डा. केसीको भिडिओ सन्देश- ‘माग पूरा नभएसम्म अनशन जारी राख्छु’
१२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले भिडिओ सन्देशमार्फत सरकारले आफ्ना माग पूरा नगरेसम्म अनशन जारी राख्ने बताएका छन्।
अनशनकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत डा. केसीले प्रधानमन्त्री ओलीलाई आफूले साधारण माग राखेर अनशन बसेको भन्दै पूरा गर्न आग्रह गरे।
उनले आफ्ना मागमा पहिले नै सरकारसँग सम्झौता भइसकेको र कतिपय माग चिकित्सा शिक्षा ऐनमा समावेश भइसकेकाले बाँकी माग पूरा गर्न आग्रह गरे ।
चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवा सर्वसुलभ गराउने कामको माग प्रधानमन्त्री ओलीले गर्नुपर्ने भएपनि बारम्बार आफूले उठाइरहेको भन्दै उनले संवेदनशील हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरे। उनले आफ्ना माग पूरा नगर्नु भनेको तीन करोड नेपाली जनतामाथिको धोका भएको बताए।
डा. केसीले प्रधानमन्त्री ओलीको कार्यकालमा आफू पाचौँ पटकसम्म अनसन बस्नुपरेको र उनको पालामा चिकित्सा शिक्षा सुधारमा कुनै उपलब्धि हाँसिल नभएको भन्दै प्राप्त उपलब्धि समेत गुम्ने अवस्थामा रहेको बताए।
चिकित्सा शिक्षा ऐन ल्याउने त्रममा जनतामुखी भन्दा माफियामुखी विषय राखिएको उनको आरोप छ। त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीले शुक्रबार साँझ दिएको भिडिओ सन्देश जस्ताको तस्तैः
मेरो १९औँ सत्याग्रहको आज १२औँ दिन हो। हामीले ६ बुँदे माग राखेका छौँ।
समष्टिमा भन्दा सबै नेपालीहरूले गुणस्तरीय, निःशुल्क, सर्वसुभल स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा समान पहुँच होस् र, त्यसको सुनिश्चितता गरियोस् भनेर हामी अनशन बसेका छौं।
हामीले राखेका ६ मागमध्ये सबै प्रदेशहरूमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान स्थापना हुनुपर्छ भन्ने विषय चिकित्सा शिक्षा ऐनमा आइसकेको छ। तर त्यसको वाबजूद अहिलेको ओली सरकारले उक्त कुरालाई रोकेर राखेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको आठ वर्ष भइसक्यो। तर अहिलेसम्म एमबीबीएस लगायतका कार्यक्रम सञ्चालनमा आएका छैनन्। दुई वर्षअघि हामी त्यहाँ बस्दा प्रहरी लगाएर कुटियो र अपहरण गरियो। दुई वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा रोकेर राखिएको छ।
अरू बाँकी दुई र चार नम्बर प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि निर्माण कार्य शुरु हुनुपर्ने हो।
तर शुरु हुनै दिइएको छैन। उदयपुर र डोटीमा सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेर सम्झौता भइसकेको थियो।
ओली सरकारको दम्भका कारणले उक्त काम रोकिएको छ। सम्झौता कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको छ।
कैलालीको गेटा र दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ओलीजीले चासो दिनुभएको छैन।
चिकित्सा शिक्षा अध्ययन संस्थान(आईओएम) र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलेदेखि नै वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने भनेका थियौँ। त्यो पनि ओलीजीले मिचेर आफ्नै कनिष्ठ कार्यकर्ताहरू भर्ती गर्नुभएको छ। यसलाई सच्चाइयोस् भनेर हामी लडेका हौं।
अछामको बयलपाटा अस्पतालमा ठूला उपकरणसहित उपचार गर्ने राम्रो सुविधा थियो । ती क्षेत्रका मानिसले बयलपाटा अस्पतालबाट निःशुल्क सेवा पाइरहेका थिए। दाताले सहयोग कम गर्न थालेपछि अहिले त्यो अस्पताल बन्द हुने अवस्थामा छ। राज्यले अस्पतालबाट पहिलाको जस्तै नियमित निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरोस् भन्ने माग छ ।
कोरोना संक्रमणबाट मृत्यु हुने भन्दा मुलुकमा साधारण उपचार नपाएर ज्यान गुमाउनेहरू धेरै छन्।
न्यून मृत्युदर भएको कोरोनामा बन्दाबन्दी गर्नु उचित छैन। तानाशाही व्यवस्था लागू गर्ने विधिको रुपमा बन्दाबन्दीलाई लागू गरिएको छ।
त्यसैले अनिवार्य मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम गरेर बन्दाबन्दी हटाउनुपर्छ भन्ने हाम्रो माग हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म ठूलठूला काण्डमा मुछिएकालाई उन्मुक्ति दिने गरेको छ। अख्तियारका आयुक्त पनि यसमा मुछिएका छन्। त्यसैले संलग्नलाई छानबिन गरेर कारवाही गर्ने, प्रमुखहरूको सम्पत्ति सुद्धिकरण अन्तर्गतको कारवाही अघि बढाउनु पर्छ भन्ने मेरो माग हो।
यी साधारण मागहरू हुन्। कतिपय मागको पहिले सम्झौता पनि भइसकेको छ।
ओलीजीको प्रधानमन्त्री कालमा मेरो यो अनसन पाचौँ पटक हो। उहाँको पालामा कुनै पनि उपलब्धि भएको छैन।
भएका उपलब्धि पनि गुमेका छन् र, कतिपय गुम्नेस्थितिमा पुगेका छन्।
चिकित्सा शिक्षा ऐन ल्याउँदा पनि उनले जबरजस्ती जनतामुखी भन्दा माफियामुखी विषय ल्याए। जनताले निर्वाचित गरेर जनताले दिएको करबाट तलब भत्ता खाने अनि माफिया, दलाल, बिचौलिया र भ्रष्ट व्यक्तिहरुलाई संरक्षण गर्ने काम तीन करोड नेपाली जनतालाई धोका हो। हामीलाई धोका दिनु भनेको तीन करोड नेपालीलाई धोका दिनु हो।
त्यसैले मैले ओलीजीलाई भन्छु, यो तपाईहरूले गर्नुपर्ने काम थियो, हामीहरुले बारम्बार गरिरहेका छौँ।
तपाईले मेरो माग पूरा गरिदिनुस्, यो साधारण माग हो। कतिपय कुरा सम्झौता पनि भइसकेको छ, चिकित्सा शिक्षा ऐनमा पनि आइसकेको छ।
तर माग पूरा नगर्ने हो भने हाम्रो सत्याग्रह जारी रहन्छ।