२०७६ सालको पद्मश्री पुरस्कार ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई
२०७६ सालको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ। त्यस्तै पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने घोषणा भएको छ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिष्ठानको उक्त निर्णय सार्वजनिक गरेका छन्। “हंस उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन्”, लामिछानेको विज्ञप्तिमा उल्लेख छ।
विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार प्रश्रितलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। “उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन्”, लामिछानेले उल्लेख गरेका छन्।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि रु.३ लाख छ। २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्छ। त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिंदै आएको छ।
दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ। तर, यो वर्ष कोरोनाभाइरस महामारीको विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा प्रदान गरिने लामिछानेले उल्लेख गरेका छन्।