देशभर आईसीयूमा भएका कोरोना संक्रमितमध्ये ५९ प्रतिशत काठमाडौैं उपत्यकामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ६१४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा मात्र ५०३ जना थपिएका छन्। कुल संक्रमितमध्ये मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार २८९ छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १० हजार ७४३ जना छन्।
स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक अनुसार मुलुकमा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमितको संख्या काठमाडौ जिल्लामा छ। काठमाडौंमा ९ असोजसम्ममा ७ हजार ४६१ कोरोनाका सक्रिय संक्रमित छन्।
काठमाडौंमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयूमार्फत उपचार गर्नुपर्ने कोरोनाका सिकिस्त बिरामीको संख्या पनि बढी छ।
स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक मुलुकभर आइसियुमार्फत उपचार गर्ने कोरोना संक्रमितको संख्या कुल २२७ पुगेको छ।यीमध्ये ५९ प्रतिशत अर्थात १३५ जनाको काठमाडौं उपत्यकाका विभिन्न १३ वटा अस्पतालमा उपचार भइरहेको छ।
आईसइयूमार्फत उपचार गराइरहेका कोरोना संक्रमितमध्ये बाँकी ४१ प्रतिशतको काठमाडौं उपत्यका बाहिरका अस्पतालहरूमा उपचार भइरहेको छ।
यस्तै भेन्टिलेटरको सहयोग लिएर उपचार गराइरहेका कोरोनाका सिकिस्त बिरामीको संख्या काठमाडौं उपत्यकामा ३४ जना छ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालको आईसीयूमार्फत उपचार गराइरहेका १३५ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै अर्थात २१ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
जनस्वास्थ्य तथा स्वास्थ्य पूर्वाधार विषयका जानकार डा. सुजनबाबु मरहठ्ठा स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि चाहिने आईसीयू, भेन्टिलेटर जस्ता स्वास्थ्यका महत्वपूर्ण पूर्वाधार काठमाडौं केन्द्रित भएको देखाएको बताउँछन्।
अहिले पनि जिल्ला जिल्लाबाट कोरोना सिकिस्त बिरामी आईसीयू बेड खोज्दै काठमाडौंमा भौतारिरहेको र यस्ता पूर्वाधार उपत्यका बाहिरका अस्पतालमा पनि अत्यावश्यक भएको डा. मरहठ्ठा बताउँछन्।
“अहिलेसम्म सरकारले स्वास्थ्यका महत्वपूर्ण पूर्वाधार विकेन्द्रीकृत गर्न सकेको देखिएन”, उनी भन्छन्, “यसले राज्य संयन्त्र संघीय अभ्यास अनुसार स्वास्थ्यका पूर्वाधार बनाउन असफल भएको देखाउँछ।”