डब्लुएचओको चेतावनीः कोरोनाको खोप आए पनि २० लाख मानिसको मृत्यु हुने संभावना उच्च
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कारोनाभाइरसको खोप पत्ता लागे पनि त्यसको प्रभावकारी प्रयोग हुनुअघि नै कुल २० लाख मासिनको मृत्यु हुने संभावना उच्च रहेको चेतावनी दिएको छ।
डब्लुएचओको आपतकालीन कार्यक्रम प्रमुख डा.माइक रयानले अन्तर्राष्ट्रियस्तरमा नै खास अभियान नचलाए यो संख्या अझ बढ्ने बताएका छन्। चीनमा गत वर्षको अन्त्यमा कोभिड–१९ देखिए यता करीब १० लाख मानिसको मृत्यु भइसकेको छ।
विश्वमा संक्रमण दर निरन्तर बढिरहेको र अहिले तीन करोड २० लाख उपचाररत संक्रमित रहेको बीबीसीले जनाएको छ। तीमध्ये करीब आधा तीन देश अमेरिका, भारत र बेलायतमा छन्।
उत्तरी गोलाद्धका धेरै देशमा जाडो नजिक आउनेबित्तिकै कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ। पछिल्ला दिनमा युरोपभरि नै पनि संक्रमणको दोस्रो लहर आएको छ। पहिलो लहर उच्च तलहमा पुग्दाजस्तै बन्दाबन्दी फेरि लगाउनुपर्ने चेतावनी डब्लुएचओको छ।
डा. रयानले भने, “युरोपको ठूलो क्षेत्रमा फेरि रोग बढ्न थालेको देखेर हामी दुखी छौँ।” बन्दाबन्दी नलगाउनुपर्ने गरी आफूले के गरेँ भनेर आफैलाई सोध्न डा. रयानले युरोपियनहरुलाई आग्रह गरेका छन्। बन्दाबन्दीको विकल्पमा ठूलो परिणाममा परीक्षण, ट्रेसिङ, क्वारेन्टिन र भौतिक दूरी कायम गर्ने विषय व्यवहारमै लागू गर्नुपर्ने उनी बताउँछन्।
बीबीसीका अनुसार खोप उपलब्ध हुनुअघि नै विश्वमा २० लाख मानिसको मृत्यु हुने संभावना छ त भनेर सोधिएको प्रश्नमा डा. रयानले भने, “यो असंभव छैन।” उनले रोगविरुद्धको उपचारमा सुधार आएसँगै मृत्युदर घटिरहे पनि उपचार वा खोप मात्र मृतकको संख्या २० नाघ्नबाट रोक्न पर्याप्त नहुने बताए।