१३ नम्बर पिलर निरीक्षण गर्न सीमा क्षेत्रमा सरकारी टोली
चीनसँगको सीमावर्ती क्षेत्रमा रहेको १३ नम्बर पिलर निरीक्षण गर्न सरकारी टोली सीमा क्षेत्रतर्फ प्रस्थान गरेको छ। नेपाल र चीन सीमामा रहेको १३ नम्बर पिलरबारे बिवाद बढेपछि निरीक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी केशब ज्ञवाली, शसस्त्र प्रहरी निरिक्षक खुमबहादुर केसी, मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामासहित १४ जनाको टोली बिहीबार उक्त क्षेत्रतर्फ गएको हो।
हुम्ला र तिब्बतको सीमा पिलरबारे बिवाद देखा परेपछि त्यसबारे सत्य–तथ्य तथा हालको स्थिती बुझ्न सहायक प्रजिअ ज्ञवालीको नेतृत्वमा टोली तिब्बत सीमा क्षेत्रमा खटाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।
मुगुको चिनसंगको सीमा क्षेत्रमा रहेको एक मात्र १३ नम्बर पिलर पहिलेकै स्थानमा छ कि यताउता सारिएको छ, त्यो सबै कुरा बुझेर टोलीलाई रिर्पोट ल्याउन भनिएको छ।
“सदरमुकाम गमगढीदेखि सीमा क्षेत्र पुग्न ४ दिन र फर्किन ४ दिनको पैदल यात्रा गर्नुपर्छ। त्यस क्षेत्रमा संचारको कुनै पहुँच नहुँदा टोलीसंग सम्पर्क हुन सकेको छैन”, प्रजिअ निरौलाले भने। हरेक बर्ष उक्त पिलरको अवस्था बुझ्न जिल्लाबाट नियमित रुपमा टोली त्यसतर्फ पठाइने गरेको उनले बताए।
उक्त टोलीले सीमासंग जोडीएका तिब्बती जनप्रतिनिधिलाई भेटेर पिलर तथा सुरक्षा अवस्था बारे छलफल र ब्यापार आदानप्रदान बारे परामर्श पनि गर्ने भएको छ।
मुगु सीमा पिलर निरिक्षणमा खटिएको टोलीले सिमा क्षेत्र मुगु गाउँमा शसस्त्र क्याम्प स्थापनाको लागि उपयुक्त स्थान र जग्गाको बारे टुंगो समेत लगाएर फर्किने भएको छ। मुगु र तिब्बत सीमा क्षेत्र सुरक्षार्थको लागि अहिलेसम्म शसस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छैन।
बिगतका बर्षमा सीमा क्षेत्रमा रहेको मुगु गाउँमा रहेको प्रहरी चौकीले नेपाल र तिब्बत सीमाको बारेमा सामान्य सुरक्षा प्रदान गर्दै आएको छ।
सीमा निरिक्षणको लागि गएको टोलीले सिमावर्ती गाँउ मुगुमा शसस्त्र प्रहरीको सीमा सुरक्षा बल राख्न आवश्यक भौतिक पूर्वाधार बनाउन चाहिने जग्गा पनि खोज्ने योजना समेत रहेको छ।
सीमामा स्थायी सुरक्षा नहुँदा चोरी सिकारी, बहुमूल्य जडिबुटी र वन्यजन्तुहरु चीनतर्फ अवैध व्यापार पनि हुने गरेको छ।