मल्लकालीन मौलिकतामा रानीपोखरी
सम्पदाप्रेमी स्थानीय, अभियन्ता र विज्ञहरूको अथक् प्रयत्नले आज रानीपोखरीले मल्लकालीन मौलिकतामा फर्कने अवसर पाएको छ।
१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी बीच अवस्थित मन्दिरको जीर्णोद्धारपछिको स्वरुपले धेरैलाई आश्चर्य लागेको हुनुपर्छ। पहिले गुम्बज शैलीको यो मन्दिर अहिले शिखर शैलीमा बनेको छ। यस्तो बदलाव किन त ? धेरैमा जिज्ञासा पनि उत्पन्न हुनसक्छ।
वास्तविकता के हो भने, १७२१ सालमा स्थापित यो रानीपोखरी निर्माणकालमा यस्तै स्वरुपको मन्दिर थियो। राणाकालमा दुई पल्ट मन्दिर पुनर्निर्माण गरियो। हामीले भूकम्पअघि देखेको मन्दिरको गुम्बज शैली त्यही राणाकालकै रूप थियो। अहिलेको जीर्णोद्धारले मन्दिरलाई मौलिक स्वरुपमा फर्काएको छ।
मन्दिरलाई निर्माणकालकै स्वरुपमा फर्काउन सक्नु आफैंमा ऐतिहासिक महत्वको कुरा हो। तर, अन्तर्यहरू नियाल्दा सरकारी निकायमा सांस्कृतिक चेतनाको स्तर फेरि पनि उस्तै रहेको सत्य उद्घाटित हुन्छ।
रानीपोखरी निर्माणको सकस
भूकम्पको क्षतिपछि अर्को वर्ष वैशाख २०७३ बाट रानीपोखरी जीर्णोद्धार शुरू भएको थियो। आरम्भमा भूकम्पअघिको नापनक्शा र शैलीमै पुनर्निर्माणको योजना बनाइएको थियो। पोखरीको चारै किनार छोपेर सर्वसाधारणले नदेख्ने गरी सिमेन्ट, रड र रोडाको प्रयोग गरेर पिलर उठाइँदै थियो।
चूपचाप भइरहेको यो कुकाममा स्थानीय सम्पदाप्रेमीहरूको आँखा पर्यो। उनीहरूले सम्पदा क्षेत्रमा अत्याधुनिक निर्माण प्रविधिका सामग्रीहरू प्रयोग गर्न नहुने कुरा उठाए। यस विरुद्ध अभियान नै चलाए। शुरूमा यी अभियन्ताहरूलाई विकास विरोधीसम्म भनियो। तर, युनेस्को काठमाडौं कार्यालयले समेत विज्ञप्ति जारी गरी मापदण्ड विपरीत रानीपोखरी जीर्णोद्धार कार्य रोक्न काठमाडौं महानगरपालिका र पुरातत्व विभागलाई आग्रह गर्यो।
बल्ल पुरातत्व विभागले पुरातात्विक मान्यता विपरीत भएको भन्दै निर्माण कार्य तत्काल रोक्न आदेश दियो। यसबीच विभाग र महानगरपालिकाबीच विवाद समेत भयो।
विरोध र विवाद चर्कंदै गएपछि १३ पुस २०७४ मा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र नेपाल पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित ११ सदस्यीय विज्ञ टोली नै गठन गरियो।
त्यसअघि नै यो पंक्तिकारले १९–२५ भदौ (२०७४) मा हिमाल खबरपत्रिका मा प्रकाशित रानीपोखरी जीर्णोद्धार सम्बन्धी लेखमार्फत रानीपोखरी पुनर्निर्माणको यो शैलीले सम्पदा सम्बन्धी सम्पूर्ण मूल्यमान्यतालाई तिलाञ्जली दिएको चर्चा गरिएको थियो।
लेखसँगै सन् १८४५ मा तत्कालीन प्रुसियाका राजकुमार वाल्डेमरको नेपाल भ्रमणमा उनीसँग आएका कलाकारले तयार पारेको रानीपोखरीको चित्र पनि समावेश गरिएको थियो, जसमा मन्दिर गुम्बज नभई शिखर शैलीको थियो। लेखले रानीपोखरीस्थित मात्रै नभई अन्य सम्पदाहरूलाई पनि मौलिक स्वरुपमा फर्काउनुपर्नेमा जोड दिइएको थियो।
विज्ञ टोलीका एक सदस्य प्राध्यापक काशीनाथ तमोटसँग एक दिन रक्तकालीस्थित आशा सफूकुथिमा भेट हुँदा रानीपोखरीको मल्लकालीन मन्दिरको मौलिक स्वरुप बारे कुराकानी भयो। तमोटकै अनुसार, त्यसपछि बल्ल विज्ञ टोलीमा यस विषयले प्रवेश पायो।
अरु पनि
योसँगै अभियन्ताहरूले पनि सिमेन्ट, रड र रोडा नभएर परम्परागत प्रविधि चुना र सुर्कीको प्रयोग गर्नुपर्ने, मन्दिरलाई पुरानै अर्थात् मल्लकालीन शिखर शैलीको स्वरुपमा पुनर्निर्माण गरिनुपर्ने कुरा उठाउन थाले।
विज्ञ टोलीले पनि मन्दिरको जग हेर्ने क्रममा शिखर शैलीका मन्दिरहरूमै प्रयोग हुने अवयवहरू पनि भेटे। तर, मन्दिरलाई पुरानै स्वरुपमा फर्काउनेमा विज्ञ टोलीमा सहमति जुटेन। पुरातत्व विभागका तीन प्रतिनिधि यसको विपक्षमा देखिए। विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल राणाकालमा संस्कृतिमा परिवर्तन आएका कारण परिवर्तित संस्कृतिलाई स्वीकार गर्दै यसलाई मास्न नहुनेमा जोड दिइरहेका थिए भने विभागकै पूर्व महानिर्देशक (विज्ञ टोलीका संयोजक) विष्णु कार्की भने मौलिक स्वरुपकै पक्षमा थिए।
स्मरणीय त के छ भने, रानीपोखरीको मन्दिर निर्माणमा सिमेन्ट, रोडा तथा डण्डीको प्रयोग नगरी पहिलेको जस्तै चुना, सुर्कीको प्रयोग गर्नुपर्छ भन्ने माग राखी सर्वोच्च अदालतमा मुद्दा परिसकेको थियो। २ माघ २०७४ मा सर्वोच्च अदालतले सोही बमोजिम उत्प्रेषण आदेश दियो।
त्यसको दुई दिनपछि विज्ञ टोलीले आफ्नो प्रतिवेदन बुझायो, जसमा पुरातत्व विभागका तीन प्रतिनिधिले हस्ताक्षर नै गरेनन्।
सर्वोच्चको उत्प्रेषणको आदेशले ‘राणाकालकै पुरानो शैली’लाई मान्यता दिएको आफू अनुकूलको व्याख्या गर्दै पुरातत्व विभागले काम अघि बढाउन पनि खोज्यो।
यसबीचमा स्थानीय सम्पदाप्रेमी अभियन्ताहरूको विरोध र विवाद दबाउन मन्दिरको निर्माण कार्यको ठेक्का सेनालाई दिने तयारी पनि थालियो। तर, यसबाट सेना समेत विवादमा तानिने भएपछि अन्ततः पुरातत्व विभाग आफ्नो अडानबाट पछि हट्न बाध्य भयो। पुनर्निर्माणको जिम्मा नेपाल पुनर्निर्माण प्राधिकरणलाई दिइयो। तर, यस बीचमा रु.३ करोडको नोक्सान भइसकेको थियो।
भूकम्पको अवसर
२ माघ १९९० को भूकम्पपछि धेरै सम्पदाको पुनर्निर्माणमा मौलिक स्वरुपको ख्याल नै गरिएन। कतिपय मन्दिर त जीर्णोद्धारसम्म पनि गरिएन। प्यागोडा पनि भनिने कतिपय छाने शैलीको मन्दिरलाई गुम्बज शैलीमा रूपान्तरण गरियो।
तिनै मन्दिरहरू पुनः २०७२ सालमा भत्कियो। भूकम्पले भत्काएका मन्दिरलाई पुरानै मौलिक स्वरुपमा ल्याएर गल्ती सुधार्ने तथा सम्पादन गर्ने अवसर पनि थियो यो।
ठूलो संघर्षले रानीपोखरीले यो सफलता प्राप्त गर्यो। तर, अन्यत्र भने यस्तो परिवर्तन हुनसकेको छैन। हो, रानीपोखरीको मन्दिर वाल्डेमरसँग आएका कलाकारले तयार पारेको चित्रमा देखिने शिखर शैलीको मन्दिरभन्दा केही भिन्न देखिन्छ तर यसलाई विवादको विषय बनाउनुहुँदैन।
भूकम्पले रानीपोखरीको मन्दिरलाई मात्र बिगारेको थियो तर महानगरपालिकाले पोखरीको पानी सुकाएर त्यहाँबाट माटो झिक्ने र ढलान गरी पानी जमाउने योजना ल्याएको थियो। पोखरीको किनारमा जबर्जस्ती ढलान गरिसकेको थियो। यसबाट पुनर्निर्माणमा खटिने सरकारी निकायमा नेपाली कला र संस्कृति बारे गम्भीर छैनन् भन्ने पुष्टि हुन्छ। चर्को विरोधपछि पोखरीमा पानी जमाउने परम्परागत प्रविधिका लागि भक्तपुरबाट स्थानीय कामदारको सहायता लिइएको थियो।
अहिले रानीपोखरी मन्दिरको स्वरुप जस्तै पोखरीको डिल पनि परिवर्तन गरिएको छ। पहिले मन्दिर तथा डिलमा रहेका पर्खालहरूलाई चुना लगाएर सेताम्य पारिएकोमा अब मन्दिरलाई मात्र सेतो पारी चारैतिर इँटाकै मौलिक रंग दिइँदा थप आकर्षक देखिएको छ।
आफ्ना राजकुमारहरूसहित रानीपोखरीका निर्माता राजा प्रताप मल्ल हात्ती चढिरहेको प्रस्तर निर्मित ठूलो हात्तीको मूर्तिको रंग पनि सेतोको साटो ढुंगाकै रंगमा बनाए अझ राम्रो हुनेथियो। उक्त हात्तीको मूर्तिमा प्रताप मल्लको छोटो शिलालेख पनि रहेको छ। इँटा निर्मित शिखर शैलीका मन्दिरहरूमा रंग लगाउने चलन अन्यत्र नपाइने भएकाले थप रंगको प्रयोग नगर्नु उपयुक्त हुने देखिन्छ।
अरु पनि