१५ असोजदेखि अन्तर्राष्ट्रिय वायुुसेवालाई मागेजति उडान, आन्तरिक वायुसेवाको तालिका पनि ५० प्रतिशत पुग्यो
हाल सातामा एउटा मात्र उडान गरेका अन्तर्राष्ट्रिय वायुसेवाले १५ असोजदेखि दैनिक उडान गर्न पाउनेछन्। २५ प्रतिशत मात्र उडान तालिकाको स्वीकृति पाएका आन्तरिक वायुसेवाले पनि अब ५० प्रतिशत उडान गर्न पाउने भएका छन्।
१५ असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या बृद्धि हुने भएको छ। हाल अन्तर्राष्ट्रिय वायुसेवाले सातामा एउटा मात्र उडान गरेकोमा १५ असोजदेखि दैनिक एउटा (हप्तामा सातैवटा) उडान गर्न पाउने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतकाे त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी अहिले स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको उडानलाई नै बढाउने बताउँछन्। यात्रुको सहजताका लागि हवाई उडान सहज बनाउन थालिएको उनले बताए।
विस्तारै बन्दाबन्दी अगाडिकै लयमा फर्काउन सरकारले दिएको उडान अनुमतिलाई कार्यान्वयन गर्दै आवश्यक व्यवस्था मात्रै विमानस्थलले मिलाएको केसी बताउँछन्। उनले भने, ‘‘अहिले उडान थोरै हुँदा सहज व्यवस्थापन छ र स्वास्थ्य मापदण्ड पालना गर्न सकिएको छ। यसलाई कायम राख्न भने चुनौति भने हुने छ।’’
नेपालमा उडान गरिरहेका विभिन्न ३० वायुसेवाले दैनिक ५३ वटा उडान गर्ने गरेकोमा कोरोना महामारिपछि यस्तो उडान शून्यसम्म झरेको थियो। दैनिक १५ देशका ३२ गन्तव्यको लागि हुने उडान ९ चैतदेखि रोकिएको थियो।
अन्तर्राष्ट्रिय नियमित उडान सरकारले १७ भदौदेखि खुला गरेसँगै उडान तालिका बढाउँदै लगिएको र सहजीकरण हुन थालेको छ। यसबाट नेपालमा पर्यटन आगमन पनि शुरु हुने र विभिन्न देशमा रहेका नेपालीको माग अनुसारको उडान संख्या बढ्ने छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेल यसले हवाई उडान सहज हुँदै गएको सन्देशसमेत प्रवाह हुने बताउँछन्।
सरकारले १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि १० देशका १४ वटा वायुसेवामध्येबाट दैनिक ३ वटासम्म मात्रै उडान हुँदै आएको थियो । यस्तो उडानमा स्वदेशी र विदेशी वायुसेवालाई आलोपालो गरिएको थियो। प्राधिकरणले १५ असोजपछि जारी गरेको उडान तालिका अनुसार दैनिक १० देशका १४ वायुसेवलाई दैनिक १४ वटा नै उडान गर्न दिइने उल्लेख छ।
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्ने र ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट ल्याएका यात्रुलाई नेपाल आउन दिएको छ। १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्थालाई पनि सहजीकरण गर्दै जाने प्राधिकरणका महानिर्देशक पाेखरेल बताउँछन्।
प्राधिकरणले १५ असोजपछि जारी गरेको उडान तालिका अनुसार दैनिक १० देशका १४ वायुसेवलाई दैनिक १४ वटा नै उडान गर्न दिइने उल्लेख छ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)अध्यक्ष अच्चुत गुरागाईंले भने नेपाली पर्यटन व्यवसायीले क्वारेन्टिन बसाइ सहज गर्न माग गर्दै आएकाे भएपनि सरकारले अहिलेसम्म नसुनेकाे बताए। गुरागाईंले भने, ‘‘नेपाल आएका पर्यटकलाइ सहजीकरण गर्न व्यवसायीले तीन दिनको क्वारेन्टिन बसे पुग्ने व्यवस्था लागू गर्न माग गरिरहेका छन्।’’
नेपाली नागरिकलाई भने ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको अवस्थामा तत्कालै घर जान पाउने व्यवस्था छ। पीसीआर रिपोर्ट नभएको अवस्थामा एक साता होटल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ।
दैनिक १५ अन्तर्राष्ट्रिय उडान, कुन वायुसेवाको कति ?
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सातामा एक वा दुई वटा मात्रै उडान गर्ने वायुसेवाले १५ असोजदेखि दैनिक एक उडान सञ्चालन गर्नेगरी तालिका स्वीकृत भइसकेको बताए।
दैनिक उडान स्वीकृत भएका वायुसेवामा संयुक्त अरब इमिरेट्स (युएई)को शारजाँहबाट आउने एअर अरेबिया, युएईकै दुबईबाट आउने फ्लाई दुबई, कुवेतको जजिरा, मलेसियाको मलिन्दो, कतारको कतार एअरवेज रहेका छन्।
यस्तै, ओमानको मस्कटबाट आउने सलामले पाँच वटा, कोरियाको कोरियन एयअरले सातामा चारवटा, टर्कीको इस्तानबुलबाट आउने टर्कीस एअरले तीन वटा र क्वालालम्पुरबाट आउने मलेसियन एअरले सातामा पाँच वटा उडान गर्ने भएका छन्।
चीनको एअर चाइनाले चेन्दु र ग्वान्झाओबाट आउने चाइना साउदर्नले साताको एक-एक वटा मात्रै उडान गर्ने छन् भने हङकङको क्याथे ड्रागनले भने आइतबारको लागि कार्गो उडान गर्ने गरी उड्डयन प्राधिकरणबाट उडान तालिका स्वीकृत गराएका छन्।
नेपालबाट उडान गर्ने नेपाल वायुसेवा निगमले भने दोहा, क्वालालम्पुर र दुबईमा सातै दिन एक-एक उडान गर्ने छ। निगमले साताभरमा जापानको नारिता तथा हङकङ दुई-दुई र चीनको ग्वान्झाओमा एक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तालिका स्वीकृत गराएको छ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार उडान तालिका स्वीकृत गरिरहेको भएपनि सबै गन्तव्यमा उडान गर्न तत्कालै जहाज अभाव छ। निगमको एउटा वाइडबडीमा प्राविधिक समस्या देखिएर मर्मत भइरहेकोले १० दिनलाई अर्को तालिका स्वीकृत गराएको जानकारी पनि खड्काले दिइन्।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले पनि हाल सातामा दुईवटा मात्रै उडान अनुमति पाएको गन्तव्यमा दैनिक एक उडान गर्ने भएको छ। हिमालयले दोहा र आबुधाबी सातै वटा, क्वालालम्पुर साताको पाँच वटा र चीनको चोङचिङ भने सातामा एक मात्रै उडान गर्ने गरी तालिका स्वीकृत गराएकाे प्राधिकरणले हिमालखबरलाइ उपलब्ध गराएकाे उडान तालिकामा उल्लेख छ।
कोभिड अगाडिको उडान अवस्था अनुसार २५ प्रतिशत मात्रै उडान तालिका पाएका आन्तरिक उडानका वायुसेवा कम्पनीले भने १५ असोजदेखि ५० प्रतिशत उडान गर्न पाउने भएका छन्। यस्तो उडानबाट हालको तालिका दोब्बर हुने प्राधिकरणले जानकारी दिएको छ।