चोट सिउनु कि मन सिउनु यसपालि !
ठूली छोरी दृष्टिले काम गर्ने बैंकको शाखा धरानमा पनि खुल्ने र उनको त्यहीं सरुवा हुने भएपछि उनको बसोबास सहज बनाउन म २९ फागुन २०७६ मा गाडी लिएरै धरान गएको थिएँ। फर्कने बेला सानो ‘गेट टुगेदर’ पनि गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर, लकडाउन शुरू भइहाल्यो।
शुरूका दिनहरूमा ‘केही दिनमा त खुलिहाल्ला नि’ भन्ने लाग्यो। तर यो त झन्झन् थपिंदै गयो। पूरै डेढ महीना घरभित्रको भित्रै बसें।
न हार्मोनियम न गिटार। एक्लै, धुमधुम। सारै छट्पटी हुनथाल्यो।
धरानका संगीतकार भानु थापाले गितारको व्यवस्था मिलाइदिने भए। तर, बजारदेखि घरसम्म कसरी ल्याउने ? चिनेकै भाइ एसपी भीमबहादुर दाहालसँग कुरा गरें तर उनले पनि ‘दाइ यस्तो बेलामा गाह्रो छ’ भनिदिए।
अर्का एकजना भाइ प्रहरी सहायक निरीक्षक रुद्र (थर बिर्से) फुस्रेतिर बस्दा रहेछन्। भानुसँग गिटार लिएर उनी राति घर फर्केछन्। भोलिपल्ट बिहान मेरो घरमा गिटार आइपुग्यो।
गिटार पाएपछि त म ‘फ्रेस’ जस्तै भए ! यो फुर्सदमा केही गीतको काम गरौं भन्ने लाग्यो। पहिल्यैदेखि दुर्गाबहादुर क्षेत्री (दुबसु) ले केही गीत गरौं भनिरहेका थिए। उनलाई ‘लु गीत पठाऊ’ भनेर फोन गरें। १५÷२० वटा गीत पठाए।
धरान पुग्नुको मेरो अर्को उद्देश्य पुरानो भइसकेको घर छाउनु पनि थियो। बढ्दो लकडाउन र फैलिंदो कोरोनाभाइरसको महामारीले मन उथलपुथल भएको थियो। दुबसुका गीतहरू पढ्दै जाँदा ठ्याक्कै मेरै वर्तमानको अवस्था झल्किने एउटा गीत भेटें।
घर छाउनु कि मन छाउनु यसपालि
चोट सिउनु कि मन सिउनु यसपालि।
शब्दले मन छोयो। लकडाउनलाई चोट सम्झिएँ। अनि कम्पोज गर्न थालें।
त्यहीबेला रेडियो नेपालबाट एउटा कार्यक्रमका लागि फोन आयो। कार्यक्रममा मैले नयाँ कम्पोज गरेको गीत लाइभ सुनाउनुपर्ने भयो। श्रीपुरुष ढकाल, विप्लव प्रतिक र विश्वम्भर प्याकुरेलले पनि मेरा बारे बोले।
गिटार पाएको केही समय त रमाइलै बित्यो। तर, विस्तारै अधुरो अधुरो लाग्न थाल्यो। त्यसपछि हार्मोनियम खोजें। संगीतकर्मी भाइ दीपक दर्नालसँग हार्मोनियम छ भन्ने थाहा थियो। वाद्यवादक विदुर कार्कीले ल्याइदिने त भए तर फेरि त्यस्तै समस्या भयो। सेक्युरिटी कम्पनी संगीतकर्मी मचेन लिम्बूसँग लकडाउनमा हिंड्न मिल्ने ‘पास’ छ भन्ने थाहा भयो। त्यही पासको सहायताले हार्मोनियम मेरो घरमा आइपुग्यो।
हार्मोनियम पाएपछि पुराना राग रागिनी ‘रियाज’ गर्न थालें।
घरभित्रै बसेर कति गाउनु, कति गिटार, हार्मोनियम बजाउनु। बिस्तारै मर्निङ वाक्मा जान थालें।
तर, एक दिन प्रहरीले बाटैमा रोकेर ‘घर जानुस्’ भन्दै हप्काए। त्यसको भोलिपल्ट त लकडाउनमा मर्निङ वाक् गर्ने धेरै समातिएको खबर पाएँ।
त्यसपछि भने घरमै प्राणायाम, कपालभाति गर्न थालें। मलाई उमेरका कारण पनि यो महामारीमा बढी खतरा छ भन्ने थाहा थियो। घरमा मरीच, तातो सुप खान्थें। दुई दिन बिराएर तातो बाफ लिन्थें। परहेजमा बसें। तर कति दिन यसरी बस्ने ? दिक्क लाग्न थाल्यो।
त्यसपछि नजिकका साथीहरूसँग भेटघाट गर्न थालें। तर एकदम सचेत भएर। भेटघाटमा जुठो खान दिइनँ।
त्यो क्षयरोग, यो कोरोना महामारी
२०३० सालतिर धरानमा पनि क्षयरोग महामारीले समात्यो। अहिलेको कोभिड–१९ जस्तै थियो, त्यो महामारी। मसँगै रोगको उपचार गर्ने १०÷१२ जनामध्ये दुई जना मात्र बाँच्यौं, अरू हेर्दा हेर्दै बिते।
त्यसबेलाको ब्रिटिश घोपा क्याम्प अस्पतालमा हामीलाई चार प्रकारको औषधि खान दिइन्थ्यो। ती औषधि महँगा थिए। एउटा औषधिकै १०० रुपैयाँ पथ्र्याे। ती बित्नेहरूले एउटा औषधि खाएर तीन वटा बेच्ने गरेका थिए, प्रति औषधि ५० रुपैयाँमा। कति औषधि तस्करी भएर भारत पनि पुग्ने रहेछ।
त्यसबेला १०० रुपैयाँमै एक कट्ठा जग्गा आउने बेला थियो। कति बिरामी चाहिं आफू मरिहाले पनि परिवारलाई यति पैसाले केही भरथेग हुन्छ भनेर पनि औषधि बेचेको सुनियो।
लकडाउनका बेला थप ६ वटा गीत पनि कम्पोज गरें। तीमध्ये टेकबहादुर तामाङका शब्द रहेको देशभक्ति गीत त एपी शेर्पाले गाएको लकडाउनमै भिडियो पनि बनाएछन्।
बढीमा एक महीना बस्छु भनेको धरानमा यसरी नै पाँच महीना बित्यो।
२०३१ सालमा गीत गाउनकै लागि मैले धरान छाडें। यसो गम्छु त मेरो यो पटकको बसाइ धरान छाडेपछिकै सबैभन्दा लामो रहेछ।
यो बसाइमा म ‘नोस्टाल्जिक’ भएँ। आफू बसेको पुरानो घर खोज्दै हिंडें। तर त्यहाँ त अर्कै घर पो बनिसकेको रहेछ।
धेरै पुराना साथीहरू खोजें, भेटिनँ। तर, शेरमान श्रेष्ठ, शम्भु पलिखे र ज्ञानबहादुर कटुवालसँग भने भेट भयो। यही बेला मलाई रोटरी क्लबले धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईको हातबाट सम्मान गर्यो। सबैले गायन क्षेत्रमा विशिष्ट योगदान दिएको भनी प्रशंसा गरे। भाइ निश्चल पलिखेको समूहले पनि सम्मान गर्यो। ग्लोबल आईएमई इन्सुरेन्सबाट स्कुटर उपहार पाएकी दुर्गा श्रेष्ठ बहिनीलाई स्कुटर वितरण गर्न पनि निम्त्याइएँ।
एकदिन व्यवसायी अशोक अग्रवालले कालो मासु भएको कुखुरा ‘कडकनाथ’ को मासु चाख्न चन्द्र भाइको होटलमा बोलाए। कहिल्यै नखाएको कडकनाथ पनि चाखियो।
यसबीचमा म चार जनाको मलामी पनि गएँ। मलामीमा तीन पटक त चतरा पुगें। एक पटक खत्रीधारा। भेडेटारमा संगीतपारखी भाइ किरण श्रेष्ठसँग होटल व्यवसायी लीलाराज लावतीका बुवा वितेकाले समवेदना दिन पनि पुगें।
बाटोघाटोमा धेरै पुराना चिनजानका मान्छे भेट भए। उनीहरू मलाई देखेर ‘दीपनारायण होइन ?’ भनेर सोध्दथे। मेरो पुरानो नाम अहिले पनि मानिसहरूले सम्झिरहेका रहेछन्।
तर यति लामो लकडाउनमा पनि मेरा गुरु रामचन्द्र बनेपालीलाई भने भेट्न सकिनँ।
काठमाडौंमा बन्दी !
असारदेखि नै काठमाडौं आउन खोजेको थिएँ। तर पहिरोले बाटो बन्द भएको खबर सुनें। उदयपुरमा पनि निषेधाज्ञा भएकाले त्यो बाटो पनि हिंड्न सकिएन।
त्यही बीचमा धरान संगीत प्रतिष्ठानले मेरा बारे वृत्तचित्र बनाउने भनेर विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा लिएर गयो। मुख्यमन्त्रीसँग भेटघाट भयो। मुख्यमन्त्रीमा स्वकीय सचिव नवराज राईले विशेष पासकाे व्यवस्था मिलाईदिए ।
काठमाडौं आउने केही दिन अघि मात्र इटहरीस्थित नेपाल टेलिभिजनको कार्यालयमा अन्तर्वार्ता दिनुपर्ने भयो। प्रस्तोता मेनुका डुम्जनसँगको कुराकानी रमाइलो भयो। त्यसपछि उनैका बुवा सन्तबहादुर डुम्जनले खाना खुवाउने प्रस्ताव गरे।
त्यहीबेला सशस्त्र प्रहरीका एक एसपीसँग भेट भयो। उनका साथी एसपी कृष्ण ढकाल पनि काठमाडौं आउने तयारीमा रहेछन्। ‘लु सँगै जाऊँ’ भन्ने सल्लाह भयो।
बाटोमा कृष्णजीका साथी केशर ठकुरीले मेरो गाडी चलाए। म आनन्दले बसें। हुन त मैले गाडी चलाउन काठमाडौंबाटै भाइ यादव पाण्डेलाई बोलाएको थिएँ तर केशरजीले नै चलाएपछि हामी आनन्दले बस्यौं।
बाटोमा उदयपुरका डीएसपी मलाई भेट्न आउनुभयो।
बाटोमा केही समस्या भएन। प्रदेशले दिएको पास समेत निकाल्नु परेन।
धरानबाट काठमाडौं आएको, फेरि यहाँ संक्रमण बढ्न थाल्यो। पहिले कहिले काठमाडौं फर्कौं जस्तो लाग्थ्यो, यहाँ आएपछि त उतै पो रमाइलो थियो कि जस्तो लाग्ने। यहाँ पो बन्दी जस्तो भएँ।
काठमाडौं आउँदा एक जना प्रहरी भाइ गणेश श्रेष्ठको ‘पार्सल’ लिएर आएको थिएँ। उनी मेरो घर नजिक अनामनगरमै कार्यरत रहेछन्। बाध्यताले उनलाई सामान दिन एकपटक घरबाट निस्कें। त्यसपछि कतै निस्किएको छैन।
प्रस्तुति : गोपाल दाहाल