ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महानगर प्रमुख महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो।
टाउको र जिउ दुख्ने लगायतका समस्या देखिएपछि उनी बिहीबार पाटन अस्पताल पुगेका थिए। पाटनमा उनको पीसीआर परीक्षणका लागि स्वाब संलकन गरिएको थियो।
“टाउको र जिउ दुख्ने हुन थालेपछि हिजो पाटन हस्पिटल जानुभएको थियो। हिजो नै स्वाब संकलन गरिएकोमा आज पोजिटिभ भनेर मेसेज आएको छ, रिपोर्ट आइपुगेको छैन”, ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले भने।
उनका अनुसार महानगर प्रमुख महर्जन अहिले बखुन्डोलस्थित् घरमै आइसोलेसनमा बसिरहेका छन्। उनको टाउको दुख्ने समस्या भने कम भएको छैन।
“उहाँलाई पहिले पनि माइग्रेनको समस्या थियो तर, अहिले माइग्रेनको भन्दा फरक तवरले टाउको दुखिरहेको छ भन्नुभएको छ”, प्रवक्ता महर्जनले भने।
महानगर प्रमुख महर्जन राहत वितरण लगायतका काममा सक्रिय हुँदै आएका थिए। स्वास्थ्य साबधानी अपनाइए पनि तीनै कार्यक्रलमबाट कोरोना सरेको आशंका गरिएको छ।
केही समय पहिले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो। उनी अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन्।