आफ्नो दललाई नबाेलाएपछि गाउँपालिकामा तालाबन्दी
गाउँपालिकाले आफ्नो दललाई कुनै पनि निर्णयमा सहभागी नगराएको भन्दै नेपाली काङ्ग्रेसले पर्वतको महाशीला गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
यस अगाडि ध्यानाकर्षणपत्र बुझाउँदै निर्णय प्रक्रियामा सहभागी गराउन माग गरेको काङ्ग्रेसले सोमबारदेखि कार्यालयमा तालाबन्दी गरेको हो ।
काँग्रेसले चरणवद्धरूपमा आन्दोलन गरेपछि सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको स्थानीय नेता उज्ज्वल गुरुङले बताए ।
गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मङ्गलबार पुनः छलफल गर्ने तयारी भए पनि तालाबन्दी गरेको बताए ।