चार्ली हेब्डोको तत्कालीन कार्यालय नजिक फेरि आक्रमण
फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्डोको तत्कालीन कार्यालय नजिक चक्कुबाट फेरि आक्रमण गरिएको छ। आक्रमणमा टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीका दुई जना कर्मचारी घाइते भएका छन्।
सन् २०१५ मा उक्त कार्यालयमा भएको आतंकवादी आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। त्यस यता उक्त पत्रिकाको कार्यालय गोप्य ठाउँमा राखिएको छ। अहिले फेरि पुरानो कार्यालय नजिक आक्रमण गरिएको हो।
आक्रमणमा घाइते हुनेमा एक पुरुष र एक महिला छन्। एक घाइतेका साथीले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार ती व्यक्ति चुरोट पिउन बाहिर निस्किएका वेला आक्रमण गरिएको हो।
घाइते दुवै जना खतरामुक्त रहेको जनाइएको छ। यो आक्रमणलाई फ्रान्सका गृहमन्त्री जेराल्ड डेरामानिनले ‘आतंकवादी हमला’ भएको जनाएका छन्।
घटनास्थल नजिकबाट एक जना पाकिस्तानी मूलका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसबाहेक अरु चार जनालाई पनि हिरासतमा लिएको जनाइए पनि परिचय सार्वजनिक गरिएको छैन।
गृहमन्त्री डेरामानिनका अनुसार ती पाकिस्तानी तीन वर्षअघि फ्रान्स गएका थिए। यसअघि उनी प्रहरी निगरानीमा थिएनन्। उनी कट्टरवादी हुन् या होइनन् भन्ने कुनै जानकारी नभएको उनले बताएका छन्।
यसअघि सन् २०१५ मा पैगम्बर मोहम्मदको कार्टुन छापेपछि चार्ली हेब्डोको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो। आक्रमणमा पत्रिकाका सम्पादक, चर्चित कार्टुनिष्ट लगायत पत्रकारको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
तिनै कार्टुन गएको महीना चार्ली हेब्डोले पुनः प्रकाशन गरेको थियो। सन् २०१५ को आक्रमणमा सहयोग गरेको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध सुनुवाइ हुने अघिल्लो दिन पत्रिकाले ती कार्टुन पुनः प्रकाशन गरेको थियो। पत्रिकाको कार्यालयमा प्रवेश गरेर गोली चलाउने दुई दाजुभाइ सेड र चेरिफ कोची भने प्रहरी कार्यालयमा मारिएका थिए।