ई-कमर्शबाट मासिक रू. १ अर्बको कारोबार, वालेटबाट हुने कारोबार साढे २ अर्बले घट्यो
बन्दाबन्दीपछि नेपालमा वालेटको प्रयोग बढेको भएपनि चालु आर्थिक वर्षको पहिलो महीनामा कारोबार संख्या घटेको छ भने ई-कमर्शबाट हुने कारोबारलाई भने राष्ट्र ब्याकंले पहिलोपटक अभिलेखीकरण गर्न थालेको छ।
बन्दाबन्दीपछि नेपालमा अवसर बनेको अनलाइन सपिङसहितको ई-कमर्श व्यवसायको नेपाल राष्ट्र ब्यांकले कारोबार विवरण राख्न शुरू गरेको हो।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महीना (साउन)मा ई–कमर्शबाट रू. १ अर्ब २० करोड १० लाखको कारोबार भएको उल्लेख गरेको छ। १ लाख ६८ हजार ६२७ वटा कारोबारबाट उक्त रकम ई-कमर्शका निम्ति खर्च गरिएको तथ्यांकमा उल्लेख छ।
असारमा वालेटको कारोबार रू. १० अर्ब २२ करोड २० लाख भएपनि साउनमा भने रू. २ खर्ब ६४ करोड ३० लाखले घटेर जम्मा रू. ७ अर्ब ५७ करोड ९० लाखको मात्रै कारोबार भएको छ।
नेपालमा अवसर बन्दै गएको र विस्तारै बजार लिन थालेको ई-कमर्शलाई सरकारले पनि सहजीकरण गर्दैछ। ई-कमर्शलाई व्यवस्थित बनाउन र सहजीकरण गर्न सरकारले ई-कमर्शको छुट्टै कानूनको पनि तयारी गरिरहेको छ।
तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएको चैत महीनादेखि उल्लेख्य रूपमा कारोबार बढेको वालेट भने साउनमा असारको तुलनामा घटेको छ। असारमा वालेटको कारोबार रू. १० अर्ब २२ करोड २० लाख भएपनि साउनमा भने रू. २ खर्ब ६४ करोड ३० लाखले घटेर जम्मा रू. ७ अर्ब ५७ करोड ९० लाखको मात्रै कारोबार भएको राष्ट्र ब्यांकले शुक्रबार जारी गरेको साउनको तथ्यांकले देखाएको छ।
यस्तो तथ्यांक अनुसार वालेटको कारोबार एक महीनामा १ करोड १ लाख ७७ हजार ८८९ वटा कारोबार भएको छ। यस्तो कारोबार संख्या पनि अघिल्लो महीना असारको तुलनामा दुई हजारले घटेको तथ्यांकमा उल्लेख छ।
केन्द्रीय ब्यांकको अनुमति लिएर सेवा दिने १३ वटा कम्पनीको सेवा भएपनि सक्रिय रूपमा बजार विस्तारमा लागेका र उल्लेख्य ग्राहक बनाउन सफल वालेट भने ईसेवा, खल्ति, आइएमई पे, प्रभुपे र सेलपे मात्रै छन्। बाँकी वोलेटले कारोबार गरिरहेको भएपनि आक्रामक बजार विस्तार गर्न नसक्दा प्रयोगकर्ताको हिसाबले न्यून उपस्थिति छ।