चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु
सरकारले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन शुरु गरेको हो।
साधारणतया विभागले ४-५ वटा टोलिमार्फत बजार अनुगमन गर्दै आएको छ। विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन्। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन करिब ४ साता बाँकी छँदै विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।
विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन शुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए। खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताए।
त्यस्तै विषयत विभागहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरूलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएको उनले बताए। यस्तै, सबै प्रदेश र स्थानीय तहलाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको बताए।
बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि प्रवक्ता रिजालले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने उनले बताए।
विभागले चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यपछि क्रमशः सबै प्रदेशहरूमा बजार निरिक्षण अधिकृतहरूलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताए। साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरीने समेत उनले बताए।