चीनसँगको सीमा यकिन गर्न सरकारी टोली पठाउन हुम्लाका स्थानीय राजनीतिक दलहरूको आग्रह
चीन र नेपालबीचको सिमाना यकिन गर्न नेपाल सरकारलाई प्राविधिकसहितको विज्ञ टोली पठाउन हुम्लाका राजनीतिक दलहरुले आग्रह गरेका छन्।
पछिल्लो केही महीनायता चीन सरकारले नाम्खा गाउँपालिका ६ को लाप्चा क्षेत्रमा ९ वटा नयाँभवन निर्माण भएको भूमि नेपालको भएका विषयमा समाचार प्रकाशमा आएपछि जिल्लाका राजनीतिक दलहरुले यस्तो आग्रह गरेका हुन्।
“सिमाना विवादका विषयमा बाहिर आएका कुरालाई वैज्ञानिक ढंगले यकिन गर्न नेपाल सरकारलाई जिल्लाका सबै राजनीतिक दलहरुको तर्फबाट आग्रह गर्ने निर्णय भयो”, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय भण्डारीले भने, “कहिले नेपाली सिमानामा चीनले भवन बनाएको भन्ने, कहिले सिमानामा राखिएका पिल्लर हरायो भन्ने विषय आइरहनु भन्दा सरकारले विज्ञ र प्राविधिक टोली पठाएको खण्डमा सधैंका लागि यकिन होला भन्ने ध्येयले हामीले यस्तो आग्रह गर्ने निचोडमा पुगेका हौं।”
सीमा क्षेत्रको अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको जिल्लाका सुरक्षा अधिकारीको टोलीले समेत यकिन खबर नल्याएकोले सिमानाको वास्तविक अवस्था पत्ता लगाउन जिल्लाका राजनीतिक दलहरुले सरकारलाई विज्ञ टोली पठाउन आग्रह गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए। “भोग चलनको आधारमा लोलुङजोङमा चीनले भवन निर्माण गरेको भू–भाग नेपालकै जस्तो देखिन्छ” शाहीले थपे, “नेपाल र चीन सरकारले संयुक्त रुपमा सन् १९८२ मा सार्वजनिक गरेको नक्शाका आधारमा उक्त क्षेत्र चीनकै हो भन्ने देखिन्छ, यस्तो द्विविधालाई सरकारी तवरबाटै नागरिकमा परेको भ्रम चिर्नका लागि भए पनि सरकारले विज्ञ टोली सीमा क्षेत्रमा पठाएर वास्तविकता बाहिर ल्याउनुपर्छ।”
सिमकोटमा आयोजना गरिएको सर्वदलीय बैठकले सरकारलाई दलीय र सरकारी संरचनागत रुपमा पनि प्राविधिकसहितको विज्ञ टोली पठाउने निष्कर्ष निकालेको छ। २०५८ सालदेखि तत्कालीन लिमी गाविसले 'आफ्नो गाउँ आफैं बनाउँ' कार्यक्रमको एक लाख रकम खर्च गरेर लोलुङजोङ भन्दा साढे दुइ किलोमिटर उत्तरबाट बाटो निर्माण गरेको उल्लेख गरेका पूर्व जिल्ला विकास समिति सभापति वीरजङ्ग शाहीले नेपाली भूभाग नभएको भए चीनले त्यसरी आफ्नो भूभागमा बाटो निर्माण गर्न नदिने भएकाले पनि उक्त भूभाग नेपालकै हुनुपर्ने दाबी गरे।
नाम्खाका स्थानीय नागरिकले गरेको प्रयोगका आधारमा उक्त भूमि नेपाली क्षेत्रमै हुने भए पनि नक्शाका आधारमा चीनको देखिएको उल्लेख गरेका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले सीमा यकिन गर्न प्राविधिक सहितको विज्ञ टोलीलाई पठाउन सरकारसँग आफूले पनि आग्रह गर्ने काम गरेको जानकारी दिए।
सीमा विवाद आएको नाम्खा गाउँपालिका ६ को वडा, नाम्खा गाउँपालिका र जिल्ला समन्वय समिति हुम्लामार्फत जिल्लाकै तर्फबाट सरकारलाई आधिकारिक रुपमा विज्ञ टोली पठाउन आग्रह गर्ने निर्णय भएको छ।
जिल्ला सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत अवस्थाको बारेमा जिल्लामा कुनै जानकारी नदिएपछि जिल्लाका राजनीतिक दलहरु आफैंले यस्तो पहल चालेका हुन्।