सरकारसमक्ष चलचित्रकर्मीको माग : स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न पाऊँ
सबै क्षेत्र सामान्य हुँदै गइरहेकोले चलचित्र प्रदर्शन, छायांकन गर्न पाउनुपर्ने भन्दै चलचित्रकर्मीहरूले सरकारलाई मागपत्र बुझाएका छन्। केही दिनअघि चलचित्र विकास बोर्ड, चलचित्र संघ र चलचित्र निर्माता संघले चलचित्र क्षेत्र सञ्चालन गर्न पाउनुपर्ने भनेर मागपत्र बुझाएका हुन्।
मागपत्रमा समस्या र समाधानको उपाय समेत उल्लेख गरी बुझाइएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए। चलचित्र निर्माता तथा निर्देशक समेत रहेका अधिकारी कोरोनाभाइरसको कारण लामो समय काम ठप्प हुँदा यो क्षेत्रमा काम गर्नेहरूको दैनिकी नाजुक बन्दै गएको बताउँछन्।
यस क्षेत्रमा आश्रित करीब २५ हजार जनाको दैनिकी सहज बनाउन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्र क्षेत्रको काम सञ्चालन गर्न पाउनुपर्ने माग राखिएको उनले बताए। उनले भने “अब पनि यो क्षेत्र चलायमान हुन सकेन भने अप्रिय दुर्घटनाहरू हुन सक्ने सम्भावना छ। यही क्षेत्रबाट आश्रितहरू गम्भीर संकटमा छन्।”
सिनेमा हलमा, सुटिङमा अपनाउनुपर्ने सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विस्तारै चलायमान बनाउँदै लानुपर्ने उनको भनाइ छ। उनका अनुसार रिलिज हुन तयार भएका दुई दर्जनभन्दा बढी चलचित्र र पोष्ट प्रोडक्सनमा करीब तीन दर्जन जति चलचित्र छन्।
अधिकारीका अनुसार चलचित्र छायांकन गर्ने अनुमति पाए असोज मसान्तभित्र मात्रै करीब ३० वटा चलचित्र छायांकनका लागि निस्कन्छन्। त्यसबाट लामो समय बेरोजगार भएर बसिरहेका चलचित्रकर्मीहरूले रोजगारी पाउने उनी बताउँछन्।
सीसीएमसीका संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई माग पत्र बुझाएको अधिकारीले बताए। चलचित्र क्षेत्रलाई राष्ट्र ब्यांकको मौद्रिक नीतिले अति प्रभावित क्षेत्रभित्र समेटे पनि राज्यले भने नसमेटेको र समेट्नुपर्ने उनको माग छ। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सबै क्षेत्र सामान्य हुँदै गइरहेकोले चलचित्र क्षेत्र पनि विस्तारै पुन:सञ्चालन गर्न पाउनुपर्ने बताउँछन्।
उनी भन्छन् “हामी सबै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढ्छौं। अब विस्तारै यो क्षेत्र पनि सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग हो।”
दाहाल स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने बताउँछन्। उनले भने “सकारात्मक प्रतिकृया आएको छ। सम्भवत: हाम्रो माग सुनुवाइ हुन्छ होला। छिट्टै मन्त्रिपरिषद्मा जान्छ भन्ने अपेक्षा छ।”
सरकारले मानिसको बढी चहलपहल हुने क्षेत्रहरू सिनेमा हल, रंगमञ्च, जीम हल लगायतका क्षेत्र जोखिमयुक्त क्षेत्र भन्दै सञ्चालमा रोक लगाएको छ।