लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताएका छन् ।
त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने उनले बताए ।
लुम्बिनीमा लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफल गर्दै मन्त्री खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने तर सबै खर्च सरकारले तीन वर्षभित्रै उपलब्ध गराउन नसक्ने बताए ।
“विश्वको ध्यान लुम्बिनीतर्फ आकर्षिक गर्न यहाँ विश्व समुदायकै सहयोग आवश्यक छ”, उनले भने ।
संविधानले व्यवस्था गरेअनुसार मौलिक हक कार्यान्वयनमै राज्यको ठूलो रकम खर्च हुने भएकाले पहिलो प्राथमिकता त्यसलाई दिइने मन्त्री खतिवडाको भनाइ छ ।
मन्त्री खतिवडाले स्रोतको सीमाभित्र रहेर योजना बनाउन र विवादरहित ढङ्गले सक्रियतापूर्वक काम गर्न कोषलाई आग्रह गरे ।