रौतहटमा एक महिलाको हत्या, श्रीमान् गम्भीर
रौतहटको देवाहीगोनाहीमा एक जना महिलाको खुकुरी र खुँडा प्रहारबाट मृत्यु भएको छ। देवाहीगोनाही नपा ५ टिकुलियाका महेश तिवारी र उनकी श्रीमती जगरामीदेवीमाथि खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गरेपछि महिलाको मृत्यु भएको छ।
शुक्रबार अबेर साँझ स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया, बलिराम मुखियासहित चार जनाको समूहले तिवारी दम्पत्तिमाथि आक्रमण गरेको थियो। आक्रमणमा परेर महेश तिवारी चिच्याउन थालेपछि बचाउन जाँदा उनकी श्रीमती जगरामीदेवीमाथि पनि आक्रमण भएको थियो।
आक्रमणबाट जगरामीदेवीको मृत्यु भएको छ भने महेश तिवारीको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको तिवारीका आफन्त कृष्णा तिवारीले जनाएका छन्।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले घटनामा संलग्न रहेको भनिएकामध्ये बली मुखियालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएका छन्।
मुखिया र तिवारी परिवारबाट पुरानो विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। घटनाका अन्य आरोपितहरूको प्रहरीले खोजी गरिरहेको छ।