भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन
भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक सदस्य तथा भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। ८२ वर्षीय सिंह ६ वर्षदेखि बिरामी थिए।
उनी सन् २०१४ मा ‘बाथरुम’ मा लडेका थिए। त्यति वेला टाउकोमा गम्भीर चोट लागेका उनी कोमामा थिए।
राजस्थानको बाडमेरका सिंहले अटलबिहारी वाजपेयी सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी पाँचपटक राज्यसभा र चारपटक लोकसभा सदस्यमा निर्वाचित भएका थिए। कुनै समय उनी भारतीय सेनाको मेजर पनि थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। उनले लेखेका छन्, “जसवन्त सिंहले पूरै लगनका साथ पहिला सैनिकका रुपमा र पछि राजनीतिमा जोडिएर हाम्रो देशको सेवा गरे। अटलजीको सरकारमा अति महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारी सम्हालेर विश्वमा नै बलियो छाप छाडे। उनको निधनबाट दुखी छु।”