चर्खण्डी जात्राः ११६ वर्षपछि पनि जीवन्त परम्परा
भक्तपुरको दधिकोटमा मानन्धर र श्रेष्ठहरूको संयुक्त प्रयासबाट वि. सं. १९६१ वैशाखदेखि मनाउन शुरु भएको चर्खण्डी जात्रा एक सय वर्ष नाघिसक्दा पनि अविच्छिन्न चलिरहेकै छ।
नेपाली समाजमा जात्रा, चाड र पर्व अभिन्न अंगका रूपमा स्थापित र प्रचलित छन्। समुदायमा जात्रा यसरी घुलेको छ, कुनै खास जात र समुदायमा सीमित हुँदैन, त्यो ठाउँमा बस्ने सबैको हुन्छ। जात्रा सञ्चालनको लागि कतिपय ठाउँमा गुठी राखिएको हुन्छ। समयको गतिसँगै नयाँ पुस्ता आउने, समाज बदलिंदै जाने भएकाले जात्रा टुट्ला भनेर निरन्तर व्यवस्थापन र सञ्चालनको लागि त्यसरी गुठी राखिने रहेछ।
यस्तै एउटा जात्रा चर्खण्डी जात्राको चर्चा गरौं। यो जात्रा चलाउन शुरू भएको ११६ वर्ष भएछ। जात्रा चलाउनेबारे दुई समुदायबीच वि.सं. १९६० फागुन २६ गते भएको सम्झौताको प्रतिलिपि प्राप्त भएको छ। त्यो सम्झौताले हामीलाई त्यतिबेलाको भक्तपुर दधिकोट कस्तो थियो त भन्ने छ्याङ्गै पार्छ।
भक्तपुरको थिमी लगायत शहरका नेवारहरूको खेती दधिकोट लगायत गाउँहरूमा थियो। यो आउजाउको धाइधपेडीको कष्टले शहरी भेगबाट उनीहरू गाउँमा बसाइँ सर्न थालेछन्। दधिकोटको पकाण्डोल लगायत गाउँका अरु समुदायसँगै नेवार समुदाय पनि बस्न थालेछन्। त्यसरी बसाइँ सर्नेमा साल्मी (मानन्धर) र श्रेष्ठहरू रहेछन्। श्रेष्ठ परिवारमा पनि ब्यासीश्रेष्ठ, बागश्रेष्ठ, साँयश्रेष्ठ, धौवजीश्रेष्ठ आदि रहेछन्।
त्यसवेलादेखि नै लुभू, थिमी लगायत ठाउँमा जताततै जात्रा हुन्थ्यो। तर, सिरुटारमा त्यस्तो केही पनि थिएन। जात्रा भएन भने आफ्नो चिनारी र प्रतिष्ठा नहुने सोच आयो कि के भयो, समुदाय सानो भए पनि मानन्धर र श्रेष्ठ परिवारका सदस्यहरू भेला भएर ठूलो जमर्को गरेछन्। अनौपचारिक गुठी बनाएर चर्खण्डी जात्रा चलाउने निर्णय भएछ।
अहिलेको सिरुटार र दधिकोटको साँधमा चर्खण्डी तीर्थस्थल छ। यसकै नामबाट जात्रा चलाउने थालनी भयो। सम्झौता अनुसार प्रत्येक वर्ष वैशाख १ र २ गते गणेश, भैरव र बालकुमारीका ढलोटका मूर्ति टाउको मात्र बनाई कलात्मक एउटा रथमा राखी पकाण्डोलबाट चर्खण्डी लगेर पूजा गर्ने, बाजागाजासहित सिन्दूरे जात्रा गर्ने भन्ने भएछ। मूर्ति, रथ आदिका लागि सामूहिक रूपमा रकम उठाएर १९६१ वैशाखबाट जात्रा चलाउन शुरु गरिएछ।
जात्रा छाड्ने गुठीयारलाई २५ रुपियाँ जरिवाना
जात्रा चलाउने सम्झौतापत्र काठमाडौं थापाथली पुलका मुखिया गुलाफदास जुलोम्भले लेखिदिएका रहेछन्। त्यति बेलाको दधिकोटमा सम्झौतापत्र लेख्न जान्ने मान्छे नभएर हो वा विश्वास नगरेर हो, काठमाडौं पुग्नुपरेछ।
त्यो सम्झौता श्रेष्ठतर्फका १० र मानन्धरतर्फका १२ जना गरी २२ जनाबीच भएको रहेछ। त्यो जमानामा समाजका अगुवालाई थकाली भनिन्थ्यो। सम्झौता अनुसार काम भएन भने थकाली जिम्मेदार हुने प्रचलन थियो। श्रेष्ठतर्फका थकाली धीर्जवारा थिए भने मानन्धरतर्फ केहेर सिं थिए।
सम्झौतापत्रमा जात्राको निरन्तरताको लागि धार्मिक बन्धनको भाषा पनि प्रयोग गरिएको रहेछ। गुठी र जात्रा भाँडिएला भनी “हाम्रा छोरा, नाति, पनातिहरूले पनि खण्डित नगरी जात्रा चलाउनु, जसले यो बन्देजमा बसिसकेपछि म बस्दिनँ, छोड्छु भन्छ उसलाई पञ्चमहापातक लाग्ला, कुदृष्टि होला’ भनी लेखिएको छ। कोही मानेन भने रु. २५ जरिवाना लिनू भनिएको छ। १९६० सालमा २५ रुपैयाँ, कति चर्को जरिवाना ! त्यसवेला सुन तोलाको २५ रुपियाँको हाराहारीमा हुँदो हो।
यस्तै, झगडा–कलहको कुरा झिक्नेलाई ५ रुपियाँ दण्ड लिई मिलेर जात्रा चलाउनुपर्ने व्यवस्था पनि सम्झौतापत्रमा गरिएको छ। जात्रा चलाउने त्यो सम्झौतामा दुवै पक्षले मञ्जुरी गरेर दुई प्रति कागजमा ल्याप्चे लगाई थकाली धीर्जनारन र केहेर सिं कहाँ राखिएछ।
त्यो बेला नै हस्तलिखित पुस्तक
समय क्रममा दुई पक्षबीच मतभेद हुँदा ४ वैशाख २०१४ मा चर्खण्डी बिस्केट जात्रामा खट (रथ) दुई वटा बनाउने लिखित सम्झौता भयो। मानन्धर र श्रेष्ठहरूको बेग्लाबेग्लै रथको व्यवस्था गरी जात्रा मिलेर चलाउने सम्झौता भयो।
पुरानो सम्पत्ति पनि सल्लाहले बाँडिएछ। तीन वटा मूर्तिमध्ये एकथरीले एउटा र अर्कोले दुई वटा पाए। एउटा मूर्ति पाउनेले रथ पनि पाए। झल्लरी छाता एकथरीले पाए, अर्कोथरीले अर्कै बनाए।
जात्रा सञ्चालन गर्दा भजन गर्ने भनी हस्तलिखित पुस्तकहरू पनि रहेछन्। १९६० सालमै दधिकोटमा यस्तो सोच भएका मान्छे रहेछन्। यसले कीर्ति राख्ने काम गर्न पढ्नलेख्न जानेकै हुनुपर्छ भन्ने होइन रहेछ। किनभने, २२ जनाको गुठीमा थकाली समेतले औंठाछाप गरेका छन्। निरक्षर भएर पनि त्यो समाजमा जात्रा चलाउने चेत आउनु ठूलो कुरा थियो।
चर्खण्डी जात्रा प्रारम्भ भएको ११६ वर्ष पुग्दा जात्रा सञ्चालक श्रेष्ठतर्फ १० पुस्ता भएछ भने मानन्धर तर्फ १२ पुस्ता पुगिसकेछ। ११६ वर्ष अघि पुर्खाले यो जात्रा नथालेको भए सायदै यो बृहत् सांस्कृतिक क्रियाकलाप सञ्चालन हुँदो हो। जात्राको जग बसाउने ती २२ जना महामनाको जति प्रशंसा गरे पनि कम हुन्छ।
पुर्खाले बाँधेको थितिलाई एकपछि अर्को पुस्ताले निरन्तरता दिंदै आउँदा सय वर्षपछि पनि चर्खण्डी जात्रा मनाउने चलन कायमै छ।