रारा–खत्याड जलाधार क्षेत्र संरक्षणमा जुटे स्थानीय बासिन्दा
नेपालकै ठूलो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आसपासको जलाधार क्षेत्रको संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन्। रारा ताल, यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी र जलचर प्राणी तथा आफूहरुबीच जीवनयापनका विभिन्न आयाममा कहीँ न कहीँ सम्बन्ध रहेको शिक्षा पाउन थालेपछि स्थानीय बासिन्दा संरक्षणका लागि संगठित बन्न थालेका हुन्।
सदियौंदेखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरूको उपभोग गर्दै आएका यहाँका स्थानीयहरू यो क्षेत्रमा रहेका महत्वपूर्ण जलचर र वन्यजन्तु तथा रुखबिरुवाको विरुद्धका क्रियाकलाप गर्दै आएका थिए।
पासाे हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छी थापेर माछा मार्ने र जंगल कटान गर्ने जस्ता प्रकृतिविरुद्धका क्रियाकलाप गर्दा प्राकृतिक सौन्दर्यमा ह्रास आउने, वन्यजन्तु, चरा, जलचर र थलचरहरू लोप हुँदै जाने अवस्था थियो।
प्राकृतिक सम्पदा संरक्षण, यिनीहरूसँगको सम्बन्ध र आवश्यकताबारे शिक्षा नपाउँदा पनि स्थानीयहरू यी कार्य गर्दै आएका थिए।
अहिले भने जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्च, झ्यारी, मुर्मा र निगालीभोट वस्तीमा समुदायमा आधारित चोरी, शिकारी नियन्त्रण समूह गठन गरिएका छन्। ती समूहका सदस्यहरू हप्ताको एकपटक आफ्नो क्षेत्रमा पर्ने जलाधार क्षेत्र, मध्यवर्ती र निकुञ्ज सिमानासम्म गस्ती गर्छन्।
विगतमा जानी–नजानी चोरी शिकारी गरे पनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाइने जलचरहरूको कसैले चोरी शिकारी नगरोस् र यहाँका महत्वपूर्ण, लोपाेन्मुख जडीबुटी, वन्यजन्तु र वनजंगलको संरक्षण होस् भनेर हप्तामा एकदिन गस्ती गर्ने गरिएको चोरी, शिकारी नियन्त्रण समूहका अध्यक्ष दिपेन्द्र भाम बताउँछन्। चोरी शिकारीमा संलग्न कोही भेटिए कानूनी कारबाहीका लागि रारा राष्ट्रिय निकुञ्जमा बुझाउने गरिएको भामले बताए।
चोरी शिकारी नियन्त्रणका साथै निकुञ्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु, वनजंगल, ताल संरक्षण र मानवीय क्रियाकलापका कारण जलाधार क्षेत्रमा पर्ने असरबारे पनि सचेतना दिने काम भइरहेको झ्यारी समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समूहका अध्यक्ष विष्णु रावलले बताए।
जलाधार क्षेत्र आसपासमा रहेका वस्तीमा महीनैपिच्छे स्थानीयहरूको सहभागितामा बैठक बस्ने गरेको र बैठकमा महीनाभरि भए/गरेका कामको प्रगति, आइपरेका समस्या र समाधानका उपायबारे छलफल हुने गरेको छ।