योनी, समाज र सम्बन्ध
केही दिनअघि दुर्गा कार्कीको कथाकृति ‘कुमारी प्रश्नहरू’ पढेपछि मैले उनलाई ‘बोल्ड’ लेखनका लागि बधाई पठाएँ। यी कथाहरू पढ्दा लाग्यो, नेपाली समाजमा अहिले पनि महिलाको यौनिकता, सामाजिक सम्बन्ध, प्रेम आदिबारे १५औं शताब्दीकै मान्यता अघि सारिन्छ।
यी कथा पढ्दा कतिलाई लाग्यो होला, ‘अहिले त नेपाली समाजमा यस्तो हुँदैन नि।’ अनि कसैलाई ‘नेपाली समाज त धेरै परिवर्तन भइसक्यो नि’, भन्ने पनि लाग्यो होला। हो, नेपाली समाजमा धेरै परिवर्तन त भएको छ, नत्र दुर्गा कार्कीले ‘कुमारी प्रश्न’ र सबिना देवकोटाले ‘योनी चियाउँदा देखिएको कुरुप समाज’ लेख्न पक्कै साहस गर्ने थिएनन्।
दुर्गा कार्कीका कथाहरू पढ्दा लाग्यो समाजमा देखेका, भोगेका, सुनेका कुराहरूलाई टपक्क टिपेर, शब्दहरूमा बाँधेर, काटेर, छाँटेर पाठकसामु पस्किएकी हुन्। पेशाले वकिल हुनाले उनले यस्ता घटनालाई शायद नजिकबाट नियालिन्। त्यसैले ‘कुमारी प्रश्न’का कथाहरु हाम्रै वरिपरि, गाउँघरका हुन्। लुकेर छिपेर बसेका।
म आफैं पनि यौन सम्बन्ध, लैंगिक विभेद, प्रेम र घृणा, छोरा पाउने चाहनामा दम्पतीबीच भएका मनमुटाव, त्यसले गर्दा श्रीमतीलाई वचन र हातले कुटेको, श्रीमतीको अगाडि अन्य युवतीसँग सम्बन्ध राखेका धेरै घटना थाहा पाएकी छु। अफसोच, तिनलाई शब्दहरूमा पिरोलेर कथामा लेख्न सकिनँ। तर, आफ्ना अनुभवहरू चाहिं लेख्न सकेकी छु।
दुर्गाका कथाहरू पढेर एक साथीले भने "चेखवको कथा याद आयो।" ‘लाइटर बाल्ने केटा’ले एउटी किशोरीको मनमा आएका प्रेमका भावनालाई मज्जासँग झल्काइरहेको छ। ‘रबिन हुड’ जस्तो मान्छे, निशालाई भेटेपछि सुध्रिन चाहन्छ, असल बन्न चाहने इच्छा छ। तर, अफसोच ऊ चोर बन्न पुग्छ। राति राति ‘टर्च’ बाल्ने केटोले लेखेको चिठी पढेपछि युवतीको मनको व्यथा यसरी पोख्छिन्। “अघिदेखि टिलपिल गरिरहेका आँसु गाला हुँदै थोपा थोपा बनेर भुँइमा झर्यो । अनुहार भित्तातिर लुकाएर मैले आँसु पुछे, तर आँखा ओभाएनन्।” कस्तो मार्मिक !
‘चाउमिन’मा आमा र छोरीलाई छोडेर हिंड्ने बाबुबारे अनेक प्रश्न गरेर हत्तु पार्ने एक बालिकाको कथा छ। आमा छोरीलाई छोडेर हिंडेका बाबु एक दिन कसैलाई थाहा नदिएर गाउँमा पस्छन्।
‘छोरीले होस्टेलमा चाउमिन खाजाको पैसा, छोरीलाई थाहा नै नदिइ तिरीदिन्छन्। पछि छोरीले थाहा पाउँछिन् कि उनलाई चाउमिन ख्वाउने त उनले हेर्न चाहेको बाबा रहेछन्। उनले यो कथामा एक विवश महिलाको कथा दर्शाएकी छिन्।
महिलाहरूलाई श्रीमानले रक्सी खाएर पिट्नु र त्यसलाई समाजले, ‘खासै ठूलो होइन’ भनेर सहन सिकाउनु, नेपाली समाजको चरित्र नै हो। लोग्ने मानिसलाई मन नपरेपछि आफ्नी श्रीमतीलाई ‘अरुसँग सम्बन्ध राखेकी छे। त्यसबाट जन्मेका सन्तान मेरो होइनन्’ भनेर लान्छना लगाइन्छ। ‘लोग्नेले कुटेर स्वास्नी मार्नु’ पनि सामान्य नै मानिन्छ।
तर, स्वास्नीले रक्सी खाने र बारम्बार अपमानित गर्ने लोग्नेलाई ‘मार्नु’ चाहिं घटना बन्छ। ‘फ्यामिली फोटो’मा दुई बालिकाको माध्यमबाट लेखिकाले गलत मान्छेसँग भिडाइ दिंदा दाम्पत्य जीवनमा आउने त्रासदीबारे लेखेकी छिन्। लोग्नेको व्यवहारबाट दिक्क भएर, स्वास्नीले लोग्ने मार्छिन्। आमाले बाबु मारेपछि युवती ‘डिप्रेशनको’ शिकार बन्छिन्। यो कथामा ‘लोग्ने छ र रातो लगाउन पाएकी हुँ’ भन्नको लागि, आफ्नो चरित्रमा जति लान्छना लगाए पनि कतै जाने ठाउँ नभएर सहेर बस्ने महिलाको कथा छ।
‘कुमारी प्रश्नहरू’ मा एक युवतीले मन पराएको केटोले उनीसँग शारीरिक सम्बन्ध राख्न खोज्छ। युवतीले सम्बन्ध राख्न नमान्दा, केटोले अर्कै प्रेमिका खोजिसक्छ। अर्थात् पहिले यौन सम्बन्ध राखेपछि मात्र ‘प्रेम’ बलियो हुन्छ भन्ने पुरुषहरुले बाँड्ने भ्रम यो कथामा देखाइएको छ।
‘कालो चस्मा’ मा चाहिं एक रतन्धो (राति आँखा नदेख्ने) केटाको विवशताको मन छुने कथा छ । विवाह गर्ने भनेर एक केटा युवतीलाई हेर्न आउँदा, उसलाई मन पर्छ । तर कोठाबाट बाहिर निस्कँदा, केटाले केटीको कम्मरमा छुन्छ। केटीले केटालाई बदमास ठानेर ‘रिजेक्ट’ गर्छे। पछि मात्र थाहा पाउँछे केटाको समस्याको बारेमा अनि केटीले भन्छे “अब त पाँच वर्षपछि मात्र बिहे गर्ने।
‘कुमारी प्रश्नहरू’ मा एक युवतीले मन पराएको केटोले उनीसँग शारीरिक सम्बन्ध राख्न खोज्छ। युवतीले सम्बन्ध राख्न नमान्दा, केटोले अर्कै प्रेमिका खोजिसक्छ। अर्थात् पहिले यौन सम्बन्ध राखेपछि मात्र ‘प्रेम’ बलियो हुन्छ भन्ने पुरुषहरुले बाँड्ने भ्रम यो कथामा देखाइएको छ।
मलाई लागेको थियो, ‘अदुवा’ पनि कथाको कुनै शीर्षक हुन्छ? तर, कथा सबै सिद्धयाए पछि लाग्यो, क्या गजब। यौन र यौनिकता, सम्बन्धहरूबारे शब्द नै उच्चारण नगरिकन, यो कथामा युवक र युवतीको ‘प्लाटोनिक’ प्रेम झल्काइएको छ। गोसाइँकुण्ड जाँदा युवकलाई ‘लेक लाग्ने’ समस्या परेपछि एक युवतीले अदुवा खान दिएर सहज बनाएको घटना छ।
गोसाइँकुण्डमा पुगेपछि युवती केही नभनी हराएपछि युवकलाई मनमा ‘कस्तो कस्तो’ हुन्छ। ती युवती फेला परिहाल्छिन् कि भन्ने लागेर दोस्रो चोटि पनि गोसाइँकुण्ड पुग्छन्। ती केटी भेटिन्छिन्। गजब लाग्यो। दुवैको प्रेम देखेर।
विवाहको पहिलो रात संसर्ग हुँदा यदि दुलहीको योनीबाट रगत बगेन भने पहिले नै कसैसँग ‘सम्बन्ध’ भएर कुमारीत्व भंग भइसकेको आक्षेप अहिले पनि लगाइन्छ। त्यसले दुलहीको जीवन नै बर्बाद हुने संभावना हुन्छ। त्यहीकारण एक युवतीले बडो जुक्ति लगाएर विवाहको पहिलो रात ‘योनीबाट’ रगत निस्केको देखाउँछिन्। जबकि उनको सम्बन्ध पहिले नै कसैसँग भइसकेको हुन्छ।
यो कथा पढ्दा मलाई लाग्यो पुरुषको ‘कुमारपन’ जाँच्ने कुनै कसी छैन, तर महिलाको ‘योनी’ को पवित्रता चाहिं जाँच्नुपर्ने कसी भएको समाज छ। यद्यपि अरबका देशमा चाहिं यसरी संसर्ग भइसकेपछि रगत बगेको र टाटो लागेको सेतो तन्ना, कोठा बाहिर झुण्ड्याउने चलन छ। रगतको टाटो देखेपछि घरका मान्छेलाई ढुक्क हुन्छ, नयाँ आएकी बुहारी त अक्षत योनी कि रहिछ।
‘रगत’ नामको कथा पढ्दा मलाई अरबको केटीहरूको पहिलो रातको घटनाका कहानी याद आयो। अरुलाई देखाउनलाई महिलाको योनीको पवित्रता, कतिले त कुखुरा मारेर त्यसको रगत सेतो तन्नामा लगाइदिन्छन्। यो कथामा पनि एक किशोरीलाई स्कूलका शिक्षकले बलात्कार गर्छन्। शिक्षक किशोरीलाई पनि मन नै परेको हुन्छ। बिस्तारै बिस्तारै किशोरीलाई शिक्षक प्रति आकृष्ट भएको घटना सहज नै लाग्छन्।
शिक्षकसँग लसपस गरेको थाहा पाएपछि, बाबुले छोरीको विवाह हत्तपत्त गरिदिन्छन्। ‘छोरीलाई डाक्टर बनाउने सपना’ देखेका बाबुलाई इज्जत प्यारो हुन्छ। अनि छोरीको पढाइ छुटाइदिएर, अरुको ‘जिम्मा लगाएपछि’ खुशी हुन्छन्।
यौन सम्बन्ध राखेपछि श्रीमतीको ‘रगत’ निस्किँदा उनका श्रीमान् दंग पर्छन्। तर, युवतीले आफूलाई पहिले कोहीसँग सम्बन्ध नभएको देखाउन, महीनावारी भएको वेलामा नै कसैलाई नभनी विवाह गर्छिन्।
‘पोइल’ शब्द नेपाली समाजमा प्रायः राम्रो अर्थमा लिइन्न। हुन त सुदूरपश्चिमतिर ‘पोइल गई’ भन्दा ‘विवाह गरेर गई’ भन्ने राम्रो अर्थमा नै लिइन्छ। उनले ‘पोइल’ नामक कथामा यौन र प्रेमसँग गाँसिएको एक युवतीको सामाजिक, मानसिक र शारीरिक समस्या देखाइएको छ। कतारमा काम गर्ने एक युवकसँग जबर्जस्ती विवाह गराएपछि एक युवतीको जीवनमा आएको उतारचढाव छ। लोग्ने छँदाछँदै उसको बेवास्ताले गर्दा युवती अरुसँग प्रेम गर्न थाल्छिन् भन्ने भावले ती युवतीप्रति सहानुभूति नै जान्छ। युवती श्रीमानको घर छोडेर आफ्नो प्रेमीसँग भाग्छिन्।
यौन सम्बन्ध राखेपछि श्रीमतीको ‘रगत’ निस्किँदा उनका श्रीमान् दंग पर्छन्। तर, युवतीले आफूलाई पहिले कोहीसँग सम्बन्ध नभएको देखाउन, महीनावारी भएको वेलामा नै कसैलाई नभनी विवाह गर्छिन्।
‘मनमाया’ कथा पनि यौनको वरिपरि घुमेको छ। कताकताबाट हिन्दी ‘मैलो ड्रामा’ लाग्ने। नेपाली समाजमा पुरुष यौनकर्मी भन्ने शब्द सुन्दा पनि त्यति सहज लाग्दैन। तर, मनमाया कथा यसैको वरिपरि घुमेको छ। मनमायाको श्रीमानलाई पक्षघात हुन्छ। उनी आदित्य नामको युवकसँग सम्बन्ध राख्न थाल्छिन्। ऊ पुरुष यौनकर्मी हुन्छ। तर, ऊ मनमायालाई नै प्रेम गर्न थाल्छ।
वास्तवमा ‘कुमारी प्रश्न’ मार्फत एउटा सशक्त लेखन नेपाली समाजमा देखिएको छ। आशा गर्छु, वकालत पेशामा व्यस्त भएपछि पनि अझै ‘समाजका कुरुप र राम्रा’ विषय कथाको माध्यमबाट हामीले पढ्न पाउने छौं।