दराजमा आठ हजार साना तथा मध्यम उद्यमी दर्ता
साना तथा मध्यम उद्यमी (एसएमई) प्रवर्द्धन गर्न शुरू गरिएको दराजको सहयात्री कार्यक्रममा ८००० भन्दा बढीले दर्ता गराएका छन्। दर्ता गरेकामध्ये २१०० भन्दा बढी एसएमईहरूले दराजमार्फत् व्यवसाय सञ्चालन गरेका छन्। बाँकी उद्यमी पनि सञ्चालनमा आउने प्रक्रियामा छन्।
दराजले चार महीनाको कमिसन शुल्क हटाएर देशभरका ७ लाख भन्दा बढी ग्राहकलाई नि:शुल्क दराजको सहयात्री कार्यक्रममा पहुँच प्रदान गरेको छ। यसका साथै रू.५५ लाखको आर्थिक सहायतासमेत सहयात्रीलाई प्रदान गरेको दराज सहयात्री कार्यक्रमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
यसबाहेक, दराजले एसएमईहरूलाई निःशुल्क व्यवसाय परामर्श र दराज युनिभर्सिटीमार्फत् इकमर्स शिक्षा र प्रशिक्षण पनि प्रदान गरेको थियो।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, “सहयात्रीमार्फत् हामीले जति पनि सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुशी छौं तर, अझै धेरै कुराहरू गर्न बाँकी छ।” उनले एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र साना व्यवसायहरूको सशक्तिकरणको काम जारी राख्ने बताए।
सहयात्री कार्यक्रमले “डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने” दराजको मिसनलाई पूर्ण समर्थन गरेकाे पनि उल्लेख छ। अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ। यसमा ५ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध छन्। दराजका सबै भन्दा ठूला सेल अभियान, दशैं धामाका, ११,११ र १२,१२ भएकाे उल्लेख छ।