हावाहुरी प्रभावित क्षेत्रमा विशेषज्ञ टोली परिचालन
बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा थप स्वास्थ्य समस्या हुन नदिन सरकारले विशेषज्ञ डाक्टर सहितको टोली परिचालन गरेको छ ।
प्रभावित क्षेत्रमा औषधि उपचारमा समस्या हुन नदिन केन्द्रीय स्तरबाट व्यवस्थापन र समन्वयका लागि विशेषज्ञ डाक्टर सहितको तीन छुट्टा छुट्टै टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
६ जना डाक्टर तथा जनस्वास्थ्यका विशेषज्ञहरूको टोली १९ चैतमै बारा पुगेको छ ।
व्यवस्थापन तथा समन्वय टोली प्रमुखको रूपमा बारा पुगेका स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.दीपेन्द्ररमण सिंहले हिमालखबरसँग कुरा गर्दै नारायणी उपक्षेत्रीय अस्पतालमा अस्थायी ‘हेल्थ इमर्जेन्सी सेन्टर’ स्थापना गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
सेन्टर मार्फत अन्य विभिन्न अस्पतालमा उपचार भइरहेका घाइते बिरामीको सूचना लिने र अभाव भएको विषयमा समन्वय गरेर काम गर्ने डा.सिंहले बताए ।
सेन्टरमा सिंह सहित स्वास्थ्य मन्त्रालयका चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू भएको चार जनाको टोली खटिएको छ ।
मन्त्रालयका प्रवक्ता श्रेष्ठ मन्त्रालयबाट खटिएको टोलीले अभाव भएका ठाउँमा औषधि कसरी पुर्याउने, खानेकुरा र पिउनेपानीको अभाव भएको ठाउँमा कसरी त्यसको व्यवस्था गर्ने भनेर समन्वय गरिरहेको बताए ।
उनले मन्त्रालयले घाइतेहरूको उपचारबारे अनुगमन गर्न आज हाडजोर्नी, नसा रोग लगायतका थप विशेषज्ञ चिकित्सकहरूको टोली घटनास्थलमा पठाउने तयारी भइरहेको बताए ।
“टोलीले उपचारमा भइरहेको अभावपूर्ति गर्न विभिन्न अस्पताल र निकायबीच समन्वय गर्नेछ” उनले भने, “केन्द्रबाट थप कुनै सहयोग आवश्यक परेमा परिचालन गर्ने गरी टोली ‘स्ट्याण्डबाई’ राखिएको छ ।”
आज स्वास्थ्य र पोषण हेर्ने विज्ञहरूको टोलीको बैठक बस्ने र स्वास्थ्य उपचार र खानेकुरा आवश्यकता भएको ठाउँको पहिचान गर्ने पनि उनले बताए ।
घटनास्थलबाट स्वास्थ्य उपचारका लागि नेपाल आर्मी, नेपाल प्रहरी, हेटौंडा अस्पताल लगायतका ठाउँबाट ६ वटा चिकित्सकहरूको टोली घाइतेको उपचारमा खटेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घाइतेको उपचारका लागि पथलैयामा रहेको केन्द्रीय स्टोरबाट आवश्यक औषधिको व्यवस्था मिलाएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव लगायतको टोली १८ चैतमै प्रभावित स्थल पुगेर घाइतेहरूको अवस्था बारे जानकारी लिएको थियो ।
घटनास्थलमा महामारीको डर
चिकित्सकहरूले बारामा महामारी फैलन सक्ने डर भएकोले सजग हुन आग्रह गरेका छन् ।
हावाहुरीका कारण खानेपानी आपूर्ति हुने ठाउँ बन्द भएको छ । राम्रो बस्ने ठाउँ, स्वच्छ खानेकुरा, पिउनेपानी लगायतको अभाव र सरसफाइको कमीले महामारी फैलन सक्ने डर भएको चिकित्सकहरू बताउँछन् ।
प्रमुख जनस्वास्थ्य प्रशासक समेत रहेका मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, “घटनास्थलमा महामारी फैलन सक्ने सम्भावना छ । त्यसैले विशेषज्ञहरूको टोली परिचालन गरेर तत्काल निम्तिन सक्ने जोखिम कम गर्ने गरी काम भइरहेको छ ।”
मन्त्रालयबाट घटनास्थलमा खटिएका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेककुमार लाल घाइतेहरूमा लागेको घाउ–चोटको अवस्था, उनीहरूले प्रयोग गरिरहेको पानीको स्रोत कस्तो छ भन्ने आधारमा महामारी फैलिन सक्ने वा नसक्ने भन्ने विषय निर्धारण हुने बताउँछन् ।
डा.लाल पानीका स्रोत दूषित भएमा झाडापखाला, आउँ जस्ता पानीजन्य रोग र खाल्डामा जमेको पानीका कारण लामखुट्टेको टोकाइबाट औलो रोग लाग्न सक्ने सम्भावना रहेको बताउँछन् ।
विभिन्न जिल्लामा मन्त्रालयले ¥यापिड रेस्पोन्स टीमको स्थापना गरे पनि जनशक्ति अभाव भएकोले सञ्चालन हुन सकिरहेको छैन ।
डा.लाल भन्छन्, “बारामा पनि उक्त टीमको आवश्यकता भएकाले आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन र समन्वयका लागि हामी खटिएका छौं ।”
स्वास्थ्य मन्त्रालयका अनुसार हावाहुरीका कारण बारा र पर्सामा गरी ४०० भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्जको तराई अस्पताल, कलैया अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल, वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
यस्तै, घाइतेहरूलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याएर समेत उपचार भइरहेको छ ।