डा. केसीको अनशनको १२औं दिन : स्वास्थ्य जटिल बन्दै, सरकारले चासो नै दिएन
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको १२ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो व्यक्त नगरेको उनका शुभचिन्तकहरूले बताएका छन्। डा. केसीका सहयोगी सञ्जित कार्कीले अहिलेसम्म सरकारको तर्फबाट उनले राखेका माग सम्बोधन गर्न कुनै चासो नदिएको बताए।
डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसिरहेका छन्। उनको स्वास्थ्य जाँचका लागि अहिलेसम्म सरकारले कुनै चिकित्सकहरूको टोली समेत खटाएको छैन। तर, शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूले उनको नियमित स्वास्थ्य जाँच गरिरहेका छन्।
अनशन बसेको १२ दिन पुगिसक्दा पनि सरकारले उनका माग सम्बोधनका लागि कुनै चासो नदिइरहेका बेला डा. केसीको स्वास्थ्य झन्पछि झन् चिन्ताजनक बन्दै गएको उनका सहयोगी कार्कीले बताएका छन्। “उहाँ कमजोर बन्दै जानुभएको छ” उनी भन्छन्, “बोल्न सक्ने अवस्थामा हुनुहुन्न।”
यसैबीच, हाडजोर्नी रोग विशेषज्ञ चिकित्सकहरूको छाता संघठन नेपाल अर्थोपेडिक संघले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।
पटक–पटकको अनशनका कारण उनको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमणको जोखिम बढेको भन्दै आयोगले केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
डा. केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरा मष्ट मन्दिरमा आफ्नो १९औं अनशन शुरू गरेका थिए।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरू संचालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्नुपर्ने, प्रदेश-२ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्नेसहितका ६ बुँदे माग राखेर अनशन शुरू गरेका थिए।
अनशनरत डा. केसीलाई ६ असोजमा जुम्लाबाट काठमाडौं ल्याइएको थियो।