निजी मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू
पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरूको निर्णय कार्यान्वयन नगर्न/नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
निजी मेडिकल कलेजहरूले आरटी पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय गरेको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन मन्त्रालयले अनुरोध गरेको हो। लक्षण नै नभएका विद्यार्थीलाई परीक्षण गराउनु अवैधानिक भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
“यो निर्णयलाई वैज्ञानिक आधारले पनि पुष्टि गर्दैन। स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएका बाहेक अन्य व्यक्तिको आरटी पीसीआर गराउनु अवैधानिक छ”, प्रवक्ता गौतमले भने, “त्यसकारण लक्षण नभएका कुनै पनि विद्यार्थीलाई आरटी पीसीआर गरेर मात्रै परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अनुरोध गर्दछौं।”
यस्तै, मन्त्रालयले कोरोना परीक्षणको नतिजा जे आएपनि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन भनेको छ। यसअघि सबै प्रयोगशालालाई परीक्षणको रिपोर्ट नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई र पोजिटिभ आए इपिडिमियोजोली तथा सरुवा रोग महाशाखालाई जानकारी गराउन भनिएको थियो।
यसअघि सबै बिरामी स्वास्थ्य संस्थामा रहेका हुनाले त्यसो गरिएकोमा पछिल्लो समय होम आइसोलेसनमा पनि बसिरहेकाले सम्बन्धित व्यक्तिलाई नै जानकारी गराउन प्रवक्ता गौतमले सबै प्रयोगशालालाई अनुरोध गरे।
मन्त्रालयले काठमाडौं उपत्यका, मोरङ, चितवन, सुर्खेतलगायतका क्षेत्रमा संक्रमणदर उच्च देखिएको भन्दै ६० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कम भएका, क्यान्सर र मिर्गौलाका बिरामीलाई घरबाहिर ननिस्कन भनेको छ। निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न र स्यानिटाइजरको प्रयोग गर्न अपील गरेको छ।