शिकारीले थापेको पासोमा परेर बाघको मृत्यु
बर्दिया राष्टिय निकुञ्जको कोर एरियामा शिकारीले थापेको पासोमा परेर बाघ मरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार रहेको लमकौली फाँटामा मृत बाघ हिँजो गस्तीका क्रममा भेटिएको थियो।
“घटनाको प्रकृति हेर्दा ६ दिनअघि बाघ पासोमा परेको देखिन्छ”, श्रेष्ठले भने, “बाघका सबै अंगहरू जस्ताको तस्तै अवस्थामा छन्। बाघ मार्नका लागि राखेको पासो होइन, प्रकृति हेर्दा चित्तल र अन्य आहारा प्रजातिलाई थापेको पासोमा बाघ परेको हुनसक्छ।”
मृत बाघ करीब ६ वर्षको पोथी रहेको श्रेष्ठले बताए। घटनास्थल बर्दिया राष्टिय निकुञ्ज कार्यालयदेखि ६ किलोमिटर दूरीको फरकमा रहेको छ। पछिल्ला वर्षमा बर्दिया राष्टिय निकुञ्जमा बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। सन् २०१८ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ पाइएका थिए।
सन् २०१४ मा बर्दियामा बाघको संख्या ५० रहेको थियो।