प्रयोगशाला थपिए पनि कोरोना परीक्षण बढेन: ५५ वटा प्रयोगशालामा दैनिक औसत १० हजार मात्रै पीसीआर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको कुल संख्या ७१ हजार ८२१ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १२०७ संक्रमित थपिएका छन्।
मुलुकमा शनिवारसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ र निको हुने व्यक्तिको संख्या ५३ हजार १३ पुगेको छ।
शनिवार एकैदिन १२०७ जना संक्रमित फेला पर्दा पछिल्लो २४ घण्टामा जम्मा १० हजार १९ जनाको मात्र कोरोना परिक्षण भयो।
१० असोजको मात्र कोरोना संक्रमितहरूको संख्याका आधारमा मुलुकमा कोरोनाको संक्रमणदर १२ प्रतिशत छ। पछिल्ला दिनहरूमा कोरोनाको संक्रमणदर १० प्रतिशत भन्दा बढी नाघिसकेको छ।
संक्रमण दर बढ्दो छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशाला पनि थपिरहेको छ, तर कोरोनाको परीक्षण भने बढ्न सकेको छैन।
स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि ७ असोजमा ८ प्रयोगशाला थप्यो। त्यसअघि मुलुकमा कोरोना परीक्षण गर्ने प्रयोगशालाको संख्या ४७ भएकोमा ८ ल्याब थपिएका हुन्। यससँगै मुलुकमा कोरोना परीक्षण गर्ने प्रयोगशालाको संख्या ५५ पुगेको हो। तर दैनिक कोरोना परीक्षण औसत १० हजार मात्र छ।
विज्ञहरूले मुलुकमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएको अवस्थामा थप संक्रमित पहिचान गर्नका लागि परीक्षण दर बढाएर दैनिक न्यूनतम २० हजार पुर्याउनु पर्ने बताउँदै आइरहेका छन्।
मुलुकमा भएका ५५ प्रयोगशालाको दैनिक कोरोना परीक्षण गर्ने क्षमता ३० हजार भन्दा बढी छ। तर अहिले ५५ प्रयोगशालाको क्षमतामध्ये जम्मा ३३ प्रतिशतको मात्र उपयोग भइरहेको छ।
बाँकी ६७ प्रतिशत प्रयोगशाला क्षमता अनुसार कोरोना परीक्षणको काम नै हुन सकेको छैन। ५५ मध्ये सरकारी प्रयोगशालाको संख्या ४० छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको माइक्रोबायोलोजी विभागका उप–प्राध्यापक डा. रञ्जित साह अहिलेको कोरोना परीक्षण पर्याप्त नभएको र यसले भित्रभित्र संक्रमितको संख्या बढाउने जोखिम रहेको बताउँछन्।
“परीक्षण बढाएनौँ भने संक्रमणदर बढ्छ, अहिलेको अवस्थामा पर्याप्त कोरोना संक्रमित नै पहिचान गर्न सकिएको छैन,” डा. साह भन्छन्, “कोरोनालाई निर्मुल पार्नका लागि कट्याक्ट ट्रेसिङ र परीक्षण बढाउनै पर्छ।”
उनी सरकारी स्तरमा सञ्चालन भएका प्रयोगशालाको संख्या ४० पुगिसक्दा पनि कोरोना परीक्षण बढ्न नसक्नु दुर्भाग्यपुर्ण भएको बताउँछन्।
“प्रयोगशालाको क्षमता हुँदाहुँदै पनि परीक्षणलाई अड्काएर राखिएको छ”, उनी भन्छन्, “सरकारले प्रयोगशालामा जनशक्ति र अन्य आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न सकेको देखिएन।”