केरुङ नाकाबाट सामान भित्र्याउन नसक्दा व्यापार घट्यो
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दी र निषेधाज्ञा लागू हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो। पछिल्लो एक महीनायता बजार खुलाइए पनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शून्य रहेको व्यवसायीहरूको गुनासो छ। खासगरी चीन तर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरू बताउँछन्।
चाडपर्व नजिकिँदै छ। व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो। दशै तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ। त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका बस्तुहरूको आयात पनि धेरै नै गरिएको हुन्छ। तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनैपनि समाग्री भित्रिन सकेको छैन्। जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ।
बजारका व्यापारीहरू पनि मालबस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन्। खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ। तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरूले बताएका छन्। बजारमा प्रयाप्त सामग्री नहुँदा बजार भाउ पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा व्यवसायीहरू छन्।
काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन्। चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुनसक्ने पनि उनीहरूले बताए। व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरू छन्।
नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढदै जाँदा व्यवसायीहरूले चीनबाट केरुङ नाका हुँदै समान आयात गर्न सकेका छैनन्। केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन्। त्यसको असर नेपाली बजारमा देखिएको हो।
व्यवसायीहरूले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन्। कन्टेनरहरू छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन्।