रले आफ्नो तर्फबाट सकेजति पहल गर्ने हो”, सीईओ रेग्मी भन्छन्, “एअरलाइन्सले आफ्नो तर्फबाट पहल गर्न ल्याएको प्याकेजलाई निजी क्षेत्रका व्यवसायीले विरोध मात्रै गर्न भएन।” रेग्मी भन्छन्। एअरलाइन्सले जस्तै अब अन्य क्षेत्रले पनि विकल्प खोज्दै पर्यटनलाई पुनर्जागृत गराउन लाग्नुपर्ने उनी आह्वान गर्छन्।
ट्राभल र टूर व्यवसायीहरूले विरोध गरिरहँदा यती एअरलाइन्सले भने कमिशन दिने गरी नै प्याकेज ल्याएको दाबी गरेको छ। व्यावसायिक सिद्धान्त अनुसार एजेन्सीले नै प्याकेज बेच्ने र अहिले प्याकेज नै सस्तो भएकाले कमिसन थोरै देखिएको यती एअरका सीईओ रिमाल बताउँछन्।
एअरलाइन्सले उद्देश्य विपरीत प्याकेज बिक्री गरेको भन्दै व्यवसायीहरूले आरोप लगाइरहेको विषयमा पर्यटन मन्त्रालयले सम्बोधन गर्ने तयारी गरेको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ बताउँछन्। मन्त्रालयले ८ असोजमा ‘पर्यटन क्षेत्रको पुनरुत्थान प्रभावकारी बनाउने कार्यक्रम’ बनाउने निर्णय गरेको छ। “त्यही कार्ययोजनाबाट पर्यटन क्षेत्रका व्यावसायिक समस्या र गुनासोको सम्बोधन हुनेछ”, तामाङ भन्छन्।