कृषकले विदेशबाट आउने रासायनिक मल पाएनन्, स्वदेशमै उत्पादन हुने प्राङ्गारिक मलले बजार पाएन
झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ।
पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगरभित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको छ। ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ।
देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ। तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन। बजार अभाव हुँदा नत उत्पादित मल विक्री भएको छ न बायोग्यास नै विक्री गर्न सकिएको कम्पनीले जनाएको छ। उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ। कम्पनी विभिन्न क्षेत्रबाट फोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए।
कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरी अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ। दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरी दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ। अर्ग्यानिक फार्मका कृषकहरू र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन। कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन्। गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ।