नेउवा महासंघको निर्वाचन विद्युतीय माध्यमबाट गर्नुपर्ने, २५ जना भन्दा बढी उपस्थित हुन नपाइने
निजी क्षेत्रका उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघको वार्षिक साधारण सभा ११–१२ मंसिरमा गर्न गृह मन्त्रालले अनुमति दिएको छ।
यस्तो साधारण सभा स्वास्थ्य मापदण्ड पालना गरेर २५ जना भन्दा कमको उपस्थितिमा गनुृपर्ने छ भने निर्वाचन विद्युतीय माध्यमबाट गर्नुपर्ने सर्त पनि तोकिएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताए। "गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी गर्न अनुमति दिएको छ", उनले भने।
गोल्छाले सरकारको तोकेको सर्तका आधारमा स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालीन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवश्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिनसम्म गरेर भएपनि चुनाव गरिने बताए।
कोभिड १९ का कारण देशभर बन्दाबन्दी हुँदा २०७६ चैत महीनामा हुनुपर्ने महासंघको महाधिवेशन रोकिएको थियो। त्यसपछि पटकपटक चुनावकाे मिति तय हुँदै राेकिदैँ आएकाे महासंघको वार्षिक साधारणसभा अब भने मंसिरमा हुने भएकाे छ।